भारतीय विदेश सचिवको भ्रमण आपसी समझदारीमा तय हुन्छ: भारतीय विदेश मन्त्रालय

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

भारत र नेपालबिचको गहिरो र बहु आयामिक साझेदारीलाई जोड दिँदै भारतीय विदेश मन्त्रालयले विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमणको निम्तो प्राप्त भएको जनाएको छ । मन्त्रालयले भ्रमणको मिति दुवै देशको आपसी समझदारीमा तय गरिने स्पष्ट पारेको छ ।

मंगलबार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालमा बालेन शाह प्रधानमन्त्री बनेपछि दुई छिमेकीबीचको कूटनीतिक सम्बन्धले गति लिएको बताए । उनले दुवै देश विद्यमान बलियो सम्बन्धलाई थप प्रगाढ बनाउन मिलेर काम गरिरहेको उल्लेख गरे ।

नेपाली सञ्चारमाध्यममा प्रधानमन्त्रीले विदेशी कूटनीतिज्ञसँग भेट्न अनिच्छा देखाउँदा विदेश सचिव मिश्रीको भ्रमण रोकिएको भन्ने समाचारबारे सोधिएको प्रश्नमा प्रवक्ता जैसवालले द्विपक्षीय सम्बन्ध सकारात्मक दिशामै रहेको बताए । उनले भने, ‘नेपालसँग हाम्रो बहु आयामिक साझेदारी छ । चुनावपछि हाम्रा प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्रीलाई बधाई दिनुका साथै फोनमा कुराकानी गर्दै भारत–नेपालको बलियो मित्रता र परम्परागत सम्बन्धलाई अझ उचाइमा पुऱ्याउने हाम्रो दृढ प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।’

प्रवक्ता जैसवालले हालै मरिससमा भारतीय विदेशमन्त्री एस जयशंकर र उनका नेपाली समकक्षी शिशिर खनालबिच भएको सफल द्विपक्षीय भेटवार्ताको पनि स्मरण गरे ।

उनले थपे, ‘अहिले विभिन्न तहमा दुवै पक्ष हाम्रो साझेदारीलाई थप गहिरो बनाउन निकटमा रहेर काम गरिरहेका छन् । हामीले विदेश सचिवको भ्रमणका लागि नेपाली पक्षबाट निमन्त्रणा पाएका छौँ । भ्रमणको मिति आपसी समझदारीमा तय हुनेछ र यसबारे हामी तपाईँहरूलाई जानकारी गराउनेछौँ ।’

कैलाश मानसरोवर यात्राको सन्दर्भमा भारतले आफ्नो अडान पारदर्शी र ऐतिहासिक तथ्यमा आधारित रहेको बताएको छ । मन्त्रालयले यसअघि नै लिपुलेक पास सन् १९५४ देखि नै कैलाश मानसरोवर यात्राको पुरानो मार्ग रहिआएको र यो कुनै नयाँ विकास नभएको स्पष्ट पारिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *