अफगानिस्तानका एक १३ वर्षीय किशोर विमानको ल्यान्डिङ गियरमा लुकेर भारतको राजधानी दिल्ली पुगेका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार, दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा सोधपुछ गरेपछि, उनलाई सोही उडानमा अफगानिस्तान फिर्ता पठाइएको हो ।
दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा काम एयरलाइन्सको उडान (उडान नम्बर आरक्यू-४४०१) का चालक दलले विमान नजिकै एक किशोर हिंडिरहेको देखे । उनीहरूले तुरुन्तै विमानस्थलमा तैनाथ सीआईएसएफ सुरक्षाकर्मीहरूलाई सचेत गराए । सुरक्षाकर्मीहरूले उनलाई सोधपुछको लागि टर्मिनल ३ मा लगे ।
पीटीआईका अनुसार, सोधपुछको क्रममा, ती किशोर अफगानिस्तानको कुन्दुज प्रान्तको बासिन्दा भएको खुलासा भयो। उनले अनुसन्धानकर्ताहरूलाई काबुल विमानस्थलमा लुकेर विमानको पछाडिको डिब्बामा पुग्न सफल भएको बताए । अनुसन्धानको क्रममा काबुल एयरलाइन्सका सुरक्षा अधिकारीहरूले ल्यान्डिङ गियर डिब्बामा एउटा सानो रातो स्पिकर फेला पारेका छन् । यो सम्भवतः उनले नै ल्याएको हुन सक्ने समाचारमा उल्लेख छ।
अनुसन्धानपछि, विमान सुरक्षित घोषित गरियो र कुनै तोडफोडको षड्यन्त्र नभएको निश्चित भयो । उनको पूर्ण पहिचान र नाम अझै खुलाइएको छैन। अफगानिस्तानको तालिबान सरकारले अहिलेसम्म समाचारमा आधिकारिक रूपमा टिप्पणी गरेको छैन । विमानमा किशोरको पहुँचले काबुल विमानस्थलमा सुरक्षा उपायहरूमाथि प्रश्न उठाएको छ । उनी बाँचेर दिल्ली पुग्नुलाई पनि चमत्कारिक मानिएको छ । अक्सिजनको अभाव र अत्यधिक चिसोका कारण यति उच्च उचाइमा बाँच्न लगभग असम्भव हुन्छ ।
यो पहिलोपटक होइन कि कोही विमानमा लुकेर आफ्नो गन्तव्यमा पुगेको हो । तर यो सम्भवतः विमानको यस भागमा लुकेर बसेको पहिलो घटना भएकव बीबीसीले जनाएको छ ।
