सर्लाहीमा मुस्लिम समुदायले मनाउने मोहरम अर्थात् दाहा पर्वलाई सौहार्दपूर्ण किसिमले मनाउने निर्णय गरिएको छ ।आज बिहीबार दिउँसो सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालयमा विभिन्न धार्मिक सङ्घ संस्थाका प्रमुख, धर्मगुरु र प्रतिनिधिको उपस्थितिमा समन्वय बैठक बसी पर्व मनाउने क्रममा शान्ति सुरक्षा र धार्मिक सहिष्णुता कायम राख्ने सहमति गरिएको हो ।
मुस्लिम समुदायले आफ्नो तेस्रो ठुलो पर्व मोहरम शुक्रबार मनाउँदैछ । सर्लाहीमा जिल्ला सदरमुकाम मलङ्गवास्थित २० वटै पालिकामा बसोवास गर्ने मुस्लिम समुदायले हर्षोउल्लास पूर्वक मोहरम पर्व मनाउने तयारी गरेका छन् । मुस्लिम समुदायले एकापसमा लाठी, भाला तथा झर्नी खेल्दै मोहरम पर्व मनाउने गरेका छन् ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीको अध्यक्षतामा बसेको बैठकले पर्व मनाइने स्थानहरुमा आवश्यकताअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा वडास्तरको सम्वन्धित धर्मावलम्वी समुदायबाट स्वयंसेवक परिचालन गर्ने,भाेली शुक्रबारदेखि आइतबारसम्म मदिराजन्य पदार्थ बिक्री तथा सेवनमा रोक लगाउने, अन्य मुलुकको झण्डा प्रयोग नगर्ने लगायतका सहमति भएका छन् ।
पर्व मनाउने क्रममा अघिल्ला वर्षहरुमा विवाद भएका घटनालाई मध्यनजर गर्दै पर्वको अघिल्लो दिन नै सबै सरोकारवालालाई राखेर यस प्रकारको सहमति गरिएको हो । हरिपुर नगरपालिकाका पूर्व नगरप्रमुख जमिरुद्दिन मन्सुरले सर्लाहीमा २० वटै पालिकामा मुस्लिम समुदायको बसोवास रहेको र सबै ठाउँमा पर्व मनाउने गरिएको जानकारी दिए ।
उनका अनुसार मुख्यगरी सदरमुकाम मलङ्गवा, हरिपुर, गोडैता, पर्सा, हरिपुर्वालगायत मुस्लिम बाहुल्य रहेको क्षेत्रमा मोहरमको अवसरमा अझ बढी उल्लास हुने गरेको छ । मोहरम पर्व मनाउनेक्रममा कहीँकतै समस्या उत्पन्न हुन नदिन व्यापक मोहरमको र्याली निकालिने ठाउँमा व्यापक मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गर्ने र सुरक्षा प्रमुखहरु आफै परिचालित हुने तयारी रहेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
