दसैँतिहारमा बिपी राजमार्ग : तैनाथ छन् तिस उपकरण

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

काठमाडौँ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने छोटो स्थल मार्गका रूपमा रहेको बिपी राजमार्गमा दसैँतिहारलगायतका चाडपर्वमा निर्वाध रूपमा सवारीसाधन सञ्चालन गर्न प्रयास गरिँदै छ । बिनाअवरोध सवारीसाधन सञ्चालनका लागि राजमार्गको क्षतिग्रस्त खण्डको सतह सुधार गर्नुका साथै आवश्यक प्राविधिक जनशक्ति र उपकरण तैनाथ गरिएको सडक विभागले जनाएको छ । गत वर्ष असोज ११ र १२ गते भएको अविरल वर्षाका कारण आएको बाढीपहिरोले सो राजमार्गमा ठुलो क्षति पुर्याएकाे थियो ।

सडक डिभिजन भक्तपुरका सिडिई सुमन योगेशले नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै बिपी राजमार्गमा बिनाअवरोध सवारीसाधन सञ्चालन गर्न आवश्यक तयारी गरिएको बताउदै राजमार्ग सञ्चालनको क्रममा कुनै पनि समस्या आए त्यसलाई तुरुन्तै सम्बोधन (रेसपोन्स) गर्ने गरी तयारी गरिएको  जानकारी दिए  । सडक डिभिजन भक्तपुर अन्तर्गत सो राजमार्गको पुनर्निर्माण भइरहेको छ ।

अहिले पनि सो राजमार्गमा बिनाअवरोध सवारीसाधन सञ्चालन हुँदै आएको बताउँदै उनले दसैँ सुरु हुनुअघि नै बाढीले क्षति पुर्याएकाे खण्डलाई सम्म पार्न ‘ग्रेडिङ’ र ‘रोलिङ’ गरिने जानकारी दिदै ‘ग्रेडिङ’ र ‘रोलिङ’ गरिएपछि अहिले रहेका खाल्टाखुल्टी पुरिएर सडक सतहसम्म हुने र सवारीसाधन थप राम्रोसँग चल्ने उनको भनाइ छ ।

त्यसै गरी पहिरो आए पन्छाउन सडक विभागको आफ्नै उपकरण तयारी अवस्थामा राखिएको छ , अहिले ३० वटा उपकरण तयारी अवस्थामा राखिएका छन् । त्यसै गरी प्राविधिकहरूलाई पनि भकुन्डेबेँसीमा तयारी अवस्थामा राखिएको छ ।

अवस्थामा सुधार आएन

बिपी राजमार्गमा सञ्चालन हुने २१० वटा माइक्रोबसका मालिक नारायण भट्टराईले बाढीपहिरोले क्षति पुर्याएकाे एक वर्ष पुग्न लाग्दा पनि सो राजमार्गको अवस्थामा कुनै सुधार नआएको बताउदै भने , “राजमार्गको मङ्गलटारदेखि नेपालथोकसम्म ८.६ किलोमिटर मुख्य रूपले बिग्रेको छ । बिग्रेको जस्तो थियो अहिले पनि त्यस्तै छ । सडकमा बालुवा थुपार्ने, खाल्डो पुर्ने जस्ता झारा टार्ने काम भइरहेको छ ।”

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, माइक्रोबस संयोजकसमेत रहेका भट्टराईले व्यवसायीले मात्र आफ्नो पेसालाई बचाउन अनेकन दुःख र कष्टका साथ यातायात सञ्चालन गरिरहेको बताए ।

तिस किलोमिटर पुनर्निर्माण हुँदै

सिडिई योगेशका अनुसार बाढीले क्षतिग्रस्त बनाएको भकुन्डेबेँसीदेखि नेपालथोकसम्मको ३० किलोमिटर सडकलाई चार खण्डमा विभाजन गरी पुनर्निर्माण गर्न लागिएको हो । यसमध्ये २५ किलोमिटरको पुर्निर्माणका लागि तीन प्याकेजमा ठेक्का सम्झौता भइसकेको छ । ठेक्का सम्झौतापछि निर्माण कम्पनीले काम सुरु गरिसकेका छन् ।

निर्माण कम्पनीले साइट कार्यालय स्थापना गरी काम सुरु गरिसकेको उनले जानकारी दिए  । ठेक्का पाएका कम्पनीले पुनर्निर्माण गरिने खण्डको सर्भे सम्पन्न गरी निर्माण सामग्रीको परीक्षण (टेस्ट) को काम गरिरहेका छन् ।  भकुन्डेबेँसीदेखि चारसयबेँसीसम्मको निर्माणका लागि एक अर्ब १४ करोड रुपियाँको लागतमा ठेक्का लागिसकेको छ ।

यस खण्डको दुरी ११ किलोमिटर छ । त्यसै गरी चारसयबेँसी–डालाबेँसी सडकको निर्माणका लागि एक अर्ब ४२ करोड रुपियाँमा ठेक्का सम्झौता भएको हो । यस खण्डको लम्बाइ ८.५ किलोमिटर छ ।

त्यसै गरी सिन्धुलीतर्फको बर्खेखोला–नेपालथोक खण्डको निर्माणका लागि ६१ करोड १४ लाख रुपियाँमा ठेक्का सम्झौता भइसकेको छ । यस खण्डको लम्बाइ चार किलोमिटर छ । निर्माणका लागि सम्झौता हुन बाँकी रहेका पाँच किलोमिटरमध्ये काभ्रेको पिप्लेदेखि डल्लाबेँसीसम्म दुई किलोमिटर पुनर्निर्माणका लागि ठेकेदार कम्पनी छनोटका लागि मूल्याङ्कन प्रक्रिया सुरु भइसकेको उनले जानकारी दिए  ।

त्यसै गरी बर्खेखोला–पिप्लेसम्म तीन किलोमिटर राजमार्ग खण्डको पुनर्निर्माण जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा हुन लागेको हो । जापानले सो खण्डको सर्भे सम्पन्न गरी डिजाइनको काम गरिरहेको सिडिई योगेशले जानकारी दिए  ।

विसं २०७२ सालमा जापानी सहयोग नियोग (जाइका) द्वारा सो राजमार्ग जापान सरकारको २६ विलियन जापानी येन र नेपाल सरकारको १.१ विलियन (जापानी येन) को लागतमा निर्माण गरिएको थियो । आर्थिक वर्ष २०५३/५४ बाट उक्त राजमार्गको निर्माण सुरु गरिएको थियो भने २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले नेपाललाई हस्तान्तरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *