विराटनगरबाट हराएको आयल निगमको ट्याङ्कर सुनसरीमा फेला, ९७३ लिटर पेट्रोल चोरी

अर्थ मुख्य समाचार समाचार सुचना/प्रबिधि

नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय विराटनगरका लागि इन्धन ढुवानी गर्ने एक ट्याङ्कर पार्किङस्थलबाटै हराएर सुनसरीमा बेवारिसे अवस्थामा फेला परेको छ। इण्डियन आयल कर्पोरेसनको सिलिगुढी डिपोबाट २० हजार लिटर पेट्रोल लोड गरी असार ७ गते आइतबार कञ्चनबारीस्थित पार्किङमा राखिएको को १ ख ६१९० नम्बरको ट्याङ्कर असार ८ गते सोमबार बिहान गायब भएको हो। नविन ढुवानी सेवा प्रालिको उक्त ट्याङ्कर हराएको जानकारी ढुवानीकर्ताले निगमलाई लिखित रूपमा गराएका थिए।

ट्याङ्कर हराए लगत्तै निगमले जिल्ला प्रहरी कार्यालय मोरङलाई खबर गरेको थियो। प्रहरीको सीसीटीभी फुटेज जाँच गर्दा ट्याङ्कर असार ८ गते बिहान ३:०३ बजे पार्किङस्थलबाट बाहिरिएर नोबेल हस्पिटलनर्फ मोडिएको देखिएको थियो। त्यसलगत्तै निगमका कर्मचारी, प्रहरी र ढुवानीकर्ताले खोजी तीव्र पारेका थिए। खोजीका क्रममा विराटनगर डिपोबाट करिब १७ किलोमिटरको दुरीमा रहेको सुनसरीको भोक्राहा गाउँपालिका–८ स्थित हुलाकी राजमार्गमा ट्याङ्कर बेवारिसे र ताला काटिएको अवस्थामा फेला परेको थियो।

जिल्ला प्रहरी कार्यालय सुनसरी, निगमका कर्मचारी र ढुवानीकर्ताका प्रतिनिधिको रोहबरमा घटनास्थलको मुचुल्का तयार गरी ट्याङ्करलाई नियन्त्रणमा लिइएको थियो। थप अनुसन्धानका लागि सुनसरी प्रहरीले मोरङ प्रहरीलाई कागजात बुझाएको छ भने ट्याङ्करलाई निगमको पार्किङमा ल्याएर सिल गरी राखिएको थियो।

आज असार १० गते बुधबार जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ, पत्रकार र सरोकारवालाको रोहबरमा ट्याङ्करको सिल खोलेर गुणस्तर तथा परिमाण जाँच गरिएको छ। जाँचका क्रममा पेट्रोलको गुणस्तर ठीक पाइए पनि २० हजार लिटरमध्ये ९७३ लिटर पेट्रोल चोरी भएको पुष्टि भएको छ। ट्याङ्करमा बाँकी रहेको १९ हजार २७ लिटर पेट्रोल निगमको भण्डारणमा खाली गरिएको छ।

निगमको पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, २०७३ मा भएको कानुनी व्यवस्थाबमोजिम चोरी भएको ९७३ लिटर पेट्रोलको दोब्बर बराबरको रकम ढुवानीकर्ताबाट असुल गरिएको निगमका कोशी प्रादेशिक कार्यालय प्रमुख पुस्कर कार्कीले जानकारी दिए ।

यस घटनाका सम्बन्धमा केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका भ्रामक र आधारहीन समाचारप्रति आयल निगमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विषयवस्तुको यथार्थ जानकारी नलिई प्रकाशित तथ्यहीन समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पार्दै निगमले सरकारी निकायबाट घटनाको विस्तृत अनुसन्धान भइरहेकाले भ्रममा नपर्न सबैमा अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *