भारतमा ‘जेन–जी’ प्रदर्शन: जन्तर–मन्तरमा उत्रिए ‘कक्रोच’ समर्थक

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नयाँ दिल्लीको जन्तर–मन्तरमा शनिबार ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले विरोध प्रदर्शन गरेको छ। भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै सीजेपीले गरेको प्रदर्शन सामान्य झडपबाहेक शान्तिपूर्ण रह्यो।

शनिबार बिहान मात्रै सीजेपीका संस्थापक अभिजित दीपके अमेरिकाबाट दिल्ली आइपुगेका थिए। दिल्ली ओर्लनेबित्तिकै उनले जन्तर–मन्तर पुगेर शिक्षामन्त्रीको राजीनामा माग गर्दै प्रदर्शनको नेतृत्व गरेका थिए। प्रदर्शनमा प्रख्यात पर्यावरण कार्यकर्ता तथा शिक्षाविद् सोनम वाङचुक पनि ऐक्यबद्धता जनाउन सहभागी भएका थिए।जन्तर–मन्तरमा जम्मा भएका युवाहरूको विशाल भीडलाई सम्बोधन गर्दै अभिजित दीपकेले सरकारको कडा आलोचना गरे।

‘विगत दुई/तीन दिनदेखि मेरी आमा र बहिनी रोइरहेका थिए। म स्वदेश फर्किएँ भने यी मानिसहरूले मलाई जेल हाल्नेछन् भन्ने उनीहरूलाई डर थियो,’ हजारौं समर्थकबीच उनले भने, ‘यो डर मेरी आमाको मात्र होइन, यो देशमा राजनीति र सरकारको विरुद्ध बोल्ने हरेक युवा, विद्यार्थी र उनका अभिभावकको डर हो। हामी कहिलेसम्म यसरी डरमा बाँच्ने ?   अब हामी यस्तो डरको राजनीतिसँग डराउने छैनौं।’

दीपकेले ‘डराउने छैनौं, धर्म र हिन्दू–मुस्लिमको राजनीति बन्द गर’ जस्ता नाराहरू लगाएका थिए। उनले विगत १०÷१२ वर्षदेखि देशलाई हिन्दू–मुस्लिमको राजनीतिमा फसाएर राखिएको र यसले युवाहरूलाई रोजगारी दिनुको सट्टा विभाजित मात्र गरेको आरोप लगाए।

सामाजिक सञ्जालको खिल्ली उडाउनेहरूलाई जवाफ दिँदै दीपकेले थपे, ‘विगत केही दिनदेखि मानिसहरूले मलाई सोधिरहेका थिए– सामाजिक सञ्जालमा पेज चलाएर के हुन्छ ?   उनीहरूले क्यामरा घुमाएर हेरून्, आज जन्तर–मन्तरमा कति ‘कक्रोच’ (युवाहरू) घरबाट बाहिर निस्किएका छन्। यो कुनै योजनाबद्ध पार्टी होइन, यो सरकारसँग आक्रोशित प्रत्येक विद्यार्थीको आवाज हो।’लद्दाखका पर्यावरण कार्यकर्ता सोनम वाङचुकले दिल्ली विमानस्थलमै अभिजित दीपके पक्राउ पर्न सक्ने आशंका व्यक्त गरेका थिए। यद्यपि, सीजेपीले आफ्नो एक्स (टीटर) ह्यान्डलमा दीपके विमानस्थलबाट बाहिरिएर कारमा अगाडि बढ्दै गरेको तस्बिर सार्वजनिक गरेको थियो, जसमा उनको हातमा बाबासाहेब अम्बेडकरको जीवनी पुस्तक देखिन्थ्यो।

शनिबार जन्तर–मन्तरमा सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो। सुरक्षा बलले ठूलो संख्यामा ब्यारिकेडिङ गरेको थियो। सीजेपीको प्रदर्शनका विरुद्ध बीजेपी समर्थकहरू पनि त्यहाँ पुगेका थिए, तर प्रहरीले उनीहरूलाई प्रदर्शन गर्न नदिई त्यहाँबाट हटाएको थियो। प्रदर्शनमा युवाहरूसँगै ठूलो संख्यामा सञ्चारकर्मी, पत्रकार र युट्युबरहरूको उपस्थिति थियो।

सीजेपीकोसडक प्रदर्शनलाई राजनीतिक तथा कानुनी वृत्तबाट विभिन्न प्रतिक्रिया आएका छन्। शिवसेना नेता तथा पूर्वराज्यसभा सांसद प्रियंका चतुर्वेदीले सीजेपीलाई प्रदर्शनको अनुमति दिएर दिल्ली प्रहरीले पहिलोपटक सही काम गरेको टिप्पणी गरेकी छन्।

सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता प्रशान्त भूषणले देशमा परीक्षाको प्रश्नपत्र लिक, भर्तीमा भ्रष्टाचार, बेरोजगारी र घोटालाहरू दैनिक भइरहेको भन्दै यो आन्दोलन त्यसकै परिणाम भएको बताए। उनले एक्समा लेखेका छन्, ‘हामी एउटा ठूलो आँधीमा घेरिएका छौं। कक्रोच जनता पार्टी यसैको स्वाभाविक नतिजा हो। यो ‘जेन–जी’ आन्दोलनलाई समझदारीपूर्ण समर्थन र मार्गदर्शनको आवश्यकता छ।’

राजनीतिक विश्लेषक योगेन्द्र यादवले पनि यसलाई सामान्य रूपमा लिन नहुने बताएका छन्। उनले भने, ‘कक्रोच जनता पार्टी कुनै परम्परागत पार्टी होइन, यो एउटा जनभावनाको पल हो। यसले तानाशाही आक्रमणबाट गणतन्त्रलाई फिर्ता ल्याउन सक्ने आन्तरिक ऊर्जाको झलक दिएको छ।’

वरिष्ठ पत्रकार र राजनीतिक विश्लेषक रशिद किदवईका अनुसार सामाजिक सञ्जालको यो आन्दोलन सडकमा उत्रिनु भारतीय राजनीतिको नयाँ अध्याय हुन सक्छ। उनले दक्षिण एसियामा हालैका वर्षहरूमा भएका   श्रीलंकाको ‘अरागलया’, बंगलादेशको युवा आन्दोलन वा नेपालको ‘जेन–जी’ प्रदर्शनको सुरुवात पनि सामाजिक सञ्जालबाटै भएको स्मरण गराए।

मिमबाट जन्मियो ‘कक्रोच जनता पार्टी’

अभिजित दीपकेले बीबीसीसँगको कुराकानीमा यो पार्टी स्थापनाको रोचक पृष्ठभूमिबारे बताएका थिए। भारतका प्रधानन्यायाधीशले एक प्रसंगमा देशको प्रणालीको आलोचना गर्ने र राय दिने युवाहरूलाई ‘कक्रोच’ (साङ्लो) र परजीवीहरूसँग तुलना गरेका थिए।

प्रधानन्यायाधीशको अभिव्यक्तिप्रति आक्रोश व्यक्त गर्दै दीपकेले सामाजिक सञ्जालमा लेखेका थिए– ‘यदि सबै कक्रोचहरू सँगै आए भने के होला ?  ’ यसमा २५ वर्षमुनिका युवाहरूले व्यापक समर्थन जनाएपछि अनलाइनमा एउटा व्यंग्यात्मक वा प्यारोडी पार्टीको रूपमा ‘कक्रोच जनता पार्टी’ को जन्म भयो। पार्टीको सदस्यताका लागि प्रधानन्यायाधीशकै बयानलाई व्यंग्य गर्दै ‘आलसी हुनुपर्ने, बेरोजगार हुनुपर्ने र सधैं अनलाइन बस्ने हुनुपर्ने’ जस्ता मापदण्ड राखिएको थियो। यो ठट्टा बिस्तारै एउटा ठूलो अभियानमा परिणत भयो। हाल इन्स्टाग्राममा मात्रै यस पार्टीको २ करोड २१ लाखभन्दा बढी फलोअर्स छन् भने २ लाखभन्दा बढी युवाले यसको वेबसाइटमा आधिकारिक रूपमा सदस्यता दर्ता गराइसकेका छन्।

सुरुमा एउटा सामान्य मिम र सामाजिक सञ्जालको व्यंग्यबाट सुरु भएको यो अभियान अहिले भारतको सडकमा सरकारलाई चुनौती दिने एउटा युवा आन्दोलनका रूपमा स्थापित हुन पुगेको विश्लेषकहरू बताउँछन्।sharethis sharing button

Leave a Reply

Your email address will not be published. Required fields are marked *