बंगलादेशले पछिल्ला दशकहरूकै सबैभन्दा ठूलो दादुरा महामारी सामना गरिरहँदा नेपालमा पनि एकपछि अर्को दादुरा प्रकोप फैलिइरहेको छ ।स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको खोप शाखाका अनुसार पुसयताका ६ महिनामा सर्लाही, बागलुङ, महोत्तरी, कालीकोट, दैलेख, अछाम र सिरहासहितका ७ जिल्लाका विभिन्न स्थानका सयौं बालबालिका दादुरा भाइरसबाट संक्रमित भएका छन् ।
उनीहरूका अनुसार दादुरा फैलिएको क्षेत्रमा रहेका सबै बालबालिकालाई तत्काल खोप लगाइनुपर्छ, जुन महामारी नियन्त्रणको अनिवार्य सर्त र अभ्यास हो । यसो गर्दा भाइरस थप फैलन र जटिलता रोक्न मद्दत गर्छ । तर, सर्लाही र बागलुङको ढोरपाटन नगरपालिकामा मात्र विषेश खोप कार्यक्रम सञ्चालन गरिएको छ ।
महामारी नियन्त्रणका लागि चाहिने थप खोप नहुँदा स्वास्थ्य निकायहरूले आवश्यक खोप अभियान सञ्चालन गर्न सकेका छैनन् ।पुसमा दादुरा प्रकोप देखिएलगत्तै स्वास्थ्य अधिकारीहरूले दातृ निकायसँग आवश्यक खोप माग गरेका थिए । तर बंगलादेशमा फैलिएको ठूलो प्रकोपका कारण दातृ निकायहरूको ध्यान त्यतातिर बढी गएकाले नेपाल प्राथमिकतामा नपरेको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए ।
पुसमा माग गरिएकोमध्ये २ लाख डोज खोप प्राप्त गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तर, खोप लगाउनुपर्ने बालबालिकाको संख्या अत्यधिक भएकाले सीमित खोप कहाँ पठाउने भन्ने अन्योल छ । ‘हामीले हालै दातृ निकायबाट २ लाख डोज दादुरा खोप प्राप्त गरेका छौं,’ खोप शाखा प्रमुख डा. अभियान गौतमले भने, ‘तर यी खोप कहाँ प्रयोग गर्ने भन्नेबारे छलफल भइरहेको छ, किनकि हाल प्राप्त डोज प्रकोप देखिएका सबै क्षेत्रका बालबालिकाका लागि पर्याप्त हुँदैन ।’ खबाट निस्कने श्वासप्रश्वासमार्फत सर्छ । खोप नलगाएका व्यक्तिहरूका लागि यो घातक पनि हुन सक्छ ।
विशेषज्ञहरूका अनुसार सरकारको निरन्तर बेवास्ताका कारण नेपालमा जुनसुकै समयमा ठूलो रुपमा दादुरा प्रकोप फैलिन सक्छ । अहिले नेपालसहित दक्षिण–पूर्वी एसियाली देश भारत, म्यानमार, बंगलादेश लगायतमा यस रोगको ठूलो लहर देखिएको अधिकारीहरुले बताएका छन् । तर अन्य देशहरूमा भने मजबुत खोप प्रणालीका कारण मृत्यु र क्षति कम भएको छ ।
उनीहरूका अनुसार बंगलादेशमा राजनीतिक परिवर्तनपछि बनेको अन्तरिम सरकारले नियमित खोप कार्यक्रमको संवेदनशीलता बुझ्न नसक्दा स्थिति बिग्रियो । २०२४ अगस्टमा अन्तरिम सरकार बनेपछि युनिसेफमार्फत खोप खरिद रोकिनु, खोपको अभाव हुनु, नियमित खोपमा ढिलाइजस्ता कारणले ठूलो प्रकोप फैलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले जनाएका छन् ।
बंगलादेशमा दादुरा र त्यससँग मिल्दोजुल्दो लक्षणका कारण मृत्यु संख्या ५४५ पुगेको छ, २० हजारभन्दा बढी संक्रमित छन् । युनिसेफले पनि २०२४ को विद्यार्थी आन्दोलनका कारण उत्पन्न परिस्थितिका कारण खोपको पहुँच कमजोर बनाएको र ठूलो संख्यामा बालबालिका असुरक्षित बनेको बताएको छ ।
‘नयाँ सरकारले समयमै खोप खरिद नगरेको, खोप अभियानमा संलग्न करारका कर्मचारी ठूलो संख्यामा हटाएका कारण बंगलादेशमा अहिलेको समस्या देखिएको हो,’ स्वास्थ्य सेवा विभागका एक अधिकारीले भने, ‘हामी पनि बंगलादेशजस्तै अवस्थातर्फ गइरहेका छौं, किनकि सरकारले स्वास्थ्यकर्मी हटाएको छ र बारम्बार प्रकोप हुँदासमेत खोप खरिदमा ध्यान दिएको छैन ।’
स्वास्थ्य अधिकारीहरूका अनुसार न त प्रकोपका लागि पर्याप्त खोप भण्डार छ, न आपतकालीन बजेट नै । विगतमा दातृ निकायहरूले आपतकालीन सहयोग दिने गरे पनि हाल ढिलाइ भइरहेको उनीहरूको भनाइ छ ।प्रकोप सुरु भएको महिनौं बितिसक्दा पनि खोप अभियान सञ्चालन नहुनु र दादुरा रोकथामको प्रभावकारी योजना नहुँदा नेपालको रोग नियन्त्रण प्रणालीमै गम्भीर कमजोरी देखिएको बाल स्वास्थ्य विज्ञहरू बताउँछन् ।
‘यदि दातृ निकायले समयमा खोप उपलब्ध गराउन सकेन भने पनि नागरिकको जीवन रक्षा गर्ने जिम्मेवारी सरकारकै हो,’ खोपविज्ञ डा. श्यामराज उप्रेतीले भने, ‘सरकार आफ्नो मुख्य जिम्मेवारीबाट उम्किन मिल्दैन ।’
नियमित खोपमा पहुँच नपुग्नु, खोपबारे जनचेतनाको कमी र सरकारी निकायको उदासीनता दादुरा प्रकोपको प्रमुख कारण भएको विशेषज्ञहरू बताउँछन् । उनीहरूले आदिवासी, दलित तथा सीमान्तकृत समुदायमा खोप पहुँच बढाउन र आपतकालीन बजेट तथा खोप भण्डारण सुनिश्चित गर्न सुझाव दिएका छन् ।
दादुराविरुद्धको खोप जन्मेको ९ महिना र १५ महिनामा दिइन्छ । नेपालभर सरकारी स्वास्थ्य संस्थामा यो खोप निःशुल्क उपलब्ध छ । नेपालले सन् २०२६ सम्म दादुरा उन्मूलन गर्ने लक्ष्य राखेको थियो, तर अहिलेको प्रकोपले यो लक्ष्य प्रभावित भएको छ । यसअघि २०१९ र २०२३ मा दादुरा उन्मूलन गर्ने लक्ष्य पनि नेपालले पूरा गर्न सकेको थिएन । २०२२ र २०२३ मा पनि काठमाडौंसहित विभिन्न जिल्लामा दादुरा प्रकोप फैलिएको थियो ।
दादुरा उन्मूलन घोषणा गर्न प्रतिवर्ष प्रति १० लाख जनसंख्यामा पाँचभन्दा कम केस हुनुपर्छ । यसको स्वतन्त्र अन्तर्राष्ट्रिय प्रमाणीकरण आवश्यक हुन्छ र लगातार तीन वर्ष नयाँ प्रकोप देखिनु हुँदैन ।डाक्टरहरूका अनुसार सबै उमेर समूहका मानिस यो रोगको जोखिममा हुन्छन् । विशेष गरी बालबालिका, गर्भवती, वृद्ध तथा कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्ति बढी जोखिममा हुन्छन् ।
उच्च ज्वरो, नाक बग्नु, आँखा रातो हुनु र मुखभित्र सेता साना दाग देखिनु दादुराका लक्षण हुन् । यसले निमोनिया र इन्सेफलाइटिस जस्ता गम्भीर जटिलता पनि निम्त्याउँछ । जसले मृत्यु समेत हुन सक्छ ।
साभारः कान्तीपुर दैनिक ।
