विश्वकै सबभन्दा लोकप्रिय खेल फुटबलको महाकुम्भ बिहीबार मध्यराति सुरु हुँदै छ । अहिले विश्वकपको ज्वरोबाट सबै रन्किएका छन् । विश्वकप खेल्ने मात्र होइन, विश्वकपमा उपस्थित नभएका देश पनि बिनाभेदभाव आआफ्नो टिमको समर्थन गर्नमा व्यस्त हुने छन् । नेपाल यसबाट अछुतो हुने कुरै भएन । नेपाल पनि अहिले विश्वकपमय भइसकेको छ ।
विश्वभरका फुटबल समर्थक अहिले नै आफूलाई मनपर्ने फुटबल टिमको टिसर्ट लगाएर अथवा खेलाडीहरूको शैली ‘कपी’ गरेर विश्वकपको यस पर्वमा मस्त भइसकेका छन् । नेपालका ठुलासाना सहरका पसलमा आआफ्ना मनपर्ने टिमको जर्सी खरिद गर्ने बढेका छन् । होटल र रेस्टुरेन्टहरू पनि यस अवसरमा विशेष योजना बनाइरहेका छन् ।
लोकप्रियताका हिसाबले विश्वकप फुटबल सबभन्दा ठुलो खेल आयोजना हो । प्रत्येक चार वर्षमा आयोजना हुने विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुँदै छ । यस पटक विश्वको कुल जनसङ्ख्यामध्ये ५८ प्रतिशतले विश्वकप हेर्ने अनुमान गरिएको छ । त्यसैले विश्वको नजर एक महिनाभन्दा बढी समय अमेरिका, क्यानडा र मेक्सिकोका १८ भव्य रङ्गशालामा रहने छ ।
विश्वकप फुटबल तीन देशमा आयोजना हुन लागेको यो पहिलो पटक हो । यसअघि दुई देशले मात्र संयुक्त रूपमा विश्वकपको आयोजना गरेको इतिहास छ । विश्वकप २०२२ को आयोजना दक्षिण कोरिया र जापानले संयुक्त रूपमा गरेका थिए । विश्वकपको अर्को संस्करण पनि तीन देशमा संयुक्त रूपमा हुने पक्का भइसकेको छ । त्यसैले सन् २०३० का आयोजकहरू पोर्चुगल, स्पेन र मोरेक्कोले सूक्ष्म रूपमा यस विश्वकपको अवलोकन गर्ने छन् ।
जुन ११ मा मेक्सिकोको प्रसिद्ध ‘एस्टाडियो एज्टेका’ रङ्गशालामा घरेलु टिम र दक्षिण अफ्रिकाबिचको उद्घाटन खेल हुने छ । ३९ दिनको प्रतिस्पर्धापछि जुलाई १९ मा अमेरिकाको न्यु जर्सीको मेटलाइफ स्टेडियममा फाइनल हुने छ । त्यस रात अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा प्रमुख जियानी इन्फान्टिनोले विजेता देशलाई ट्रफी प्रदान गर्नेछन् ।
फिफाले यसपालि विश्वकपमा ४८ टिमलाई सहभागी गराएको छ, जुन विगतमा भन्दा १६ राष्ट्र बढी हुन् । चार राष्ट्र केप भेर्डे, कुराकाओ, उज्बेकिस्तान र जोर्डन त नवप्रवेशी मात्र छन् । यसले प्रतियोगिताको समय मात्र होइन, यस पटक विश्वकप इतिहासमै सबैभन्दा बढी खेल पनि खेलिने भएको छ । विश्वकपमा कुल १०४ खेल हुन्छन् ।
अमेरिकामा सबैभन्दा बढी ७६ खेल खेलिने छ । जसमध्ये क्वाटरफाइनल, सेमिफाइनल र फाइनल पनि छन् । यसै गरी अमेरिकाका ११ सहर न्युयोर्क, बोस्टन, मियामी, फिलाडेल्फिया, एट्लान्टा, डालास, हस्टन, कानास, लस एन्जल्स, सान फ्रान्सिस्को र सियाटलका रङ्गशालामा विश्वकपको प्रतिस्पर्धा हुने छ । यसै गरी मेक्सिकोका तीन सहर मेक्सिको सिटी, मोन्टरेरी र गुवाडालाजारामा कुल १३ खेल खेलिने छ । क्यानडाको भागमा पनि १३ खेल परेका छन् ।
ती खेल टोरन्टो र भानकुभर सहरमा हुने छन् । मेक्सिको र अमेरिकासँग विश्वकप फुटबल आयोजनाको अनुभव छ । मेक्सिकोले सन् १९७० र १९८६ तथा अमेरिकाले सन् १९९४ मा विश्वको सबभन्दा ठुलो फुटबल प्रतियोगिताको आयोजना गरेको हो । क्यानडाले भने पहिलो पटक विश्वकप आयोजना गर्दै छ ।
हुन त विश्वकप फुटबल जस्तो प्रतियोगितामा उपाधि विजेताको ठोकुवा गर्न सकिँदैन । तर विश्वकप मञ्चमा हुने श्रेष्ठताको लडाइँमा यसपालि स्पेन र फ्रान्सलाई प्रमुख उपाधि दाबेदारका रूपमा लिइएको छ । त्यसपछि गत विजेता अर्जेन्टिना, बेलायतलाई पनि विश्वकप जित्ने टिमका रूपमा आँकिएको छ । जर्मनी, पोर्चुगल, ब्राजिल, नेदरल्यान्ड्सलाई पनि दाबेदारीको सूचीबाट झिक्न मिल्दैन ।
प्रसिद्धि कमाउने र आफूलाई महान् बनाउने ठुलो मञ्चमा नेमार, किलियन एमबापे, लामिने यमाल, ओसमान डेम्बेले, इर्लिङ हालान्ड, मोहम्मद सलाह जस्ता स्टार खेलाडी चम्किने अपेक्षा गरिएको छ । तर यसपालि पनि चर्चा लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोकै हुने पक्का छ । यस विश्वकपमा आधुनिक फुटबलका दुई महान् खेलाडी अर्जेन्टिनाका मेसी र पोर्चुगलका रोनाल्डोबिच पुनः उत्कृष्टताको लडाइँ हुने छ । यी दुवै अन्तिम पटक विश्वकप खेलिरहेको हुनाले भावनात्मक क्षण पनि पक्कै आउने छ । यी दुवै छैटौँ पटक विश्वकप खेल्ने तयारीमा छन् । तर ढल्किँदो उमेरमा यी दुईका लागि यो विश्वकप अग्निपरीक्षा नै हुनेछ ।
यसै गरी प्रत्येक संस्करणमा जस्तै चोटले अथवा आफ्नो टिम छनोट नहुँदा विश्वका केही उत्कृष्ट खेलाडी पनि यस पटक अभाग्यशाली साबित भएका छन् । विभिन्न कारणले अभाग्यशाली हुँदा फ्रान्सका ह्युगो इकिटिके, ब्राजिलका स्टार खेलाडीद्वय रोड्रिगो र इडर मिलिटाओ, जर्मनी तथा बायर्न म्युनिखका फरवार्ड सर्जी गाब्री, इङ्ग्ल्यान्डका कोल पाल्मर, फिल फोडेन, अर्जेन्टिनाका पाउलो डिबाला, पोल्यान्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्की, जर्जियाका कभारा केभित्सखलिया र हङ्गेरीका डोमिनिक सोबोस्लाई जस्ता खेलाडी दर्शकमा सीमित भएका छन् ।
विश्वकप सुरु हुनुअघि कूटनीतिक चिसोपना, यात्रा प्रतिबन्ध, कठोर आप्रवासन नीति, युद्धको भय जस्ता चुनौती पनि छन् । यस पटकको विश्वकपका टिकट अहिलेसम्मकै सबैभन्दा महँगा छन् । त्यसमाथि इरानसँगको युद्ध यस विश्वकपको सबैभन्दा जटिल पाटो हो । यसबाहेक अत्यधिक गर्मी पनि चुनौती हुने छ । यस विश्वपकमा कुल पुरस्कार राशि ६५५ मिलियन डलर रहेको छ । यो कतार विश्वकपको तुलनामा ४९ प्रतिशतले बढी हो । यस वर्ष च्याम्पियनले ५० मिलियन डलर प्राप्त गर्नेछन् ।
साभारः गाेरखापत्र दैनिक ।
