इरानी हवाई आक्रमणबाट अमेरिकी सैन्य बेसमा क्षति, अमेरिकाले के भन्यो ?

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार

इरानी हवाई आक्रमणबाट कतारस्थित अमेरिकाको अल उदैद सैन्य एयरबेसमा ‘सामान्य क्षति’ भएको छ । अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता सीन पार्नेलले बीबीसी फारसीको भेरिफाई सेवासँग भने, “२३ जुनमा अमेरिकी र कतारी हवाई रक्षा प्रणालीले इरानी मिसाइलहरूलाई नष्ट गरेको थियो । तर, एउटा इरानी ब्यालिस्टिक मिसाइलले अल उदैद सैन्य एयरबेसलाई निशाना बनाएको थियो ।”

उनले आक्रमणबाट सैन्य बेसका उपकरणहरू र पूर्वाधारमा सामान्य क्षति पुगेको बताए । कोही पनि घाइते भने नभएको उनले प्रष्ट पारेका छन् । उनले उक्त सैन्य एयरबेस पूर्णरूपमा सञ्चालनमा रहेको बताए ।

बीबीसी फारसीको तथ्य जाँच टोलीले अल उदैद सैन्य एयरबेसमा आक्रमण हुनुअघि र पछिको स्याटेलाइट तस्बिरहरू हेरेको छ । तस्बिरहरूबाट आक्रमणबाट एन्टेना कोर नष्ट भएको स्पष्ट  देखिएको थियो । यसको वरपरका भवनहरूमा पनि क्षति पुगेको समाचारमा बताइएको छ ।

इजरायलले इरानका धेरै सैन्य र आणविक लक्ष्यहरूलाई निशाना बनाएको थियो । त्यसपछि दुवै देशहरूबीच द्वन्द्व सुरु भएको थियो । द्वन्द्वको क्रममा अमेरिका पनि यसमा संलग्न भयो र उसले इरानका तीन आणविक केन्द्रहरू फोर्दो, नतान्ज र इस्फहानमा आक्रमण गरेको थियो ।

यसको जवाफमा इरानले कतारस्थित अमेरिकाको अल उदैद सैन्य एयरबेसमा आक्रमण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *