२०५५ सालमा आत्मसमर्पण गरेको भन्दै राजन दाहालमाथि सहिद पुत्रको प्रहार

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद राजन दाहालमाथि माओवादी जनआन्दोलनका सहिद परिवारका सन्तानले कडा प्रश्न उठाएका छन्। दाहालको माओवादी उपमहासचिव जनार्दन शर्मासँग भिड्ने हैसियत नभएको भन्दै सहिद महेन्द्र श्रेष्ठका छोरा कीर्तिक श्रेष्ठले पुरानो इतिहास स्मरण गराएका हुन्।

दाहालले शर्माको आलोचना गर्दै टिप्पणी गर्न थालेपछि सहिद पुत्रले यस्तो कटाक्ष गरेका हुन् ।  श्रेष्ठले सामाजिक सञ्जालमार्फत लेखेका छन्– ‘२०५५ साल असार २० गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा आत्मसमर्पण गरेपछि २०६३ सालसम्म आफू कहाँ थिए भनेर याद गर्नुपर्दैन ? त्यसै जनार्दन शर्मासँग भिड्न खोजेर हुन्छ ? त्यस्तो हैसियत पनि छ र ?’

श्रेष्ठका अनुसार दाहालले युद्धको कठिन समयमा भूमिगत आन्दोलन छाडेर आत्मसमर्पण गरेका थिए। त्यसैले उनी अहिले माओवादी आन्दोलनको गौरव बोकेर बोल्न नपाउने उनको तर्क छ।

सहिद महेन्द्र श्रेष्ठ माओवादी जनयुद्धको सुरुवाती चरणमा सैन्य तथा राजनीतिक नेतृत्वमा रहेर काम गरेका नेता थिए। उनी भारतको प्रशिक्षण लिएर फर्किएका केन्द्रीय प्रशिक्षित मध्येका एक थिए। उनको नेतृत्वमा उनका दाजु दीर्घराज श्रेष्ठ, गंगा श्रेष्ठ, कल्पना सुवेदी, ध्रुव देवकोटा लगायत थुप्रै नेता युद्धमा सहभागी भएका थिए।

यस्तै अर्का सहिद पुत्र प्रतीक कार्कीले पनि फेसबुकमार्फत कडा टिप्पणी गरेका छन्। उनका अनुसार, ‘एउटा तप्का माओवादी पार्टीको नेतृत्व उहाँ (प्रचण्ड) ले मात्र गर्न सक्नुहुन्छ भन्ने भ्रम फैलाइएको छ। यो पार्टी हजारौँ योद्धा र इमानदार जनताको सामूहिक प्रयासले बनेको हो।’

उनले थपेका छन्  ‘उहाँले नेतृत्व गरिरहनु कार्यकर्ताको विश्वासको कारण हो, कुनै अद्भुत क्षमता भएर हैन। अब नेतृत्वमा सबै कार्यकर्तालाई समान अवसर दिनुपर्छ। माओवादी युद्ध सरदारहरूको पार्टी हैन, यो मुक्ति योद्धाहरूको पार्टी हो।”

प्रतीकका बुबा दिलकाजी कार्कीको २०५९ साल असारमा शाही सेनाले खोटाङमा हत्या गरेका थिए। कार्कीले सहिद पुत्रको हैसियतले पार्टीभित्र नेतृत्व चयनको प्रक्रियामा इमानदारिताको माग गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *