चिनियाँ राष्ट्रपति सी जिनपिङ र पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफबीच सोमबार बेइजिङमा भेटवार्ता भएको छ।पाकिस्तानले सार्वजनिक गरेको भिडियोमा शाहबाज शरीफले चिनियाँ नेताहरूसँग कुरा गरिरहेको देखिन्छ।
बीबीसी उर्दूले उल्लेख गरेअनुसार पाकिस्तानी प्रधानमन्त्रीले खाडी संकटका कारण विश्व एक नाजुक चरणबाट गुज्रिरहेको र पाकिस्तानले अमेरिका र इरान बीच मध्यस्थता गर्न इमानदारीपूर्वक काम गरेको बताएका थिए।
उनले असीम मुनीरले पाकिस्तानी उपप्रधानमन्त्री इशाक दारसँग मिलेर इरानी, अमेरिकी र खाडी नेतृत्वसँग निरन्तर सम्पर्क कायम राखेका र महत्वपूर्ण भूमिका खेलेका बताए। उनले खाडी संकट अन्त्य गर्न सही दिशामा प्रगति भइरहेको बताए। उनले शान्ति प्रयास र युद्धविराम पहललाई समर्थन गरेकोमा चिनियाँ नेतृत्वलाई धन्यवाद दिए।
ग्लोबल टाइम्सका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङले मध्यपूर्वमा शान्ति पुनर्स्थापनामा मध्यस्थकर्ताको भूमिका खेल्न पहल गरेकोमा पाकिस्तानको प्रशंसा गरेका छन्। पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफ यसअघि चीनका प्रधानमन्त्रीलाई पनि भेटेका थिए।
