राष्ट्र महासभामा आलोचक र प्रदर्शनकारीले घेरिनुभएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा हमासविरुद्धको युद्ध अन्त्य गर्ने कुनै योजना नभएको स्पष्ट गर्दै आफ्नो देशले ‘काम समाप्त गर्नुपर्छ’ भनेर अवज्ञापूर्ण भाषण गर्नु भएको छ ।
बढ्दो अन्तर्राष्ट्रिय अलगाव र आलोचनाबिच उनले भने , “पश्चिमी नेताहरू दबाबमा झुकेका हुन सक्छन्, तर इजरायल कहिल्यै झुक्दैन ।” उहाँको सम्बोधन सुरु हुनुअघि नै धेरै मुलुकका प्रतिनिधि महासभा हलबाट सामूहिकरूपमा बाहिरिएका थिए । नेतान्याहुले आफ्ना शब्द घरभित्र विभाजित इजरायली जनतालाई पनि लक्षित गरेका थिए । उनले हालै प्यालेस्टिनी राज्यलाई मान्यता दिने निर्णयलाई ‘यहुदी र निर्दोष जनताविरुद्ध आतङ्कलाई प्रोत्साहन गर्ने कदम’ भन्दै खारेज गरे ।
संयुक्त राष्ट्र हलमा नेतान्याहुले बोलेका बेला कोलाहलपूर्ण नारा गुन्जिए भने उनका समर्थकले ग्यालरीबाट तालि बजाएका थिए । अमेरिकाको सिट तल्लो स्तरका प्रतिनिधिले मात्र भरिएका थिए भने बेलायतको पनि वरिष्ठ उपस्थिति थिएन । धेरै सिट खाली रहेका थिए । इरानको कुर्सीमा भने गाजाको युद्धमा मारिएका बालबालिकाको फोटो राखिएको थियो ।
नेतान्याहुले फेरि आलोचकलाई एन्टिसेमिटिज्मको आरोप लगाउँदै भने , “यहुदीविरोध कहिल्यै मर्दैन ।” अन्तर्राष्ट्रिय अदालतमा युद्ध अपराधको आरोप, बढ्दो दबाब र अलगावबिच यो सम्बोधन उहाँका लागि प्रतिवाद गर्ने अवसर बनेको थियो । उनले सिरिया, लेबनान, इरान र यमनसमेतमा इजरायलले चालेका हालका सैन्य कदमलाई उल्लेख गर्दै गाजालाई ‘अन्तिम बाँकी मोर्चा’ का रूपमा चित्रित गरे ।
दमास्कससँग वार्ता सुरु भएको भन्दै उनले ‘शान्तिका लागि सम्भावना खुलेको’ दाबी गर्नुभयो तर अन्तिम चुनौती हमास भएको दोहोर्याए । नेतान्याहुले आफ्नो प्रमुख सहयोगी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बारम्बार प्रशंसा गरे । उनले परम्परागत शैलीमै नक्सा, चिह्न र ‘द कर्स’ शीर्षकसहित भिजुअल एड्स प्रयोग गरेर सन् २०२३ अक्टोबर ७ को हमास आक्रमण र इजरायली बन्धकको प्रसङ्ग औँल्याए ।
उनको सन्देश गाजामा पनि प्रसारित गरिएको इजरायली सरकारको दाबी छ, जसका लागि लाउडस्पिकर र मोबाइल प्रयोग भएको बताइएको छ । तर एपी पत्रकारले प्रत्यक्ष प्रमाण भने देखेनन् । वाडी गाजाका विस्थापित मोनिर तालिबले प्रतिक्रिया दिँदै भने , “हामी ढिलो वा चाँडै स्वतन्त्रता पाउँछौँ ।” अर्का विस्थापित अमजद अब्देल दाइमले भने , “उहाँले हमासलाई लक्ष्य बनाएको भन्नुहुन्छ, तर युद्ध हामी जस्ता साधारण, गरिब मानिसविरुद्ध चलिरहेको छ ।”
हमासले नेतान्याहुलाई युद्धलाई निरन्तरता दिने झूटो बहानाबाजी गरेको आरोप लगाएको छ । हमासले विज्ञप्ति जारी गर्दै भनेको छ, “यदि उहाँले बन्धकबारे साँच्चिकै चिन्ता गरेका भए उहाँले नरसंहार र गाजाको विनाश रोक्नुहुन्थ्यो ।” हालै अस्ट्रेलिया, क्यानाडा, फ्रान्स, बेलायतलगायतले प्यालेस्टिनी राज्य मान्यता दिएकाले यस वर्षको संयुक्त राष्ट्र सम्बोधन नेतान्याहुका लागि उच्च जोखिमपूर्ण मानिएको थियो ।
