मनसुनी विपतकाे जोखिममा कृृषि

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

यस वर्ष नेपालको कृषि उत्पादन क्षेत्र मनसुनी विपत्को उच्च जोखिममा रहेको छ । मनसुन भित्रिए पनि यतिखेर वर्षा कम गराइरहेको छ । कृषिक्षेत्रमा अतिवृष्टि र अनावृष्टिको उच्च जोखिम कायम छ ।

नेपालको कुल जनसंख्याको करिब ६० प्रतिशत (एक करोड ८० लाख) जनसंख्या कृषिमा निर्भर छ । कृषिक्षेत्रमा हुने हानिले ती किसान र उनीहरूका परिवारलाई मात्र होइन, देशको सिङ्गो जनसंख्याका लागि आवश्यक खाद्य सुरक्षा र कृषि प्रणालीको विशिष्ट चक्रमा गम्भीर असर पार्छ ।

यस वर्षको आर्थिक सर्वेक्षण अनुसार नेपालको कुल गार्हस्थ उत्पादनको सबैभन्दा ठुलो हिस्सा प्राथमिक क्षेत्रका रूपमा कृषि क्षेत्रबाट २४.०३ प्रतिशत योगदान रहेको उल्लेख छ । अघिल्लो वर्ष पनि २३ प्रतिशत हाराहारीमा कृषिक्षेत्रले कुल गार्हस्थ उत्पादनमा योगदान दिएको थियो ।सबैभन्दा बढी योगदान गरिरहेको कृषिक्षेत्रमा जोखिमको बादल मडारिइरहे को विषयमा भने सरोकारवाला निकायको ध्यान जान सकेको छैन ।

मानव जीवन सुरक्षाका लागि गृह मन्त्रालयमातहतको निकाय राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन प्रतिकार्य योजना हरेक वर्ष निर्माण गर्छ । त्यसमा कृषि क्षेत्र केवल सानो हिस्साका रूपमा मिश्रित हुने गरेको छ । कृषि, वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको कृषि सूचना प्रशिक्षण सञ्चार केन्द्रले मौसमी सूचना प्रचारप्रसार गर्छ तर विगतदेखि नै राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको भरमा मात्र उसले काम गरिरहेको अवस्था छ । जल तथा मौसम विज्ञान विभागले दिएको सूचनाको विश्लेषण गर्दै कृषिक्षेत्र कसरी जोगाउन सकिन्छ भन्ने सूचना दिनुभन्दा विभागकै सूचना मोबाइल म्यासेजबाट पठाउने गरेको छ ।

बाली तथा बिउबिजन, अनुदान तथा तालिम, माटो परीक्षण र बजार मूल्यको व्यवस्थापन गर्ने ठुलो जिम्मा पाएको कृषि विभागले पनि प्रतिकार्यको योजना बनाउँदैन । विभागका सूचना अधिकारी तिलक चौलागाईंका अनुसार विभागले धानबाली प्रमुख बाली भएकाले असार १५ को रोपाइँअघि समग्र विवरण दिने काम भने गर्दै आएको छ । साे मौसमजन्य प्रतिकार्यका हिसाबले भन्दा पनि उत्पादकत्वतर्फ बढी केन्द्रित हुन्छ । उनले भने , “प्रदेशगत निकायले स्थानीय तहसँग सूचना सङ्कलन गरेर केन्द्रमा पठाउनुपर्ने हो तर हामीले सुक्खा खडेरीको सूचना माग्दा पनि पाउन गाह्रो छ, केही अद्यावधिक हुँदैन ।”

पहिलेको संरचनामा रहेको समुदाय, जिल्ला, क्षेत्र र केन्द्रको त्यो सम्पर्क सञ्जालको स्वामित्व ग्रहण गर्ने विषयमा प्रदेश कमजोर हुँदा किसानले मौसमी मार बारम्बार भोग्दै आएका छन् ।

कृषि अनुसन्धान परिषद मातहत रहेको कृषि मौसम पूर्वानुमान महाशाखालाई पनि प्रतिकार्य योजना बनाउने पूर्ण जिम्मेवारी छैन । कृषि मौसमविद् रामेश्वर रिमालका अनुसार किसानका लागि साताव्यापी मौसमी बुलेटिन निर्माण गर्ने र आफ्नो तरिकाले प्रसार गर्ने प्रमुख जिम्मेवारी महाशाखालाई छ । मौसमका कारण कृषिमा परेको असरका बारेमा अध्ययन गर्ने जिम्मा पनि छ तर पर्याप्त बजेट, जनशक्ति र स्रोतसाधनको अभावमा राम्रा काम हुन सकेको छैन । उनले भने, “मनसुनमा कम पानी पर्ने भनेकै छ, यसले किसान र खेतीबालीमा ठुलो असर पर्छ भन्ने पनि थाहा छ तर किसानका लागि के गर्ने भन्नेमा नीतिगत रूपमै प्रस्ट सोच्न सकिएको अवस्था छैन ।”

त्यति मात्र होइन, किसानका लागि तयार पारिएको कृषि मौसम बुलेटिन सहज ढङ्गले किसानसम्म पुग्न सहज छैन । देश सङ्घीय प्रणालीमा गएपछि सङ्घ, प्रदेश र स्थानीय तहबिचको समन्वय राम्रो नबन्दा पूर्वसूचना प्रवाह प्रणालीको विकास राम्ररी हुन सकेको छैन । जसोतसो पालिकासम्म पुगेका सूचना वितरणमा स्थानीय पालिकाको चासो नहुँदा किसानसम्म पुग्दैन ।

कृषि मौसम पूर्वानुमान महाशाखाले जल तथा मौसम विज्ञान विभागको समन्वयमा साताव्यापी कृषि मौसम बुलेटिन तयार पारेर आफ्नै तवरमा तयार पारेको ह्वाट्सएप ग्रुप र इमेलमार्फत कृषि उपभोक्तासम्म सूचना जबर्जस्ती पुर्याउन कोसिस गरिरहेको छ  ।

साभारःगाेरखापत्र दैनिक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *