गत वर्ष बेलायत पुग्ने उद्देश्यले यात्रा गरिरहेका ३०० बढी आप्रवासीहरू अपहरणमा परेका, यातना भोगेका तथा जबरजस्ती अंग निकाल्ने धम्की दिइएको तथ्य सार्वजनिक भएको छ ।
यी सबै युवा पुरुषहरू इराकी कुर्दिस्तानका थिए । उनीहरूलाई लिबियामा एक सशस्त्र मिलिसियाले नियन्त्रणमा लिएर प्रत्येक परिवारसँग ५,००० अमेरिकी डलर (करिब ३,७०० पाउण्ड) फिरौती मागेको थियो । समयमै रकम नदिए उनीहरूको मिर्गौला निकालिने धम्की दिइएको थियो । रिहा भइसकेका केही बन्धकहरूले आफूहरूमाथि गरिएको यातना तथा अत्यन्तै भीडभाडयुक्त कोठामा राखिएको अनुभव सुनाएका छन् । उनीहरूका अनुसार एउटा कोठामा झण्डै १८० जना मानिसलाई कोचेर राखिएको थियो ।
कम्तीमा एक जना बन्धकको मृत्यु भएको पुष्टि भएको छ भने अझै कति जना नियन्त्रणमा छन् भन्ने स्पष्ट छैन । ती आप्रवासीहरूलाई भूमध्यसागरको तटसम्म पु¥याउने जिम्मा लिएको मिलिसियाले उनीहरूलाई बाटो देखाउनुको सट्टा बन्दी बनाएको थियो । यसका पछाडि इराकी कुर्द मानव तस्कर नोआ आरोनसँग पैसासम्बन्धी विवाद भएको बताइएको छ । आरोन हाल फ्रान्समा धन शोधन र मानव तस्करीसम्बन्धी छुट्टै मुद्दामा १० वर्षको जेल सजाय भोगिरहेका छन् ।
यो घटनाबारे जानकारी अर्को मानव तस्कर कार्डो जाफमाथि गरिएको अनुसन्धानका क्रममा बाहिर आएको हो । जाफ गत महिना पक्राउ परेका थिए । दुवै तस्कर इराकी कुर्दिस्तानको रान्या सहरका बासिन्दा हुन्, जहाँ सक्रिय तस्करी सञ्जाल व्यापक रहेको बताइन्छ । बीबीसीको अनुसन्धान टोली रान्यामा जाफबारे जानकारी संकलन गरिरहेको बेला एक स्थानीय व्यक्तिले आफ्ना छोरा पनि अपहरणमा परेकामध्ये एक रहेको बताए । उनका अनुसार बेलायत पुर्याउने नाममा आरोनको गिरोहले परिवारबाट हजारौँ डलर उठाएको थियो ।
सन् २०२५ को गर्मीयाममा इराकी कुर्दिस्तानबाट लिबिया पुगेका आप्रवासीहरूको समूहलाई सुरक्षा घेराभित्रको एउटा परिसरमा लगेर बन्दी बनाइएको थियो । त्यसपछि मिलिसियाले प्रत्येक बन्धकका लागि ५,००० डलर माग्दै रकम नदिए ‘मिर्गौलाबाट भुक्तानी लिइने’ चेतावनी दिएको थियो । बन्धकहरूको परिवारलाई पठाइएका फोटो तथा भिडियोमध्ये धेरै पीडादायी र हिंसात्मक थिए । एउटा भिडियोमा एक युवकलाई मिर्गौला निकाल्न डाक्टरकहाँ लगिँदैछ भनेर भनिएको देखिन्छ ।
रान्याका ती व्यक्तिले फिरौती तिरेपछि उनका छोरा जनवरीमा इराकी सरकारले व्यवस्था गरेको विमानमार्फत स्वदेश फर्किएका ११० जनामध्ये एक बनेका थिए । तर बन्दी अवस्थामा छोराले पठाएको तस्वीरमा पेटमा ताजा शल्यक्रियाको दाग देखिएको थियो, जसले जबर्जस्ती अंग निकालिएको आशंका बढाएको थियो । पछि दर्जनौं परिवार अगाडि आए र यस्तै प्रकारका तस्वीरहरू देखाए । बेलायतका एक विशेषज्ञ चिकित्सकले ती दागहरू मिर्गौला प्रत्यारोपण वा निकाल्ने शल्यक्रियामा देखिने चिरासँग मिल्दोजुल्दो रहेको बताए । यद्यपि अंग निकालिएको कुरा स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।
लिबियामार्फत हुने आप्रवासन मार्गमा फिरौतीका लागि अपहरणका घटनाहरू पहिले पनि व्यापक रूपमा दस्तावेजीकृत भइसकेका छन् । सीमित सरकारी नियन्त्रण र शक्तिशाली सशस्त्र समूहहरूको प्रभावका कारण यस्ता घटनाको अनुसन्धान र कानुनी कारबाही कठिन हुने गरेको संयुक्त राष्ट्रसंघका सल्लाहकार एन्थोनी डन्कर्ली बताउँछन् ।
धेरैजसो बन्धकहरू अहिले रिहा भइसकेका छन् । केही परिवारले तुरुन्तै फिरौती तिरे भने अन्य केही बन्धकले आफ्ना आन्तरिक अंग गुमाएर मूल्य चुकाएको हुन सक्ने कुर्द अधिकारीहरूको आशंका छ । रान्या फर्किएका बन्धकहरूमध्ये एक युवाले आफ्नो खुट्टा जलाएर यातना दिइएको बताए र दागहरू देखाए । अर्का १६ वर्षीय किशोरले आफू १७८ जनासँग एउटा सानो कोठामा छ महिनासम्म थुनिएको बताए ।
‘हामीले छ महिनासम्म घाम देखेनौं’, उनले भने । उनका अनुसार कोठा यति साँघुरो थियो कि सबैले बसिरहेकै अवस्थामा सुत्नुपथ्र्यो । सबैका लागि एउटा मात्र शौचालय थियो, र धेरै समय लगाए कुटपिट गरिन्थ्यो । परिवारका अनुसार कैदीहरूलाई दिनमा एउटा रोटी मात्र दिइन्थ्यो, त्यो पनि अतिरिक्त पैसा तिरेपछि ।
यति जोखिम हुँदाहुँदै पनि इराकी कुर्दिस्तानबाट युरोपतर्फको अवैध आप्रवासन रोकिएको छैन । कुर्दिस्तान क्षेत्रीय सरकारका गृह मन्त्रालयका वरिष्ठ अधिकारी हेम्न मेरानीले फर्किएका बन्धकहरूलाई आफ्नो भोगाइ सार्वजनिक गर्न आग्रह गरेका छन्, ताकि अरू मानिस यस्तै जोखिमपूर्ण यात्रामा ननिस्कून् । तर उनले एउटा पीडादायी उदाहरण सुनाए । लिबियामा जबरजस्ती अंग निकालिएको आशंकापछि मृत्यु भएका एक युवकको अन्त्येष्टिमा उनका बुबाले आफ्ना अन्य दुई भतिजा पनि युरोपतर्फ लागिसकेको थाहा पाए । मेरानी भन्छन्, ‘यो व्यवसायको सबैभन्दा दुःखद पक्ष भनेको हामीले कुनै पाठ सिक्दैनौं ।’
