उत्तर कोरियाले आफ्नो संविधान संशोधन गरेको छ । जसअनुसार विदेशीले सर्वोच्च नेता किम जोङ उनको हत्या गरेमा प्रतिरोधस्वरुप आणविक हतियार प्रयोग हुनेछ ।
मार्च २२ मा राजधानी प्योङयाङमा सुरु भएको १५ औं सर्वोच्च जनभेलाको पहिलो सत्रले यस प्रस्तावलाई अनुमोदन गरेको थियो । तर, यो जानकारीलाई उत्तर कोरियाले सिमित व्यक्तिभित्रै राख्यो । बिहीबार दक्षिण कोरियाको राष्ट्रिय अनुसन्धान सेवा (एनआईएस) ले सरकारका वरिष्ठ अधिकारीहरुसँगको ब्रिफ्रिङमा यस विषयलाई उजागर गर्यो ।
एनआईएसका अनुसार उत्तर कोरियाको आणविक फौजको कमाण्ड किम आफैंले गर्छन् । तर, यदी उनलाई विदेशीले बन्दी बनाए वा हत्या गरेमा फौजले आणविक आक्रमण गर्नेछ ।
आणविक कानुनको संशोधित धारा ३ मा उद्रृत गर्दै एनआइएसले भनेको छ, ‘देशको आणविक फौजमाथिको कमाण्ड र कन्ट्रोल प्रणाली शत्रुको आक्रमणले खतरामा परेको अवस्थामा तत्कालै आणविक आक्रमण गरिनेछ ।’
सियोलस्थित कोकमिन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध र इतिहासका प्राध्यापक रहेका आन्दे्रइ लान्कोभले भने, ‘विगतमा पनि यस्तो नीति हुनसक्छ । तर अहिले संविधानमै समेटेर यस विषयलाई थप प्राथमिकता दिइएको छ ।’
उनले थपे,‘इरानको घटनालाई उत्तर कोरियाले चेतावनीका रुपमा लियो ।’ २८ फेब्रुअरीमा अमेरिका–इजरायलको आक्रमणमा अली खामेनेईको हत्या भएपछि उत्तर कोरिया सतर्क भएको हो ।
