राजमार्ग अवरुद्ध भए तत्काल खुलाइने

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

मनसुन सक्रिय भएसँगै सडक विभागले नागढुङ्गा–मुग्लिङ सडकखण्डमा पहिरो र बाढीको जोखिमलाई ध्यानमा राख्दै ‘मनसुन पूर्वतयारी कार्ययोजना, २०८३’ (एक्सन प्लान) लागु गरेको छ । यस कार्ययोजना अन्तर्गत सडक ठप्प भएमा तत्काल खुलाउन र यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गराउन स्पष्ट खाका तयार पारिएको छ ।

सङ्घीय राजधानीको जीवनरेखा (लाइफलाइन) मानिने पृथ्वी राजमार्ग वर्षायाममा अवरुद्ध हुने जोखिमलाई ध्यानमा राख्दै सरकारले विशेष पूर्वतयारी कार्ययोजना लागु गरेको हो । नागढुङ्गा–मुग्लिङ सडकखण्ड अहिले विस्तारक्रममा रहेका कारण पनि मनसुन सक्रिय भएसँगै यो खण्डमा विगत वर्षको भन्दा जोखिम बढी देखिएको छ । सडक बन्द भएको अवस्थामा गन्तव्य अनुसार विभिन्न वैकल्पिक मार्गसमेत तोकिएको कार्ययोजनामा उल्लेख छ ।

सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता ई. श्यामबहादुर खड्काले वर्षायाम सुरु भएसँगै पहिरो र बाढीका कारण मुलुकभरका सडक तथा राजमार्ग अवरुद्ध हुने जोखिम बढेको बताउँदै सङ्घीय राजधानी काठमाडौँलाई मुलुकको अन्य भागसँग जोड्ने मुख्य मार्गका रूपमा रहेको नागढुङ्गा–मुग्लिङ सडकखण्डमा पहिरो र बाढीको जोखिमलाई ध्यानमा राख्दै ‘मनसुन पूर्वतयारी कार्ययोजना’ (एक्सन प्लान) लागु गरिएको जानकारी दिए  ।

विभागले विगतका विपत्का घटना तथा अहिलेको अवस्था अध्ययन गरी सो कार्ययोजना तयार गरिएको बताउँदै उनले कार्ययोजनामा राजमार्गका उच्च जोखिमयुक्त स्थान (रेड जोन) पहिचान गरिएको छ । अवरुद्ध सडक तत्काल सुचारु गर्न प्राविधिक, उपकरण र वैकल्पिक मार्ग व्यवस्थापन समेत गरिने उनले जानकारी दिए  ।

त्यसै गरी अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन पहिरो हटाउने, सडकै बगाएको अवस्थामा भित्तो काटी ट्र्याक खुलाउने, सडक भासिएको अवस्थामा टेवा पर्खाल निर्माण गर्नेलगायतका काम गरी सडक सञ्चालन गर्ने कार्ययोजनामा उल्लेख गरिएको छ ।

त्यसै गरी राजमार्ग तथा सडक अवरुद्धको सूचना सङ्कलन, अवरुद्ध राजमार्गको तथ्याङ्क सङ्कलन, आवश्यक जनशक्ति तथा उपकरण परिचालन गर्ने गरी कार्ययोजना निर्माण गरिएको हो ।

त्यसै गरी कार्ययोजनामा जनशक्ति व्यवस्थापन, यान्त्रिक उपकरण खरिद तथा मर्मत, आकस्मिक बजेट व्यवस्थापन गरिएको छ भने सडक विभागमातहतका कार्यालय र सडक डिभिजनले आवश्यक उपकरण तयारी अवस्थामा राखेको खड्काले बताए ।

सरकारी प्रतिकार्य र तयारी 

सडक विभागका सिनियर डिभिजन इन्जिनियर राजमार्ग अवरुद्ध भएमा द्रुत टोली (र्यापिड रेस्पोन्स टिम) सडक अवरुद्ध हुनेबित्तिकै पहिरो पन्छाउन चार वटा खण्डमा चौबिसै घण्टा मेसिन र जनशक्ति तैनाथ गरिएको छ । उनले भने  “पृथ्वी राजमार्गको नागढुङ्गादेखि मुग्लिङसम्म विस्तार तथा स्तरोन्तिका लागि तीन वटा ठेक्का अहिले चालु अवस्थामा रहेका छन् । पहिरो वा अरू कुनै कारण राजमार्गको यो खण्ड अवरुद्ध भएको अवस्थामा सञ्चालनमा ल्याउनका लागि काम गरिरहेका निर्माण व्यवसायीलाई नै जिम्मेवारी दिइसकिएको छ । त्यस अनुसार निर्माण व्यवसायीलाई निर्देशन भइसकेको छ ।

राजमार्ग अवरोध भएको अवस्थामा नागढुङ्गा, बैरेनी, कुरिनटार र मुग्लिङलगायत सम्भावित जोखिम क्षेत्र नजिकै जनशक्ति तथा एक्साभेटर, लोडर र टिप्पर तयारी अवस्थामा राखिएका छन् । सडक अवरुद्ध भएमा तत्काल खुलाउनका लागि नौबिसे, सत्किला क्रसर प्लान्ट, १२ किलो क्रसर, एक्लेफाँट, घाटबेँसी र बेल्खु प्लान्ट क्षेत्रमा ब्याकहो लोडर, एक्साभेटर, ट्रिप ट्रकसहितका हेभी इक्विपमेन्ट र अपरेटरलगायतका उपकरण तथा जनशक्ति तयारी अवस्थामा राखिएको छ  ।

आकस्मिक अवस्थामा यात्रु र स्थानीयले सिधै सम्पर्क गर्न सकून् भनेर आयोजनाले आवासीय इन्जिनियर र मेसिन अपरेटरको फोन नम्बरसहितको बुलेटिन जारी गरिएको र  यात्रामा निस्कनअगाडि आधिकारिक निकाय वा ट्राफिक प्रहरीको सूचना जाँच गरेर मात्र आफ्नो यात्रा तय गर्न सडक विभागले अनुरोध गरेको छ ।

नौ स्थान ‘रेड जोन’ 

पहिरो र बाढीको जोखिमलाई ध्यानमा राख्दै नागढुङ्गा–नौबिसेखण्डको नौ स्थानलाई अति जोखिमयुक्त (रेड जोन) तोकिएको छ । सडक विभागले गरेको अध्ययनका आधारमा पृथ्वी राजमार्गको नागढुङ्गा–नौबिसेखण्डको झ्याप्लेखोला, खत्रीपौवा र सिक्रेखोलालाई अति जोखिमयुक्त (रेड जोन) तोकिएको छ । त्यसै गरी नौबिसे–मलेखुखण्डको चार किलो, सात किलो, नौ किलो, १३ किलो (कोइराले भिर), मछेडीखोला र घाटबेँसी क्षेत्रलाई ‘रेड जोन’ तोकिएको छ ।

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

बाढीपहिरोले नागढुङ्गा–मुग्लिङ सडकखण्ड अवरुद्ध भएका वैकल्पिक मार्ग प्रयोग गर्न कार्ययोजनामा सुझाइएको छ । जस अनुसार नागढुङ्गा–नौबिसेखण्ड अवरुद्ध भएमा सीतापाइला–रामकोट–धार्के सडक प्रयोग गर्न आग्रह गरिएको छ । काठमाडौँबाट बाहिरिने साना तथा मझौला सवारीसाधन यो मार्ग हुँदै गल्छीसम्म पुग्न सक्ने छन् ।

त्यसै गरी टोखा–छहरे–त्रिशूली सडकखण्डलाई वैकल्पिक बाटोका रूपमा प्रयोग गर्न सुझाइएको छ । यो बाटो प्रयोग गरेर गल्छी वा मलेखु निस्कन सकिने छ । नौबिसे–गल्छीखण्ड अवरुद्ध भएमा त्रिभुवन राजपथ (पालुङ–दामन मार्ग) प्रयोग गर्न आग्रह गरिएको छ । यो बाटो प्रयोग गरी काठमाडौँबाट नागढुङ्गा–नौबिसे हुँदै पालुङ र दामनको बाटो प्रयोग गरेर हेटौँडा पुग्न सकिन्छ ।

काठमाडौँबाट पूर्व र दक्षिणतर्फ जाने यात्रुका लागि कान्ति लोकपथ वा फर्पिङ–दक्षिणकाली मार्ग अपनाउन कार्ययोजनामा उल्लेख गरिएको छ । काठमाडौँबाट दक्षिणकाली–छैमले–सिस्नेरी–कुलेखानी हुँदै वा काठमाडौँबाट फर्पिङ–हुमाने–फाखेल हुँदै कुलेखानी भएर हेटौँडा पुग्ने मार्ग खुला रहने जनाइएको छ । काठमाडौँबाट बिपी राजमार्ग भएर धुलिखेल हुँदै मुलुकको पूर्वी–दक्षिणी भागको गन्तव्य तय गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *