एक दशकमा पनि बन्न सकेन पुल जोखिमपूर्ण यात्रा गर्न राैतहटबासी बाध्य

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

पुल बन्ला र जनजीवन सहज होला’ भन्ने आशामा एक दशक बिताएका रौतहटका चन्द्रपुर नगरपालिका–३ का चुरे क्षेत्रका बासिन्दा अझै पनि जोखिम मोलेर नदी तर्न बाध्य छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत चन्द्रनिगाहपुर बजार क्षेत्र र चुरे क्षेत्रको गैडाटार जोड्ने चाँदी नदीमाथिको निर्माणाधीन पुल हालसम्म अलपत्र अवस्थामा रहेकाले सुरक्षित यात्राको पर्खाइमा रहेका चुरेबासीको सपना अझै पूरा हुन सकेको छैन ।

२०७३ साल असार ३१ गते शिवशंकर जेभी कन्स्ट्रक्सन, गरुडाले भ्याटसहित २५ करोड ३६ लाख २४ हजार २८२ रुपियाँ ६० पैसामा उक्त पुल निर्माणको ठेक्का लिएको थियो । कुल ४६९.५० मिटर लम्बाइको पुलको शिलान्यास २०७३ साल पुस २५ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले गरेका थिए  ।

सम्झौताअनुसार निर्माण कम्पनीले २०७६ असार मसान्तसम्म पुल निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने भए पनि हालसम्म पुल बेवारिसे अवस्थामै रहेको चन्द्रपुर नगरपालिका–३ का वडाध्यक्ष बोधनाथ देवकोटाले बताए  ।

उनले भने , “सम्झौताअनुसार सात वर्षअघि नै पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आइसक्नुपर्ने हो । तर, करिब एक दशक बित्न लाग्दा पनि पुल पूरा हुन सकेको छैन । निर्माण कम्पनीको लापरबाही, ढिलासुस्ती र बेवास्ताका कारण पुल अलपत्र परेको हो ।”

सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका सूचना अधिकारी इन्जिनियर सञ्जयकुमार यादवका अनुसार पुलमा ११ वटा स्पान निर्माण गर्नुपर्नेमा अझै तीन वटा स्पानको ढलान, पहुँच सडक, बाँध तथा रेलिङलगायतका काम बाँकी छन् ।

उनले भने , “पुल निर्माणको भौतिक प्रगति करिब ८० प्रतिशत पुगेको छ । निर्माण कम्पनीलाई पटक–पटक गरी चौथो पटकसम्म म्याद थप गरिएको छ । हालको म्याद २०८२ जेठ ३० गतेसम्म कायम छ ।”

समयमै पुल निर्माण नहुँदा वर्षायाममा चुरे क्षेत्रका बासिन्दाको जनजीवन निकै कष्टकर बन्दै गएको छ । वर्षातका बेला चाँदी नदीमा बाढी आउँदा चन्द्रपुर नगरपालिका–३ गैडाटार तथा मकवानपुरको चुरे फेदीका विभिन्न गाउँका बासिन्दालाई दैनिक उपभोग्य सामग्री खरिद गर्न चन्द्रनिगाहपुर बजार आउजाउ गर्न कठिन हुने गरेको स्थानीयवासी बताउँछन् ।

स्थानीय युवा सन्तोष चौहानले भने , “पुल नबन्दा बिरामीलाई समयमा अस्पताल पुर्‍याउन कठिन हुन्छ । स्थानीय उत्पादनले बजार पाउँदैन । बाढीले बगाउँदा मानवीय क्षति समेत हुने गरेको छ । पुल बनेर सुरक्षित रूपमा ओहोरदोहोर गर्न पाइएला भन्ने चुरेबासीको सपना अझै पूरा भएको छैन ।”

उनका अनुसार स्थानीयवासीले जनप्रतिनिधिदेखि मन्त्री र प्रधानमन्त्रीसम्मलाई पुल निर्माण शीघ्र सम्पन्न गराउन आग्रह गरिसकेका छन् । तर, निर्माण कार्यले अपेक्षित गति लिन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *