इरान र इजरायल किन युद्धमा होमिए ?

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

गत शुक्रबारदेखि सुरु भएको इरान-इजरायल युद्ध तत्काल शान्त हुने देखिन्न । बरु दुवै देशले एक अर्काविरुद्ध मिसाइल आक्रमण जारी राखेका छन् । अनि युद्धको यो नयाँ स्वरुपले विश्वभर आर्थिक र राजनीतिक संकट थप चुलिने चिन्ता बढेको छ ।

गाजा क्षेत्रको हमास विद्रोही, लेबनानको हिजबुल्लाह र यमनको हुथी विद्रोहीहरू लडिरहेको इजरायल फेरि नयाँ युद्धमा होमिएको छ । अहिले एक अर्काको अस्तित्व सिध्याउन आमने सामने भएका इरान र इजरायल कुनै समय पश्चिम एसियामा सबैभन्दा नजिकका मित्र थिए । कतिसम्म भने इजरायललाई छुट्टै राष्ट्रको मान्यता दिने इरान दोस्रो मुलुक हो । तर सन् १९७९ मा इरानमा आन्दोलनपछि नयाँ व्यवस्था आयो । योसँगै दुई देशबीचको सम्बन्धमा दरार सुरु भयो ।

सन् १९७९ अघि इरानमा पहल्भी शाह राजाहरूको शासन थियो । त्यसबेला अमेरिका र शाह राजाहरूबीच पनि राम्रो सम्बन्ध थियो । इजरायलले इरानलाई प्रविधिलगायतका क्षेत्रमा सहयोग गर्थ्यो भने इरानले इजरायलमा इन्धन पठाउँथ्यो । सन् १९७८–७९ को इरानामा राजा हटाउने आन्दोलन सुरु भयो । राजसंस्थाको अन्त्यसँगै आयतोल्लाह रुहोल्लाह खोमेनीको नेतृत्वमा इरान गणतन्त्र आयो । खोमेनीले मुस्लिम धर्मलाई केन्द्रमा राखेर शासन व्यवस्था अघि बढाए । यसपछि इरानको इजरायलसँगको तनाव सुरु हुँदै गयो । त्यसपछि खोमेनी नेतृत्वको इरान र अमेरिकाबीचको सम्बन्ध पनि राम्रो भएन । इजरायल र अमेरिका घनिष्ठ साथी भएकै कारण इरान र इजरायल दुस्मन बन्न पुगे । सन् २०२० मा इराकको राजधानी बग्दादमा इरानका मेजर जर्नेल कासिम सुलेमानीलाई अमेरिकाले ड्रोन आक्रमण गरेर मारेपछि पश्चिम एसियामा लगातार रूपमा अमेरिकी खेमा र इरानी खेमाबीचको द्वन्द्व जारी छ।

यसअघि इरानी नेताहरूले सार्वजनिकरूपमै इजरायललाई विश्व मानचित्रबाट नामेट पार्ने धारणा राख्दै आएका थिए । यस्तो भनाइलाई इजरायली पक्षाहरुले आफूहरुमाथि आक्रमण हुनसक्ने र त्यसैका निम्ती इरानले आणविक बम बनाउन काम गरिरहेको बताउँदै आएका थिए । इरानले पछिल्लो समय नातान्जमा ठूलो परिणाममा युरेनियम प्रशोधन गर्दै आएको थियो । यसले पनि इजरायललाई झस्काएको थियो ।

इजरायल र इरानबीच यसअघि पनि स–साना द्वन्द्व नभएका होइनन् । गत अक्टोबरमा इजरायलले साइबर आक्रमण गरेर इरानको हवाई रक्षा प्रणाली क्षतिग्रस्त बनाएको थियो ।

२०८१ को वैशाखमा इरानले इजरायलमाथि तीन सयभन्दा बढी ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको थियो । दुई देशबीच यस्ता स–साना द्वन्द्वका घटना कैयन् पटक भइसकेका थिए । अहिले भने यी दुईबीच अहिलेसम्मकै ठूलो द्वन्द्व सुरु भयो ।

कसको शक्ति कति छ ?

इजरायल र इरानको भूमि एकअर्कासँग जोडिएको छैन । तर यी दुई देश मिसायल आक्रमणबाट एक अर्काविरुद्ध खनिएका छन् । युद्धका सन्दर्भमा प्राविधिक र स्रोतसाधनका हिसाबले इजरायल बलियो देखिन्छ । मानव जनशक्ति र क्षेत्रीय प्रभावसँगै मुस्लिम धार्मिक भावनाका दृष्टिले इरान बलियो छ । इजरायलसँग अहिले १ लाख ७० हजार कार्यरत र ४ लाख ६५ हजार रिजर्भ सैन्यशक्ति छ । इरानसँग भने कार्यरत र रिजर्भ गरेर झन्डै १० लाख सैनिक रहेको आकलन छ ।

इजरायलसँग २ सय ४० लडाकु विमान, ६०० युद्धविमान र एफ–३५ जस्ता अत्याधुनिक लडाकु विमान रहेको मानिन्छ । शक्तिशाली आइरन डोम, अन्य मिसाइल डिफेन्स, आर्टिफिसियल इन्टेलिजेन्ससहितका हातहतियार र प्रविधिले इजरायल भरिभराउ छ । उसँग १३ सयभन्दा बढी ट्यांक र लगभग ४० हजार सैन्यवाहन छन् ।

इरानसँग ५५१ विमान, १ हजार ७ सय १३ ट्यांक र झन्डै ६२ हजार सैन्यवाहन रहेको अलजजिराले उल्लेख गरेको छ । इरानसँग २५ सबमरिन र ७ फ्रिगेट १०७ भन्दा बढी जल सैन्यवाहन रहेका छन् । इजरायलसँग जलसैन्यवाहनको संख्या ५ सबमरिन र ७ कर्भेटसहित ६२ छ । तर युद्ध भइहाले दुई देशमा मात्र सीमित रहने अवस्था छैन किनभने अमेरिका, बेलायत र युरोपेली देशहरूले खुलारूपमा इजरायलको समर्थन गर्दै आएका छन् ।

एकअर्काको अस्तित्व सिध्याउन अघि बढेका इजरायल र इरानबीचको द्वन्द्व कहिले र कसरी सकिन्छ यसै भन्न सकिन्न । तर यतिचाहिँ भन्न सकिन्छ यी दुई देशबीचको द्वन्द्वले सिंगो विश्वलाई असुरक्षित महसुस गराएको छ । अ.एजेन्सीहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *