मनसुन सक्रिय भएसँगै पृथ्वीराजमार्गको मुग्लिन–पोखरा खण्ड अत्यन्तै जोखिमपूर्ण बनेको छ । राजमार्ग स्तरोन्नतिका लागि भइरहेको कटान र लगातारको वर्षाका कारण तनहुँ खण्डका दर्जनौँ स्थानमा पहिरो खस्ने र ढुङ्गा खसिरहने जोखिम बढेको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार मुसेखोला, घाँसीकुवा, छिर्कने, देउराली, विमलनगर, ढापटार लगायतका दर्जनौँ ठाउँमा पटक–पटक पहिरो खस्ने गरेको छ । प्रहरी नायब उपरीक्षक घिमिरेले भने , ‘‘हिजो आँबुखैरेनी–२ मा लेदो पहिरो हटाएर र बिमलनगरको ढुङ्गा हटाएरु सडक सञ्चालनमा ल्याइएको थियो । मुग्लिन–पोखरा खण्डमा स्तरोन्नतिका लागि सडक खनिएकाले पानी पर्नासाथ पहिरो खसेर राजमार्ग जुनसुकै बेला अवरुद्ध हुन सक्ने अवस्था छ ।’’
विमलनगरस्थित सिद्धगुफा विकास समितिका अध्यक्ष लालकुमार श्रेष्ठले चुनपहरा क्षेत्रमा वर्षा निरन्तर भइरहेकाले पहाडबाट ढुङ्गा खस्ने जोखिम कायम नै रहेकोले सर्तक रहनु पर्ने बताए ।
राजमार्ग तथा तटीय क्षेत्रमा जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले उच्च सतर्कता अपनाउन सार्वजनिक अपिल जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले सुरक्षा निकाय, सडकसम्बन्धी कार्यालय तथा स्थानीय तहलाई ‘हाइ अलर्ट’ (उच्च सतर्क) अवस्थामा राखिएको जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी तिवारीले भने , “राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागको चेतावनी अनुसार मर्स्याङ्दी, सेती, मादी, त्रिशूली, कालीगण्डकी लगायतका नदीमा बहाव बढेको छ । सडक र नदी किनारका नागरिक विशेष सतर्क रहन जरुरी छ । यात्रुहरूले सडकको अवस्था बुझेर मात्रै यात्रा सुरु गरून्, अन्यथा अत्यावश्यक कामबाहेक यात्रा नगर्न अनुरोध गरेका छौं ।’’
प्रशासनले यात्राका क्रममा पहिरो वा विपद्को अवस्था आएमा तत्काल जिल्ला आपत्कालीन सञ्चालन केन्द्र वा नजिकको नेपाल प्रहरीको टोलीलाई सम्पर्क गर्न आग्रह गरेको छ । मुग्लिन–आँबुखैरेनी खण्डदेखि पोखरासम्मै सडक हिलाम्मे र भिरालो भएकाले यो वर्षायाम भरि पृथ्वीराजमार्गको यात्रा चुनौतीपूर्ण बन्ने देखिएको छ ।
