रोपाइँको मुखमा रासायनिक मल नपाएको गुनासो किसानहरूले गरेका छन्। भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९, ताथलीले गरेको वडास्तरीय सार्वजनिक कार्यक्रममा सहभागी किसानहरूले रोपाइँका लागि पर्याप्त रासायनिक मल नपाएको गुनासो गरेका हुन्। खेतीपातीको मुख्य समयमा किसानहरूले रासायनिक मल पाउन सास्ती खेप्नुपरेको गुनासो उनीहरूले गरे। नेपालीहरूको मुख्य बाली धान हो र अहिले धान रोप्ने सिजन सुरु हुने क्रममा छ।
सार्वजनिक कार्यक्रममा सहभागी ८० वर्षीय स्थानीय किसान केशरबहादुर खड्काले कृषिप्रधान देशमा किसानहरू जहिल्यै समस्यामा पर्ने गरेको भन्दै आक्रोश पोखे। “अहिले धान रोप्ने सिजन सुरु हुँदैछ, तर धान रोप्नका लागि चाहिने पाँच किलो मल लिन पाँच घण्टा लाइन बस्नुपरेको छ,” उनले भने।
उनका अनुसार वडामा रहेका सहकारी संस्थाहरूले वडावासी किसानहरूलाई मल बिक्री–वितरण गर्छन्। एउटा परिवारलाई बढीमा पाँच किलोसम्म मात्रै मल बिक्री–वितरण गरिन्छ, त्यो पनि लाइन लागेर। यो वर्ष मात्र नभई प्रत्येक वर्ष मल अभाव हुने गरेको लामो इतिहास उनले सुनाए।
किसानहरूका अनुसार बिहानैदेखि सहकारी तथा बिक्री केन्द्र अगाडि लाइन लागे पनि सबैले मल पाउने निश्चित हुँदैन। घण्टौँ पालो कुरेर पनि थोरै मात्रामा मल दिइने गरेको उनीहरूको भनाइ छ। “दिनभरि लाइन बस्दा पाँच किलो मल मात्रै पाइन्छ, त्यसले खेतमा के पुग्छ ?” उनीहरूको प्रश्न थियो।
धान तथा तरकारी खेतीको समयमा मल अभाव भएपछि किसान चिन्तित छन्। समयमै मल नपाउँदा उत्पादनमा प्रत्यक्ष असर पर्ने उनीहरूको भनाइ छ। कतिपय किसानले खेतको काम छोडेर मलका लागि लाइन बस्नुपरेको उनीहरूको दाबी छ।
स्थानीयले सरकार र सम्बन्धित निकायले मल आपूर्ति सहज बनाउन नसकेको आरोप लगाए। “हरेक वर्ष खेतीको समयमा यस्तै समस्या दोहोरिन्छ, तर समाधान हुँदैन,” उनीहरूले भने। किसानहरूले पर्याप्त मात्रामा मल उपलब्ध गराउन, सहज वितरण व्यवस्था मिलाउन तथा कालोबजारी नियन्त्रण गर्न माग गरेका छन्। समयमै मलको व्यवस्था नगरे कृषि उत्पादन घट्ने र किसान थप मारमा पर्ने उनीहरूको चेतावनी छ।
सार्वजनिक सुनुवाइमा सहभागी अर्का भानुभक्त पराजुलीले वडाका कृषि सडक ग्राभेलसम्म नहुँदा खेतमा उत्पादन भएका तरकारी बजारसम्म मानिसले नै बोकेर ल्याउनुपरेको बाध्यता रहेको बताए। यसले लागत अत्यधिक बढ्ने उनको भनाइ छ। ट्र्याक्टर वा अन्य साधनमा राखेर ल्याउन पाए लागत कम हुने उनको भनाइ हो। तर कृषि सडक ग्राभेल नभएकाले सवारीसाधन चल्न नसक्ने उनले जनाए। त्यसकारण वडाका कृषि सडकहरूमा ग्राभेल गर्न उनले माग राखे।
कार्यक्रममा वडा अध्यक्ष गणेश त्यातले कृषकका समस्याप्रति सहमति जनाए। किसानले समयमै मल नपाउनेलगायतका समस्यामा आफू पनि भुक्तभोगी भएको उनले बताए। त्यसकारण स्वदेशमै मल कारखाना खोलेर किसानलाई आवश्यक मात्रामा मल वितरण गर्नुपर्ने माग आफूहरूको रहेको उनले बताए। साथै उनले वडावासीले उठाएका विभिन्न समस्याहरूका बारेमा सम्बोधन गरेका थिए।
