सर्लाहीका उखु किसानको अनुदान रकम कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मा रोकिएको छ । चिनी मिलहरुले उखु किसानको व्यक्तिगत विवरण उपलब्ध गराउन ढिलाइ गर्दा सङ्घीय सरकारले पठाएको अनुदान रकम कोलेनिकामा अड्किएको हो । सर्लाहीका उखु किसानका लागि ४१ करोड २२ लाख २१ हजार ८६९ रुपियाँ ५० पैसा अनुदान रकम निकासा भएर आएको कोलेनिकाले जनाएको छ । उक्त रकम असार १६ गते प्राप्त भएको सर्लाहीका प्रमुख कोष नियन्त्रक पदमप्रसाद पौडेलले जानकारी दिए ।
जिल्लाका तीनवटा चिनी मिलले यसअघि उपलब्ध गराएको उखु क्रसिङको एकमुष्ट विवरण अनुसार सरकारले प्रतिक्विन्टल ७० रुपियाँको दरले अनुदान रकम पठाएको हो । उखु क्रसिङ सिजन २०८२—८३ मा इन्दुशङ्कर चिनी उद्योग हरिवन, महालक्ष्मी चिनी उद्योग बगदह र अन्नपूर्ण चिनी उद्योग धनकौलले जिल्लाका १८ हजार ३५१ जना किसानबाट खरिद गरेको ५८ लाख ८८ हजार ८८३.८५ क्विन्टल उखु क्रसिङ गरेका थिए । यही असार १८ गते सदरमुकाम मलङ्गवामा तीनवटै चिनी उद्योगका प्रतिनिधिसहित उखु कृषकलाई अनुदान रकम भुक्तानी दिने समितिको बैठक बसेको थियो ।
सो बैठकमा चिनी उद्योगका प्रतिनिधिले तीन दिनभित्र आ–आफूले उखु खरिद गरेको किसानको पूरा ठेगाना खुल्नेगरी नामावली, बैङ्क खाता, खरिद गरिएको उखुको परिमाणलगायतका विवरण पठाउने सहमति जनाए पनि हिजाे मङ्गलबार अपरान्हसम्म कुनै उद्योगबाट किसानको विवरण प्राप्त नभएको प्रमुख कोष नियन्त्रक पौडेलले बताए ।
“हामी त चिनी मिलहरुको विवरण पर्खिएर बसेका छौँ” प्रमुख कोष नियन्त्रक पौडेलले भने , “मङ्गलबार बेलुकासम्म पनि विवरण प्राप्त भएन भने जिल्ला प्रशासन र विभागलाई पत्र लेख्ने तयारीमा छौँ ।”
तीन दिनभित्र किसानको विवरण दिइसक्छौँ भनेका चिनी उद्योगका प्रतिनिधिले छ दिन भइसक्दा पनि विवरण नपठाउँदा समस्या परेको प्रमुख कोष नियन्त्रक पौडेलको भनाइ छ । आर्थिक वर्षको अन्तिममा जिल्लाभरका ७० बढी कार्यालयको भुक्तानीको प्रणाली हेर्नुपर्ने र हरहिसाब समेत मिलान गर्नुपर्ने चापका बेला चिनी मिलहरुले असहयोग गरिदिँदा किसानको अनुदान रकम रोकिन पुगेको उनले बताए ।
असार मसान्तभित्र किसानको खातामा पैसा पठाउन नसके जिल्लामा निकासा भएर आइसकेको अनुदान रकम फ्रिज भएर जाने र फेरि अर्को पटक अनुदान रकम माग गर्नुपरे दुईचार महिना लाग्न सक्ने कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । जिल्लाका चिनी मिलहरुले भने अत्यन्त झन्झटिलो रहेकाले प्रत्येक किसानको विवरण पठाउन ढिलाइ हुन पुगेको बताएका छन् ।
अन्नपूर्ण चिनी उद्योग धनकौलका प्रशासकीय अधिकृत रमेश श्रीवास्तवले सकेसम्म मङ्गलबार नै किसानको विवरण पठाउने तयारीमा जुटेको बताए । उनले भने , “प्रत्येक किसानको विवरण पठाउने काम झन्झटिलो भएकाले ढिलो भएकै हो ।” इन्दुशङ्कर चिनी उद्योग हरिवनका उखु प्रवन्धक योगनारायण रजकले पनि मङ्गलबार अबेरसम्म भए पनि किसानको विवरण पठाउने तयारीमा लागिरहेको बताए । उनले दुईचार दिनभित्रै किसानको अनुदान रकम पाउने गरी सम्पूर्ण विवरण सङ्कलन गरिएको बताए ।
उखु उत्पादक महासङ्घका कार्यवाहक अध्यक्ष श्यामबाबु रायले उखुको अनुदान रकम लिन विभिन्नखाले झन्झटिला कागजात र विवरण मागेर किसानलाई हैरान पार्ने काम भइरहेको गुनासो गर्दै भने “अनेक कार्यविधि बनाएर उखु किसानलाई झन्झट दिने काम मात्र भइरहेको छ” उनले भने , “हामीलाई त कसरी हुन्छ, सजिलोसँग अनुदान पाउने व्यवस्था मिलाइयोस् ।”
सर्लाहीमा चिनी मिल आफैले किसानलाई भुक्तानी गर्नुपर्ने रकम चुक्ता गरिसकेका छैनन् । इन्दुशङ्कर चिनी उद्योग हरिवनले किसानलाई आफूले दिनुपर्ने सम्पूर्ण भुक्तानी गरे पनि महालक्ष्मी चिनी उद्योग बगदह र अन्नपूर्ण चिनी उद्योग धनकौलले चिनी बिक्री नभएको बहानाबाजी गर्दै आइरहेका छन् ।
