बंगलादेशमा विमान स्कुलमा ठोक्किँदा १९ जनाको मृत्यु, १६४ जना घाइते

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

बंगलादेशको राजधानी ढाकामा  विमान स्कुलमा ठोक्किँदा १९ जनाको मृत्यु भएको छ भने कम्तीमा १६४ जना घाइते भएका छन्। बंगलादेश वायुसेनाको F-7 BGI प्रकारको प्रशिक्षण विमान ढाकाको दियाबारी क्षेत्रमा रहेको माइलस्टोन स्कुलको भवनमा ठोक्किएको हो।

बीबीसी बंगलाका अनुसार बंगलादेश अग्नि सेवा तथा नागरिक सुरक्षा विभागका महानिर्देशक ब्रिगेडियर जनरल मुहम्मद जाहेद कमालले दुर्घटनामा ठूलो जनधनको क्षति भएको पुष्टि गरेका छन्। उनका अनुसार घाइतेहरूको अवस्था गम्भीर छ र उनीहरूलाई विभिन्न अस्पतालहरूमा उपचारका लागि भर्ना गरिएको छ, जसमा राष्ट्रिय बर्न एण्ड प्लास्टिक सर्जरी संस्थान, कुर्मिटोला अस्पताल, ढाका मेडिकल कलेज, संयुक्त सैन्य अस्पताल र उत्तरा मोडर्न अस्पताल समावेश छन्।

विद्यालयमै ठोक्कियो विमान

माइलस्टोन कलेजका लेक्चरर रेजाउल इस्लामले बीबीसी बंगलासँगको कुराकानीमा भनेका छन् , “बिदा सकिन लागेको बेलामा अचानक एउटा लडाकु विमान सिधै विद्यालय भवनमा ठोक्कियो। यसले नर्सरी र जुनियर सेक्सनका कक्षाहरूमा ठुलो क्षति पुर्‍यायो। विद्यालयको गेट पूर्ण रूपमा ध्वस्त भयो र आगो समेत लाग्यो।”

विमान सोमबार दिउँसो १:०६ बजे उडेको अन्तर-सेवा जनसम्पर्क विभाग (ISPR) को विज्ञप्तिमा जनाइएको छ। उडान भरेको केही समयपछि विमानले नियन्त्रण गुमाउँदै जमिनमा ठोक्किएको पुष्टि गरिएको छ। घटनास्थलमा तत्कालै अग्नि नियन्त्रक सेवाका ९ वटा युनिट परिचालन गरी उद्धार तथा आगो नियन्त्रणको कार्यमा खटाइएको थियो।

राष्ट्रिय शोक घोषणा

दुर्घटनापछि बंगलादेश सरकारले आज मंगलबारलाई राष्ट्रिय शोक दिवसको रूपमा घोषणा गरेको छ। यस दिन सबै सरकारी, अर्ध–सरकारी, स्वायत्त निकाय र शैक्षिक संस्थाहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।

बंगलादेश सरकारका कानुनी सल्लाहकार प्राध्यापक आसिफ नजरुलले भने, “हामी यो घटनाबाट गहिरो दुखित छौं। शोकको घोषणा गरिसकेका छौं र अब  विमान दुर्घटना कसरी भयो भन्ने गम्भीर अनुसन्धान अघि बढाइनेछ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *