हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा लेबरको ठुलो हारपछि ब्रिटिस प्रधानमन्त्री केअर स्टारमरलाई राजीनामाको दबाब बढेको छ । स्टारमरको राजीनामा माग्दै उनकै मन्त्रिमण्डलका तीनजना मन्त्रीले पदबाट राजीनामा दिएका छन् । पीडितहरू हेर्ने मन्त्रालयकी मन्त्री एलेक्स डेभिस–जोन्सको बहिर्गमनसँगै राजीनामा दिने मन्त्रीको संख्या तीन पुगेको हो ।
डेभिस–जोन्स साउथ वेल्समा पोन्टिप्रिड क्षेत्रकी सांसद हुन्, जहाँ लेबरको हार विशेषगरी विनाशकारी देखियो । यसअघि सेफगार्डिङ मन्त्री फिलिप्सले राजीनामा पत्रमा मन्त्री रहँदा महिला र केटीविरुद्ध हुने हिंसालाई सम्बोधन गर्न सघाएकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिएकी छिन् ।
तथापि, स्टारमरले धेरै समर्थन दबाबमा मात्र दिएको उल्लेख गरेकी छन् । उनले स्टारमरलाई ‘एक असल मानिस’ तर नेतृत्वका लागि अनुपयुक्त भनेकी छिन् । यसअघि नै आवास तथा समुदाय मन्त्रालयकी जुनियर मन्त्री मियट्टा फ्यानबुलेले स्टारमर प्रधानमन्त्री पदका लागि अनुपयुक्त भएको भन्दै उनको मन्त्रिमण्डलबाट राजीनामा दिइसकेकी थिइन् ।
उता कम्तीमा ८० जना लेबर सांसदहरूले स्टारमरलाई राजीनामा दिन वा पद छाड्ने समयतालिका जारी गर्न आह्वान गरेका छन् । मन्त्री र सांसदले राजीनामा मागिरहँदा प्रधानमन्त्री स्टारमरले भने नेतृत्वको चुनौती नआएसम्म राजीनामा नदिने बताएका छन् ।