युरोपेली सङ्घ (इयु) ले कर र प्रतिबन्धबारे छलफल गरिरहेको छ । महासभाले इजरायललाई दुई-राज्य समाधानप्रति प्रतिबद्ध हुन आग्रह गर्ने प्रस्तावसमेत पारित गरिसकेको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले नेतान्याहुविरुद्ध मानवताविरुद्धको अपराधमा गिरफ्तारी वारेन्ट जारी गरिसकेको छ, जसलाई उनले अस्वीकार गरे । साथै, संयुक्त राष्ट्रसङ्घको सर्वोच्च अदालतले दक्षिण अफ्रिकाले गाजामा नरसंहार गरेको आरोपबारे सुनुवाइ गरिरहेको छ ।
महासभा हल नजिकै सयौँ प्यालेस्टिनी समर्थकले प्रदर्शन गर्दै ‘इजरायलले मानवता विरुद्ध युद्ध गरिरहेको छ’ भन्दै नारा लगाएका थिए । इजरायल समर्थक गैरसरकारी संस्था युएन वाचले भने नेतान्याहुको सम्बोधनलाई आतङ्कवादविरुद्धको दृढता र छिमेकीसँग सम्भावित शान्तिको दृष्टिकोणको मिश्रण भएको भन्दै प्रशंसा गरेको छ । तर विरोध बढ्दो छ । सुरक्षा परिषद्को विशेष सत्रमा धेरै राष्ट्रले सन् २०२३ को हमास आक्रमणलाई निन्दा गरे पनि इजरायलको अत्यधिक आक्रमणलाई आलोचना गर्दै तत्काल युद्धविराम र मानवीय सहायता खोल्न आग्रह गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार गाजामा इजरायली आक्रमणले हालसम्म ६५ हजारभन्दा बढी मानिसको ज्यान लिएको छ, ९० प्रतिशतभन्दा बढी जनसङ्ख्या विस्थापित भएको छ र लाखौँ भोकमरीको जोखिममा छन् । अहिलेसम्म एक सय ५० भन्दा बढी देशले प्यालेस्टिनी राज्यलाई मान्यता दिएका छन् । यद्यपि संयुक्त राज्य अमेरिकाले इजरायललाई स्पष्ट समर्थन नदिए पनि राष्ट्रपति ट्रम्पले पश्चिम किनार विलयलाई अस्वीकार गर्ने सङ्केत गरेका छन् ।
नेतान्याहुको सरकारले भने त्यस्तो कदमलाई समर्थन गर्ने सदस्य राखेको छ, जसले विवादास्पद नयाँ बस्ती परियोजना अगाडि बढाएको छ । नेतान्याहु र ट्रम्पबिच सोमबार भेट हुने कार्यक्रम छ । ट्रम्पले सामाजिक सञ्जालमा गाजा सम्बन्धी छलफललाई ‘फलदायी’ भने । नेतान्याहुले पछि संयुक्त अरब इमिरेट्स (युएई) का विदेशमन्त्रीसँग पनि भेट गरे । युएईले पश्चिम किनार विलय भए आफ्नो कूटनीतिक सम्बन्ध पुनर्विचार गर्ने चेतावनी दिएको छ ।
यसैबिच, प्यालेस्टिनी प्राधिकरणका नेता महमुद अब्बासले महासभामा भिडियो सम्बोधन गर्दै नयाँ मान्यतालाई स्वागत गरे र अझ बढी कदम चाल्न आग्रह गरे । प्यालेस्टिनीले पश्चिम किनार, पूर्वी जेरुसेलम र गाजालाई भविष्यको राज्यको रूपमा हेरेका छन्, जसलाई ‘दुई-राज्य समाधान’ भनिन्छ । नेतान्याहुले भने यस्तो राज्य निर्माणले हमासलाई पुरस्कृत गर्ने दाबी गरे । भाषणको अन्त्यमा नेतान्याहुले भने , “इजरायलले सबै राष्ट्रको तर्फबाट कट्टरपन्थी इस्लामसँग लडिरहेको छ । तपाईंलाई थाहा छ-यो तपाईंको लडाइँ पनि हो ।”
