काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउने उद्देश्यसहित अगाडि सारिएको मेट्रो रेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनीसँग आशयपत्र (इआआई) आह्वान गरिएको छ । रेल विभागका महानिर्देशक हरिकुमार पोखरेलले नारायणगोपाल चोक–सातदोबाटो–रत्नपार्कको २७.५ किलोमिटरमा रेल गुडाउन अन्तर्राष्ट्रिय आशयपत्र आह्वान गरिएको जानकारी दिदै भने “इच्छुक अन्तर्राष्ट्रिय कम्पनीले आगामी जेठ ३२ गते (१५ जुन २०२६) सम्म आफ्नो आशयपत्र पेस गरिसक्नुपर्ने छ । नेपाल सरकारको ई–जिपी प्रणालीमार्फत अनलाइन आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ” ।
उनले थप भने , “अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनीले नेपाली कम्पनीसँग मिलेर (संयुक्त) आशयपत्र पेस गर्नुपर्ने हुन्छ । आशयपत्र पेस गरेका कम्पनीको पहिला प्राविधिक प्रस्तावको मूल्याङ्कन गरिने छ । प्राविधिक मूल्याङ्कनमा सफल भएका कम्पनीको मात्र आर्थिक मूल्याङ्कन गरिने छ । आर्थिक मूल्याङ्कनमा सफल भएकामध्ये परामर्शदाता छनोट गरिने छ ।”
आशयपत्र पेस गरेकामध्ये योग्यता, अनुभव र क्षमताका आधारमा परामर्शदाता छनोट गरिने बताउँदै पाेखरेलले योग्यताका आधारमा ५० अङ्क, अनुभवका आधारमा ४० अङ्क र क्षमताका आधारमा १० प्रतिशत अङ्क प्रदान गर्ने मापदण्ड तोकिएको जानकारी दिए । सङ्क्षिप्त सूचीमा सूचीकृत हुनका लागि कम्तीमा ७० अङ्क प्राप्त गर्नुपर्ने हुन्छ ।
‘डिपिआर’ गर्न दोस्रो प्रयास
यसअघि काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालनका लागि डिपिआर तयार गर्न २०७६ माघ ८ गते रेल विभाग र चीनको चाइना रेलवे सियुआन कम्पनी लिमिटेड तथा नेपालकै सिइएमएटी कन्सल्ट्यान्ट (संयुक्त) बिच सम्झौता भएको थियो । तर विभिन्न कारण त्यसबेला पूर्ण रूपमा डिपिआर तयार नभई ठेक्का सम्झौता तोडिएको महानिर्देशक पोखरेलले जानकारी दिए । अब छनोट हुने कम्पनीले डिपिआर तयार गर्ने बताए ।
सतहत्तर किलोमिटरमा मेट्रो रेल सम्भव
काठमाडौँ उपत्यकाको यातायातको व्यवस्थापन तथा सुन्दर र स्वच्छ सहर निर्माण गर्ने उद्देश्यसहित विगत एक दशकदेखि काठमाडौँमा मेट्रो तथा मोनो रेल सञ्चालन गर्ने विषय चर्चा रहे पनि यस क्षेत्रमा देखिने गरी उपलब्धि भएको देखिँदैन । काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालन गर्न सकिने सम्भाव्यताबारे सन् २०१२ मै कोरियन कम्पनी चुङसुङ इन्जिनियरिङले सम्भाव्यता अध्ययन गरेको थियो ।
अध्ययन प्रतिवेदनले सम्भव देखाएको अधिकांश ‘एलाइनमेन्ट’ को आजसम्म पूर्वसम्भाव्यता अध्ययनसमेत हुन सकेको छैन । सो अध्ययनले काठमाडौँ उपत्यकाको कुल ७७ किलोमिटर सडकखण्डमा मेट्रो रेल सञ्चालन गर्न मिल्ने देखाएको थियो, जसमध्ये कुल ५२ किलोमिटरमा आकासे र २५ किलोमिटरमा भूमिगत मेट्रो रेलको सम्भावना देखाएको थियो ।
प्रतिवेदनले सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक १२ किमी, कीर्तिपुर–कालीमाटी–नयाँ बानेश्वर–एयरपोर्ट ११ किमी र कोटेश्वर–चाबहिल–स्वयम्भू २९ किमीमा आकासे तथा स्वयम्भू–डिल्लीबजार–बौद्ध १२ किमी र धोबीघाट–सिंहदरबार–नक्साल–गोङ्गबु १४ किमीमा भूमिगत बनाउन सिफारिस गरेको थियो । विभिन्न यातायातका साधनको तुलना गर्दा बसमा प्रतिघण्टा प्रतिलेन आठ हजार यात्रुले यात्रा गर्न सक्छन् । केवल मेट्रोमा प्रतिघण्टा प्रतिलेन दुईदेखि तीन हजार यात्रुले यात्रा गर्न सक्छन् । तर मेट्रो रेलमा प्रतिघण्टा प्रतिलेन २५ हजारदेखि ५० हजार यात्रु यात्रा गर्न सक्छन् ।
