बाली खान आएको भालु तारजालीमा फस्यो : सुरक्षित उद्धार गरिँदै

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

हुम्लाको नाम्खा गाउँपालिका–४, याल्वाङमा पाक्न लागेको जेठासी बाली खान बारीमा प्रवेश गरेको एक जंगली भालु बाहिरिने क्रममा ग्याबिन तारमा फसेको छ । स्थानीय किसानले बाली जोगाउन खेतबारी वरिपरि लगाएको ग्याबिन तारमा भालु अड्किएपछि गाउँभरि चासो र चिन्ता बढेको छ ।

स्थानीयवासीका अनुसार भालु बुधबार राति बाली खान बारीमा प्रवेश गरेपछि ग्याबिन तारमा अड्किएको नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामाले बताए  । जेठासी बाली पाक्ने समय भएकाले पछिल्लो समय भालुलगायतका वन्यजन्तु बस्ती नजिकका खेतबारीमा देखिन थालेका छन् । बारीबाट फर्किने क्रममा ग्याबिन तारमा फसेपछि भालु निस्कन नसकी बुधबार रातिदेखि छटपटाइरहेको उपाध्यक्ष लामाले जानकारी दिए  ।

घटनाबारे जानकारी पाएलगत्तै स्थानीयवासीले सम्बन्धित निकायलाई खबर गरेका थिए । त्यसपछि डिभिजन वन कार्यालय सिमकोटबाट उद्धार टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको डिभिजन वन अधिकृत महेश कुमाईले जानकारी दिए  । उनका अनुसार भालुको अवस्थाबारे निरन्तर निगरानी भइरहेको छ भने सुरक्षित उद्धार गरी प्राकृतिक वासस्थानमा फर्काउने तयारी गरिएको छ ।

स्थानीयले भने भालुलाई कुनै क्षति नपुर्‍याई शीघ्र उद्धार गर्न आग्रह गरेका छन् । भालु फसेको स्थान गाउँ नजिकै भएकाले मानिस र वन्यजन्तु दुवैको सुरक्षालाई ध्यानमा राख्दै उद्धार कार्य सावधानीपूर्वक गर्नुपर्ने अवस्था छ ।

हिमाली क्षेत्रमा पछिल्ला वर्षहरूमा मानव बस्ती र वन्यजन्तुको सम्पर्क बढ्दै जाँदा मानव–वन्यजन्तु द्वन्द्वका घटना पनि बढ्न थालेका छन् । विशेषगरी बाली पाक्ने याममा भालु, बाँदर तथा अन्य जङ्गली जनावर खाद्यान्न खोज्दै खेतबारीमा पस्ने क्रम बढ्ने गरेको स्थानीयको भनाइ छ ।

याल्वाङमा भएको यो घटनाले वन्यजन्तु संरक्षण र किसानको जीविकोपार्जनबिच सन्तुलन कायम गर्ने चुनौतीलाई पुनः उजागर गरेको छ । एकातिर किसान आफ्नो बाली जोगाउन घेराबार गर्न बाध्य छन् भने अर्कोतर्फ त्यही संरचनामा वन्यजन्तु फस्ने र जोखिममा पर्ने अवस्था देखिएको डिभिजन वन अधिकृत कुमाईले बताए ।

हाल भालुको उद्धारका लागि वनकर्मी घटनास्थल पुग्ने क्रममा छन् । स्थानीयवासी पनि भालुको सुरक्षित उद्धार र पुनः जङ्गलमा फिर्ताको प्रतीक्षामा छन् । गाउँलेका अनुसार याल्वाङ क्षेत्रमा यस प्रकारको घटना पहिलो पटक भएकाले यसले सबैको ध्यान तानेको छ । “भालु बचाऔँ, मानव–वन्यजन्तु सहअस्तित्व कायम गरौँ“ भन्ने सन्देशसहित स्थानीयवासीले सम्बन्धित निकायबाट शीघ्र र सुरक्षित उद्धारको अपेक्षा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *