नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले संस्थागत र नीतिगत काम सुरू गरेको छ । नेपाल सरकारको पछिल्लो कार्यविभाजनबाट साविक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विज्ञान तथा प्रविधि हटाएर नवप्रवर्तन थपेर विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय स्थापना भएको हो ।

यस मन्त्रालयमा स्वतन्त्र सांसद महावीर पुनले मङ्गलबारदेखि मन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका छन् । मन्त्रालयका सचिवका रूपमा इञ्जिनियरिङ सेवाका प्रमिला बज्राचार्यले पनि केही दिनअघि जिम्मेवारी पाएकी थिइन् । सचिव बज्राचार्यले मन्त्रालयले सिंहदरबारस्थित साविक युवा तथा खेलकुद मन्त्रालयको कार्यालयबाट काम सुरू गरेको जानकारी दिइन् ।

मन्त्री पुनले नयाँ मन्त्रालयले शून्यबाट काम थाल्नुपर्ने भएकाले पदबहालीपश्चात् मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्ने निर्णय गरेका थिए । सचिव बज्राचार्यले मन्त्री पुनले भने झैँ आफूहरूले शून्यबाट सुरु गरेको बताउँदै मन्त्रालयको वेबसाइटको नमुना  तयार गरेर सूचना प्रविधि विभागलाई दिइसकिएकाले प्रणालीगत कारणले ७२ घण्टापछि अपलोड हुने जानकारी आएको बताइन् ।

नवप्रवर्तन मन्त्रालयमा हाल दरबन्दी २४ जना कर्मचारीले काम गर्दैछन् भने नयाँ सङ्गठन संरचना बनेपछि सङ्ख्या बढ्ने जनाइएको छ । मन्त्री पुन मन्त्रालयमै सरकारी निवास कायम गर्नेगरी आजदेखि सिंहदरबारमा सरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *