रोपाइँ छाडेर हात्ती धपाउन व्यस्त बाहुनडाँगीवासी

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

झापाको मेचीनगर–४, बाहुनडाँगीमा असारको मध्ये महिना अहिले खेतको हिलोभन्दा बढी जङ्गली हात्तीको पदचापले भरिएको छ । किसानका लागि वर्षभरि खाने अन्नबालीको आधार तयार गर्ने यही समय हो । खेतमा रोपाइँको चटारो हुनुपर्ने बेला यहाँका किसान भने दिनरात हात्ती धपाउन व्यस्त छन् । धानको बेर्ना खेतमा रोपिन पर्खिरहेका छन्, तर किसानका हातमा रोपाइँका बिउ होइन, साइरन र टिनका डिब्बा छन् ।

दैनिक ४० देखि ५० वटासम्मको सङ्ख्यामा आउने जङ्गली हात्तीका बथान भारततर्फबाट बाहुनडाँगी प्रवेश गर्छन् । यसपटक छावासहित आएका हात्तीहरू गाउँ नजिकैका चियाबारी र झाडीमा दिनभर अखडा जमाएर बस्न थालेपछि स्थानीयहरूमा थप त्रास बढ्दै गएको छ ।

देशभर अहिले किसानहरू रोपाइँमा व्यस्त छन् । तर बाहुनडाँगीका किसानका लागि असारको रौनक भन्दा बढी हात्तीबाट ज्यान बचाउन चिन्ता रहेको छ । अहिले खेतभन्दा ठुलो चिन्ता परिवारको सुरक्षा बनेको स्थानीय किसान निलकण्ठ निरौलाले बताए । धानको बेर्ना रोप्ने समय बित्दै जाँदा उत्पादन घट्ने चिन्ता एकातिर छ भने हात्तीको आक्रमणबाट ज्यान जोगाउने सङ्घर्ष अर्कोतिर गर्नु परेको दुखेसाे छ ।

बाहुनडाँगीका स्थानीयवासीले जङ्गली हात्तीका कारण आफूहरू असुरक्षित बनेको बताउने गरेका छन् । घर नजिकै हात्ती आएर बसेपछि रातभर निदाउन नसक्ने अवस्था रहेको उनीहरूको गुनासो छ । स्थानीय गीता खड्काले भनिन्, “हामी सुरक्षित छैनौँ । हात्ती घरमुनि नै आउने गरेकाछन् । राति कसरी सुत्ने ? अहिले पनि घरमा आउने डर छ । रातभर निद्रा लाग्दैन । रातभर जाग्राम बसेर घर र परिवारको सुरक्षा गर्नुपर्ने बाध्यता रहेको छ ।”

मेचीनगर–४, बाहुनडाँगीका वडाध्यक्ष अर्जुन कार्कीले जङ्गली हात्तीको जोखिम बढेकाले स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै  भारततर्फबाट आएका छावासहितका जङ्गली हात्तीहरू दिनभरि चियाबारी र झाडी क्षेत्रमा बसिरहेको तथा आक्रामक अवस्थामा रहेकाले जुनसुकै बेला बस्ती वा सडक क्षेत्रमा निस्किएर मानवीय तथा भौतिक क्षति पुर्‍याउन सक्ने जोखिम रहेको बताए  ।

वडाध्यक्ष कार्कीले विशेष गरी बालबालिका, महिला, ज्येष्ठ नागरिक तथा सडक यात्रुहरूलाई सावधानी अपनाउन अनुरोध गर्दै हात्ती देखिएमा नजिक नजान, अनावश्यक रूपमा आवतजावत नगर्न तथा सुरक्षित स्थानमा बस्न आग्रह गरे  । छावासहितका हात्ती स्वभावतः बढी संवेदनशील र आक्रामक हुनेभएकाले गाउँलेहरू कतिखेर अप्रिय घटना हुने हो भन्ने चिन्तामा छन् । दिनभर गाउँनजिकै हात्तीदेखिएपछि अभिभावकले  आफ्ना बालबालिकालाई विद्यालय पठाउन डराउन थालेका छन् ।

विद्यालय जाने बाटोमै हात्ती भेटिने सम्भावनाले विद्यार्थीको नियमित पढाइ प्रभावित भएको छ। किसानहरू खेतमा रोपाइँ गर्न जाने कि घरपरिवारको सुरक्षा गर्ने भन्ने दोधारमा छन् ।“स्थानीय युवा, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग मिलेर साइरन बजाएर हात्तीलाई बस्ती र चियाबारीबाट धपाउने काम गरिरहेका छौँ,” वडाध्यक्ष कार्कीले भने , “तर यो समस्या स्थानीय तहको प्रयासले मात्र समाधान हुने अवस्था छैन । सङ्घीय सरकारले साथ दिनुपर्छ र योजना बनाउनुपर्छ ।”

बाहुनडाँगी र जङ्गली हात्तीबिचको द्वन्द्व यहाँका लागि नयाँ र अनौठो होइन । भारतको आसाम र पश्चिम बङ्गालदेखि नेपालको कोशीटप्पु वन्यजन्तु आरक्षसम्म फैलिएको प्राकृतिक आवतजावतको मार्ग (एलिफेन्ट काेरिडोर) दशकौँदेखि हात्तीले प्रयोग गर्दै आएका थिए । तर वन क्षेत्रको अतिक्रमण, मानव बस्ती विस्तार र कृषि विस्तारले त्यो पुरानो मार्ग अवरुद्ध बन्दै गएपछि हात्तीहरू गाउँ पस्न बाध्य भएको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *