नक्कली भुटानी शरणार्थी प्रकरण : सोमबारदेखि प्रतिवादीका वकिलले बहस गर्ने

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नक्कली भुटानी शरणार्थी मुद्दामा अब सोमबार प्रतिवादीका कानुन व्यवसायीले बहस गर्ने भएका छन्।शुक्रबार जाहेरवालाका तर्फबाट बहस सकिएपछि हेर्दाहेर्दैमा राखेर सुनुवाइ गर्ने गरी इजलास स्थगित भएको हो।

बुधबारदेखि सुनुवाइ सुरु भएकोमा बिहीबार सरकारी वकिलले वादीका तर्फबाट बहस गरेका थिए। शुक्रबार भने जाहेरवालाका तर्फबाट न्यायाधीश तेजबहादुर खड्काको इजलासमा बहस भएको हो। जाहेरवालाहरूका तर्फबाट बहस भएपछि न्यायाधीशले अन्य कोही बाँकी रहे–नरहेको जानकारी मागेका थिए । कोही नआएपछि सोमबारबाट प्रतिवादीका तर्फबाट बहस सुरु हुने गरी इजलास आजका लागि स्थगित भएको आदेश आएको थियो ।

जाहेरवाला गजेन्द्र बुढाथोकी, प्रेमराज पन्थी र सुमन दाहालका तर्फबाट अधिवक्ता हरि ढकालले बहस गरेका थिए । यसैगरी, लक्ष्मण ढकाल, विष्णुप्रसाद खनाल, हरिप्रसाद कट्टेल, निकेश धिताल र युवराज कोइरालालगायतले शुक्रबार बहस गरे। उनीहरूले रामकुमार रेग्मी, पन्थी तथा बुढाथोकीलगायतका तर्फबाट बहस गरेका थिए ।

यसैगरी, अधिवक्ता भद्रप्रसाद नेपालले पनि जाहेरवालाका तर्फबाट बहस गरेका थिए । उनले जाहेरवालाहरूलाई मन्त्रीबाटै आश्वासन आएका कारण पत्याई ठगीमा परेको बताएका थिए।  ‘मन्त्री स्वयंले भनेपछि नपत्याउने कसरी ? त्यसैले यो संगठित अपराध हो,’ उनले भने । राज्यविरुद्धको कसुर पनि यसमा आकर्षित तथा पुष्टि हुने उनको भनाइ थियो । यद्यपि, यो अभियोग कागजीभन्दा पनि भावनात्मक विषय भएको उनले इजलाससामु बताए ।

नेपालले अभियोगपत्रका विषय देखाउँदै भने, ‘नियन्त्रणमा लिइसकेपछि फोनको डाटा मेटाइएको छ श्रीमान् । अरू सबैलाई हतकडी र थुनुवाको ज्याकेट लगाइएको छ । तर, नेतालाई लगाइएन । यसबाट अदालतको जनआस्था खस्केको छ । हतकडी नलगाएकै कारण प्रमाण नष्ट गर्ने मौका पाएका छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *