नेपाल- भारत गृह सचिवस्तरीय बैठक : सुरक्षा र सीमा व्यवस्थापनमा एकअर्कालाई सहयोग गर्ने सहमति

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नेपाल र भारतबीच सुरक्षा र सीमा व्यवस्थापन सम्बन्धमा एकअर्कालाई सहयोग गर्ने सहमति भएको छ। भारतको नयाँ दिल्लीमा सम्पन्न द्विपक्षीय गृह सचिवस्तारीय बैठकले उक्त सहमति गरेको हो।

दुबै पक्षले द्विपक्षीय सुरक्षा सहकार्य र सीमा व्यवस्थापनका सम्पूर्ण पक्षहरूको समीक्षा गरेर यसलाई अझ सुदृढ गर्ने विषयमा सहमति जनाएको हो। उनीहरूबीच सीमा स्तम्भहरूको मर्मत र संरक्षण, सीमापार आपराधिक गतिविधिहरू, सीमा जिल्ला समन्वय समितिहरूको कार्यप्रणाली, सीमा पूर्वाधारलगायतका विषयमा छलफल भएको थियो।

विशेष गरी एकीकृत जाँच चौकी, सडक र रेलवे सञ्जालको सुदृढीकरण, सुरक्षासम्बन्धी विभिन्न संस्थाहरूको सशक्तीकरण र क्षमतावृद्धि र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सहकार्य बलियो पार्ने विषयमा छलफल केन्द्रित रहेको थियो। त्यस्तै आपराधिक मामिलामा आपसी कानुनी सहयोगसम्बन्धी सम्झौता पत्रको अन्तिम रूपलाई स्वागत गर्नुका साथै परिमार्जित प्रत्यर्पण सन्धिको चाँडो टुंगो लगाउने बैठकले सहमति गरेको थियो।

बैठकमा नेपालका तर्फबाट गृहसचिव गोकर्णमणि दुवाडी र भारतका तर्फबाट गृह सचिव गोविन्द मोहनले आ-आफ्नो टोलीको नेतृत्व गरेका थिए। अर्को बैठक नेपालमा आयोजना गरिने सहमति पनि गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *