रवि लामिछानेविरुद्धको संगठित अपराध अभियोग संशोधन गर्न पर्सा अदालतको अनुमति

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध लगाइएको संगठित अपराधको अभियोग संशोधन गर्न पर्सा जिल्ला अदालतले अनुमति दिएको छ । न्यायाधीश मोहन सुवेदीको एकल इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम लामिछानेसहितका प्रतिवादीमाथि लगाइएको संगठित अपराधसम्बन्धी अभियोग हटाउन मंगलबार आदेश दिएको हो ।

अदालतले सहकारी ठगीसम्बन्धी अभियोग भने यथावत् रहने स्पष्ट गरेको छ । महान्यायाधिवक्ताको कार्यालयको स्वीकृतिपछि दायर गरिएको अभियोग संशोधनसम्बन्धी निवेदन कानुनसम्मत रहेको ठहर गर्दै अदालतले संशोधन प्रक्रिया अघि बढाउन अनुमति दिएको हो ।

विशाल सहनी लगायतको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय, पर्साले अभियोगपत्र संशोधनका लागि अदालतमा निवेदन दिएको थियो ।

यसअघि कास्की जिल्ला अदालतले पनि लामिछानेविरुद्ध लगाइएको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी अभियोग हटाउन अनुमति दिइसकेको छ । अदालतको पछिल्लो आदेशसँगै लामिछानेविरुद्ध सहकारी ठगीसम्बन्धी अभियोगमा भने मुद्दा प्रक्रिया यथावत् रहने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *