सेन्टरलाइटका रोशन अधिकारीद्वारा डेली वायरको मेडिकेड ठगीसम्बन्धी दाबीको खण्डन

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

मेडिकेड’बाट भुक्तानी लिने क्लिभल्याण्डस्थित कम्पनी सेन्टरलाइट होम केयरका प्रमुख सञ्चालन अधिकृत (सीओओ) रोशन अधिकारीले आफूमाथि व्यापक ठगीको आरोप लगाउँदै अमेरिकी दक्षिणपन्थी सञ्चारगृह डेली वायरले प्रकाशित गरेको समाचारको खण्डन गर्दै कुनै पनि प्रकारको ठगी वा गैरकानुनी गतिविधिमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् ।

शुक्रबार अपराह्न फेसबुकमा सार्वजनिक वक्तव्यमा अधिकारीले ती आरोपलाई ‘झुटो, भ्रामक र हानिकारक’ भन्दै आफू र संस्थाको प्रतिष्ठामा क्षति पुर्‍याउने प्रयास भएको बताएका छन् ।

‘म स्पष्ट रूपमा भन्न चाहन्छु कि न त म, न मेरो परिवार, न त सेन्टरलाइट होम केयर कुनै गलत कार्यमा संलग्न छौं । हामीमाथि लगाइएका आरोप र त्यसका निहितार्थ झुटा, भ्रामक छन् र यसले हाम्रो प्रतिष्ठा, व्यवसाय तथा हामीले सेवा प्रदान गर्ने समुदायमा गम्भीर क्षति पुर्‍याएको छ,’ अधिकारीले भनेका छन् ।

जुन २ मा प्रकाशित समाचारमा डेली वायरका पत्रकार लुक रोजियाकले सार्वजनिक रूपमा उपलब्ध मेडिकेड भुक्तानीसम्बन्धी तथ्यांकको विश्लेषण गर्दै अमेरिकाको ओहायोमा दुई फरक ढाँचाको ठगीको पहिचान गरेको दाबीसहित रिपोर्ट तयार गरेका थिए ।

रोजियाकले कोलम्बसका २८८ वटा होम हेल्थ कम्पनी एउटै ठेगानामा दर्ता रहेको उल्लेख गरेका छन् । तीमध्ये धेरै कम्पनी स्टेट रुट १६१ वरपरका सातवटा प्रायः खाली कार्यालय भवनमा केन्द्रित रहेको उनको दाबी छ । उनले ती भवनको भ्रमण गर्दा खाली कार्यालय, महिनौं पुराना थुप्रिएका हुलाक, कर्मचारीविहीन अवस्था तथा ‘लन्चमा गएका छौंं’ भन्ने सूचनापाटी भेटिएको उल्लेख गरेका छन् । रिपोर्ट  अनुसार ती कम्पनीहरूले सन् २०१८ देखि २०२४ बीच अमेरिकी सरकारबाट २५ करोड डलरभन्दा बढी मेडिकेड रकम दाबी गरेका थिए । रोजियाकले तीमध्ये धेरै कम्पनी भुटानी–नेपाली समुदायका सदस्यसहित आप्रवासीहरूले स्थापना र सञ्चालन गरेको दाबी गरेका छन् ।

भुटान पुर्ख्यौली थलो रहेका अधिकारीले सेन्टरलाइट होम केयरले सधैं सबै नियम तथा मापदण्डको पालना गरेको र संस्थाको उद्देश्य सेवाग्राहीको जीवनस्तर सुधार गर्नु नै रहेको दाबी गरेका छन् ।

डेली वायरको समाचारमा निजी जेट र व्यक्तिगत सवारीसाधनसहित अधिकारीका तस्बिर प्रयोग गरिएको थियो । साथै, उक्त संस्थाले मुख्यतः भुटानी शरणार्थी समुदायलाई सेवा प्रदान गर्ने संकेत गरिएको थियो । रिपोर्टमा रोजियाकले विशेषगरी भुटानी र सोमाली समुदायका परिवारहरूले वास्तवमा हेरचाह आवश्यक नभएका आफन्तका लागि मेडिकेड अन्तर्गत तलब पाउने होम हेल्थ सेवा प्रदायकका रूपमा नाम दर्ता गराई सेवा नदिई सरकारी रकम लिएको तथा कतिपय अवस्थामा आवश्यक कागजात स्वीकृत गर्ने स्वास्थ्यकर्मीलाई घूससमेत दिएको दाबी गरेका छन् । रिपोर्टमा अमेरिकी कंग्रेसमा अहिले ओहायोमा मात्रै सम्भावित १ अर्ब २० करोड डलर बराबरको ठगी भएको आँकडा प्रस्तुत गरिएको बताइएको छ ।

अधिकारीले ती आरोप अस्वीकार गर्दै संस्थाका सेवाग्राहीमध्ये भुटानी समुदायको हिस्सा सानो मात्र रहेको र सेवा जातीयता वा राष्ट्रियताका आधारमा नभई आवश्यकताका आधारमा प्रदान गरिने दाबी गरेका छन् ।

‘समाचारले मलाई एउटा यस्तो कथाको केन्द्रीय पात्रका रूपमा चित्रण गर्न खोजेको छ, जसले हाम्रो संस्थाको वास्तविकता सही रूपमा प्रतिबिम्बित गर्दैन । तस्बिरमा निजी जेट देखिनु, व्यक्तिगत सवारीसाधन हुनु वा सामाजिक सञ्जालका पोस्टहरू हुनु ठगी, दुराचार वा कुनै गैरकानुनी गतिविधिको प्रमाण होइन,’ अधिकारीले भनेका छन् ।

उनले यस्ता किसिमका समाचारले भुटानी समुदायप्रति हानिकारक पूर्वाग्रहलाई थप बल पुग्ने र होम केयर सेवा प्रदायकप्रतिको विश्वास कमजोर बनाउने जस्ता व्यापक असर पार्न सक्ने पनि बताएका छन् ।

‘झुटा र भ्रामक समाचारले एक व्यक्तिलाई मात्र असर गर्दैन । यसले हाम्रा कर्मचारी, सेवाग्राही, परिवार र हरेक दिन हामीजस्ता संस्थामा निर्भर समुदायलाई प्रभावित गर्छ,’ उनले भनेका छन् । साथै, संस्थाको प्रतिष्ठा जोगाउन र आफूले मानहानीपूर्ण सामग्री भनेको विषय प्रकाशित गर्नेहरूलाई जवाफदेही बनाउन कानुनी विकल्पबारे समीक्षा भइरहेको उनले जानकारी दिएका छन् ।

‘हामी सनसनीपूर्ण समाचारबाट तर्सिने छैनौं, न त झुटा कथनले हामी को हौं र जीवन समर्पित गरेर गरेको कामलाई परिभाषित गर्न दिनेछौं । हामी इमानदारी, व्यावसायिकता र करुणासहित समुदायको सेवा गरिरहनेछौं,’ अधिकारीले भनेका छन् ।

साभारःकान्तिपुर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *