प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालले जलवायु परिवर्तनले पारिरहेको असर सम्बन्धमा विश्वको ध्यानाकर्षण गर्ने ध्येयले आगामी भदौ २ र ३ गते नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागिएको बताएका छन्।
स्विट्जरल्यान्डको जेनेभामा सम्पन्न संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा सहभागी भई स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले अन्तर व्यवस्थापिक–सङ्घ (आइपियू) का अध्यक्षसँग आउँदो जनवरी ३० र ३१ मा एसिया प्रशान्त क्षेत्रमा जलवायुका असरहरूसँग सम्बन्धित कार्यक्रम गर्नेबारे छलफल भएको जानकारी गराए ।
उनले भने , “जलवायु परिवर्तनले पारिरहेको असरलाई लिएर नेपालको संसद्का तर्फबाट अन्तराष्ट्रिय सम्मेलन गर्न लागेकोबारे पनि सम्मेलनमा छलफल भएको छ। भदौको २ र ३ गते अन्तराष्ट्रिय सम्मेलन गर्नेछौँ ।”
सभामुख घिमिरे अन्तर व्यवस्थापिका सङ्घ र संयुक्त राष्ट्रसङ्घद्वारा संयुक्त रूपमा आयोजित संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा सहभागी हुन यही साउन ११ गते जेनेभा गएका थिए । साउन १४ देखि १७ गतेसम्म स्विट्जरल्यान्डको जेनेभामा आयोजना भएको सम्मेलनका क्रममा उनले संयुक्त अधिराज्य बेलायत, स्विट्जरल्यान्ड, माल्टा, इजरायल, भूटानलगायत मुलुकका सभामुखहरूसँग द्विपक्षीय भेटघाट गरेका थिए ।
