इलामकाे बढ्दाे पर्यटन ब्यवसाय

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

कोशी भ्रमण वर्ष २०८२ सुरु भइसकेको छ । पहाडकी रानी उपनामले परिचित इलामको प्रकृति र संस्कृतिबीचको संगम नै पर्यटन विकास र व्यवसायको मुख्य आधार मानिन्छ । यहाँ पर्यापर्यटन, कृषि–पर्यटन, चिया पर्यटन, धार्मिक–सांस्कृतिक पर्यटन र मनोरञ्जनलगायतका पर्यटनको सम्भावना पाइन्छ । धेरैले इलामलाई स्वर्गको उपमा दिन्छन् । कसैले ‘नकुँदिएको हीरा’ ‘अ’ नै ‘अ’को जिल्लासमेत भन्ने गरेका छन् । इलाममा एउटा मात्र होइन, यहाँ धेरैवटा पर्यटकीय स्थल छन् । प्राकृतिक रूपमा सुन्दर यहाँका ठाउँहरू मन नपराउने को होलान् र ? जिल्लाका पर्यटकीय गन्तव्यहरूको स्याहार पुग्न सकेको छैन । सिँगार्नसके पर्यटकीय हिसाबमा इलाम अब्बल गन्तव्यका रूपमा चिनिन सक्ने विज्ञहरू बताउँछन् ।

प्राकृतिक सौन्दर्य, भौगोलिक विविधता, अनुकूल हावापानी, जैविक विविधताको प्रचुरता र विभिन्न जनजातिहरूको मौलिक संस्कृतिको अवलोकन गर्न पर्यटकहरू बर्सेनि इलाम आउने गर्छन् । नेपाल भारत सिमानाको सिंहलीला पर्वत शृंखला र महाभारत पर्वत शृंखला तथा त्यहाँबाट उत्पन्न नदी, ढपक्क चियाले ढाकेका डाँडाहरू, विश्वमै दुर्लभ एवं लोपोन्मुख जीव र वनस्पतिहरू, मिहिनेति किसानहरूले गरेको कृषि र पशुपालनले आन्तरिक र बाह्य आगन्तुकको मन लोभ्याउने गरेको छ । इलाममा पर्यटन पूर्वाधारको विकास भइरहे पनि प्रचारप्रसार नहुँदा ती क्षेत्र ओझेलमा परेका छन् । इलाम भ्रमणका लागि आउने अधिकांश पर्यटक कहाँकहाँ घुम्ने भन्नेमा अझै पनि अलमल हुने गरेको पाइन्छ ।

अग्र्यानिक चिया, ओलन, अकबरे खुर्सानी, अम्लिसो, अलैंची, आलुलगायतका नगदे बाली उत्पादनमा उत्कृष्ट भूमिका रूपमा समेत इलाम चिनिन्छ । चियाको जिल्ला भनेर चिनिने इलाम अन्य थुप्रै कुरामा अगाडि छ । इलामको पहिचान नेपालमै पहिलो चिया बगानसँगै क्षणभरमै बादल र घाममा लुकिरहने डाँडाहरू मात्र होइनन्, यहाँको भौगोलिक बनोट, नगदे बाली अनि यसले सुधारिएको जीवनशैली, जैविक विविधता, धार्मिक क्षेत्र, जातीय संस्कृति, दृश्यावलोकन, तालतलैया, पशु चौपाया, सिमसार क्षेत्र र झुल्के घामलगायतले पनि इलाम भित्रिने आगन्तुकलाई स्वर्गको आभास तुल्याउँछ ।

झापाको चारआलीबाट अघि बढेपछि इलामको जोर कलशदेखि पहाडको घुमाउरो बाटो सुरु हुन्छ । यात्रामा भेटिने पाथीभरा मन्दिर दर्शनपछि कन्यामको चिसो हावा अनि छिनमै कुइरोमा लुकामारी गर्दै अघि बढेपछि आउने छिपिटार त्यहीँबाट छुट्छ अन्तु । लोकमार्गकै यात्रामा भेटिने फिकल बजार जहाँबाट पशुपतिनगर जान सकिन्छ भने लोकमार्गबाटै अघि बढ्दा इलाम सदरमुकाम पुगिन्छ । चारआलीबाट ३ देखि साढे ३ घण्टामा इलाम सदरमुकाम आएपछि बजार नजिकै छ, ऐतिहासिक चिया कारखाना र चिया बगान अनि बजारमै पर्छ, निसान राखिएको मन्दिर माईस्थान । इलाम बजार वरिपरि निकै पर्यटकीय स्थलहरू रहेका छन् । सेतीदेवी, भालुढुंगा, नारायणथान, लबडाँडा अनि इलाम बजार हेर्ने भ्यु टावर ।

यति मात्रै होइन इलाम बजार आइसकेपछि नजिकै पर्छ माइपोखरी । रामसार सूचीमा सूचीकृत माइपोखरी धार्मिक र जैविक विविधताको धनी छ । माइपोखरी पुगेपछि नेपालको घुम्नैपर्ने ठाउँमा अवस्थित पर्यटकीय स्थल सन्दकपुरसमेत पुग्न सकिन्छ । कच्ची सडकको यात्रामा पुगिने सन्दकपुर विदेशी पर्यटकहरूको आकर्षणका रूपमा रहेको छ । जैविक विविधता र प्रकृतिले भरिएको छिन्टापु इलामको माइमझुवा र पाँचथर जिल्लाको सीमा क्षेत्रमा रहेको छ ।

फागुन, चैत र वैशाखमा यस स्थान विभिन्न किसिमका गुराँसका फूलले रमणीय बन्ने गरेको छ । छिनछिनमा फेरिने मौसम र चिसो बतासले पर्यटकलाई रोमाञ्चित पार्ने गरेको छ । कञ्चनजंघा, सगरमाथालगायतका नेपाल, भारत र भुटानका हिमाल शृंखला आँखैअगाडि देख्न सकिन्छ । लालीगुराँसको घना जंगल, भौगोलिक बनावटको अवलोकन आदि छिन्टापुमा जस्तो अन्य स्थानमा पाउन सायदै गाह्रो पर्ला ।

त्यस्तै, इलाम बजारबाट नजिकै रहेको पाटेनागी र पानीटार पर्यटकीय आकर्षणको केन्द्रबिन्दु नै रहेको छ । त्यसको नजिकै पर्छ सिद्धिथुम्का । जहाँ सूर्योदय र सूर्यास्त हेर्न पर्यटकहरूको भीड लाग्ने गर्छ । पानीटार, सिद्धिथुम्काको यात्रापछि इलामको पश्चिमी क्षेत्रको मंगल’bout बजार पुगेपछि थोरै यात्रामा पुग्न सकिन्छ, गजुरमुखी । गजुरमुखी धार्मिक पर्यटनका रूपमा परिचित छ भने बोली नआउने बच्चालाई दर्शन गराएपछि बोली आउने किंवदन्ती रहेको छ । त्यहाँ पुगेपछि उत्तरतर्फ रहेको फाकफोकथुम गाउँपालिका जहाँ सन्त ज्ञान दिलदासको जन्मभूमिसमेत रहेको छ ।

अन्तरजातीय विवाह गर्न पाउनुपर्छ भनेर आन्दोलन उठाएका ज्ञान दिलदास त्यहाँ छोडेर गई भारतमा गएर बसे पनि उनले पानी खाएका जोर धारा र उनी बस्ने गुफा अहिले पनि छन् । त्यससँगै महाभारत पर्वत शृंखला, अनि पाँच पाण्डव वनवास बस्दा पानी खाएको ठाउँ पाण्डव धारा र खाना खान प्रयोग गरिएको ओखल अहिले पनि देख्न पाइन्छ । त्यहाँबाट पश्चिमतर्फ इलाम पाँचथर सिमानाको रवि बजारबाट झापाको दमकको यात्रामा भेटिन्छ माङमालुङ । सोही ठाउँमा पर्छ एउटै औंलाले हल्लाउन सकिने बडेमानको ढुंगा । यससँगै जिल्लामा धेरै पर्यटकीय गन्तव्यहरू रहेका छन् । कतिपय पर्यटकीय क्षेत्र अझै पनि प्रचार–प्रसारको अभावमा ओझेलमा छन् भने कतिपय ठाउँ विकासको प्रतीक्षामा रहेका छन् । सो पर्यटकीय स्थलहरूको विकासका लागि कोशी भ्रमण वर्षले थप टेवा पु¥याउने आशा इलामवासीको रहेको छ ।

यस वर्ष १६ लाख पर्यटक भित्याउने योजनासहित ‘रमणीय कोशी’ भन्ने नाराका साथ कोशी भ्रमण वर्ष घोषणा भइसकेको छ । कोशीमै पहिलो पाइला टेक्ने विदेशीको संख्या ६० देखि ६५ हजारको हाराहारीमा हुने अनुमानसहित कोशी प्रदेशले यस वर्षलाई भ्रमण वर्षका रूपमा हेरेको छ । भारतलगायतका देशबाट वार्षिक ५ लाखभन्दा बढी पर्यटक नियमित आउने गरेको सरकारको अनुमान छ । कोशी प्रदेशमा विभिन्न चारवटा पदमार्ग निर्माण भइरहेका छन् । मुन्धुम पदमार्ग, लालीगुराँस पदमार्ग, फाल्गुनन्द पदमार्ग र चियाबारी पदमार्ग निर्माणका लागि सम्झौता भइसकेको छ । यस पदमार्गको निर्माणपछि कोशी प्रदेशको पर्यटनलाई ठूलो सहयोग पुग्ने प्रदेश सरकारको अपेक्षा छ ।

इलामको विकासमा कृषि पर्यटन
समग्रमा इलामको विकासमा कृषि पर्यटनको महत्वपूर्ण योगदान छ । इलाम अन्य स्थानभन्दा पर्यटनको पूर्वाधार छुट्टै किसिमको छ । आन्तरिक पर्यटनका लागि इलामले अलग पहिचान कमाएको छ । इलाम भनेकै कृषि र चिया पर्यटन हो । उसो त ओलन अर्थात् दूध, अदुवा, कुचो बनाउने अम्रिसो र आलु पनि इलामका मुख्य नगदेबाली हुन् । चिज बनाउने कम्पनी, डेरी उद्योगहरू, दूध चिस्यान केन्द्र, गाईपालनजस्ता कृषिजन्य पेसाले इलामलाई समृद्ध बनाएको छ । खोल्साहरूसमेत मूल्यवान् अलैंची र स्कुसका बोटले ढाकिएका छन् ।
कृषि पर्यटन इलामवासीको आर्थिक स्तर उकास्ने आधारस्तम्भ नै बनेको छ भन्दा फरक मत हुँदैन ।

कोशी प्रदेशको लगानीमा ‘टी–टेस्टिङ सेन्टर’
चियाको राजधानीका रूपमा परिचित इलामको कन्याममा ‘टी–टेस्टिङ सेन्टर’ निर्माण भएको छ । मुलुकमै पहिलोपटक इलामको कन्याममा टी–टेस्टिङ तथा अनुसन्धान केन्द्र निर्माण भएको हो । विदेशी चिया पारखीलाई लक्षित गरी सूर्योदय नगरपालिका र कोशी प्रदेश सरकारको १३ करोड ६५ लाख लगानीमा टी–टेस्टिङसहितको अनुसन्धान केन्द्र निर्माण भएको हो । अनुसन्धान केन्द्रमा टी–टेस्टिङ सेन्टर, चिया संग्रहालय, चिया बिक्री कक्ष, गेस्टहाउस र सभाहल रहेका छन् । चिया पारखी स्वदेशी वा विदेशी पर्यटक, चिया चाख्नकै लागि आउने स्थानीय र अनुसन्धान गर्नका आउनेका लागि अनुसन्धान केन्द्र एउटा राम्रो ठाउँ तयार भएको सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले बताए । यससँगै प्रदेश सरकारले अन्य पर्यटकीय क्षेत्रको विकासमा पनि लगानी गरेको छ ।

होटलमा छैन ‘हस्पिटालिटी’
इलामको पर्यटन प्रवर्धनका लागि व्यवसायी स्वयं र प्रदेश तथा स्थानीय सरकारले पर्याप्त लगानी गरेता पनि पर्यटकहरूको आधारभूत आवश्यकताका आधारमा पूर्वाधार निर्माण र व्यावसायिक सेवा प्रवर्धन गर्ने पक्षको क्षमता विकास गर्नै सकिएको छैन । आधारभूत आवश्यकतामा पर्यटकहरूले प्रायः गुनासो गरिरहेका सुनिन्छ । गाडी चढ्दा गाडी स्टाफ र होटलमा खाँदा–बस्दा होटल स्टाफबाटै हस्पिटालिटी (सत्कार) नपाएको गुनासो पर्यटकहरू नै गरिरहेका हुन्छन् । सदरमुकामलगायत पर्यटकीय क्षेत्रका ठूला भनिएका केही होटलमा समेत पर्यटकमाथि अपमानजनक व्यवहार गरिएको गुनासो बारम्बार आउने गरेको छ ।

गुनासा पनि छन्
इलाम चारैतिर सुन्दर छ । पहिलोपटक घुम्न आएका पर्यटक त यहाँको सौन्दर्यमा रमाउने नै भए, पटक–पटक आउनेलाई पनि इलामको सौन्दर्यले धीत मार्दैन । तर, जब पर्यटक यहाँका सवारीसाधन, होटल र अन्य सेवा प्रदायकसँग ठोक्किन्छन्, सोचेजस्तो व्यवहार र सत्कार पाइरहेका हुँदैनन् । घुम्न आएका पर्यटक प्रायः इलामबाट फर्किंदा गुनासो गर्न थालेका छन् ।

जिल्लाका होटल, यातायात व्यवसायी आबद्ध संघ–संस्था र सरकारी–गैरसरकारी निकायले समेत पर्यटकप्रति सेवा प्रदायकले गर्नुपर्ने व्यवहार’bout तालिम, प्रशिक्षण दिएकै छन् तर तालिम लिने थोरैले मात्र व्यावहारिक रूपमा आफूले सिकेको ज्ञान र सीप कार्यान्वयन गर्ने गरेको त्यही क्षेत्रका अगुवासमेत स्विकार्छन् ।

होटल एसोसिएसन इलामका अध्यक्ष देवी पौडेल भन्छन्, ‘इलामजस्तो पर्यटकीय जिल्ला घुम्न आएका पर्यटकले सत्कार नपाउनु दुःखद कुरा हो ।’

पर्यटनमा कोशी प्रदेशको जोड
कोशी भ्रमण वर्ष २०८२ सुरु भइसकेको छ । २०८२ सुरु हुनु अगावै आर्थिक वर्ष २०८१–०८२ को मध्यावधिपछि कोशी प्रदेश सरकारले ‘कोशी प्रदेश विकासको आधार, सबल पर्यटकीय पूर्वाधार’ भन्ने नाराका साथ पर्यटकीय क्षेत्रहरूको विकासका लागि बजेट नै विनियोजन गरेर अघि बढेको छ । कोशी प्रदेशभित्र चियाबारी, फाल्गुनन्द, लाली गुराँस र मुन्धुम पदमार्ग निर्माणको काम अघि बढाएको छ । ४ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यले सुरु गरिएका ती योजनाको काम सुरु भएको छ ।

कोशी प्रदेशभित्रका प्राकृतिक, सांस्कृतिक, धार्मिक पर्यावरणीय साहसिक पर्यटकीय क्षेत्रहरूको विकासलाई प्राथमिकतामा राखेर काम गरिएको हो । मुख्य धार्मिक पर्यटकीय स्थलहरू पाथीभरा, बराह क्षेत्र, हलेशी, तुवाचुङ– जायाजुङ, सिलौटी लब्रेकुटी, खुवालुङजस्ता क्षेत्रहरूको विकासका लागि बहुवर्षे योजना अघि बढिसकेको आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना मगरले जनाएका छन् । उनका अनुसार ‘प्रदेशका धेरै पर्यटकीय स्थलको विकासका लागि प्रदेश सरकारले काम गरिरहेको भन्दै, २०८२ लाई कोशी पर्यटन वर्षका रूपमा मनाउन १० करोड रुपैयाँ विनियोजन भएको छ ।’

इलाममा कोशी प्रदेशको लगानी
इलाममा बर्सेनि पर्यटकको संख्या बढ्न थालेपछि तीनै तहका सरकारले पूर्वाधार निर्माणको क्षेत्रमा सक्रियता देखाएका छन् । पर्यटकीय क्षेत्रको विकासका लागि विशेषतः कोशी प्रदेश सरकारले सडक, खानेपानी, पदमार्ग व्यवस्थापन र गन्तव्य प्रचार–प्रसारका काममा सबैभन्दा बढी लगानी गर्दै आएको छ । जिल्लाको पर्यटकीय क्षेत्र सन्दकपुरस्थित जौबारी क्षेत्रमा पूर्वाधार निर्माणको काम सबैभन्दा बढी रहेको कोशी प्रदेश सभासद् तथा पूर्वपर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बुले बताइन् । कोशी प्रदेशले रोङ गाउँपालिका–५ मा २५ लाख रुपैयाँमा थालेको किरात सांस्कृतिक पार्क निर्माणमा पुनः ५० लाख थप गरी निर्माण कार्यलाई तीव्रता दिइएको छ ।

यस्तै, कन्याममा गत वर्ष ६० लाख रुपैयाँको लागतमा पदमार्गमा रेलिङ लगाउने काम भएकामा चालू आवमा २५ लाख रुपैयाँ थपेर काम हुँदै छ । हर्कटेदेखि गुगल प्वाइन्टसम्मको पदमार्ग निर्माण पनि २५ लाखकै लागतमा भइरहेको छ । सूर्योदय नगरपालिकाको जिमी खादमा जिमी राजारानीको ऐतिहासिक दरबार संरक्षणको काम भइरहेको छ । सतसर्ग पोखरी संरक्षणमा पनि प्रदेश सरकारले २५ लाख रुपैयाँ विनियोजन गरेको छ । माई–५ मा जस्मिनी धर्मअन्तर्गत कमलचरण शिवधामको संरक्षणको काम २५ लाख रुपैयाँसम्मको लागत अनुमानमा काम अघि बढेको छ ।

यस्तै, माईको शुक्रमा महागुरु फाल्गुनन्दको सालिक निर्माण भइरहेको छ । सूर्योदय नगरपालिका–२ को पशुपतिनाथ मन्दिर मर्मतको कामलाई २५ लाख रुपैयाँ विनियोजन भएको थियो । माईजोगमाई–५ को मलुपोखरी संरक्षणको काममा २५ लाख, माईजोगमाईको तारेभीरमा पर्यटन प्रवर्धनको काममा २५ लाख, सन्दकपुरमा २५ लाख रुपैयाँ लागतमा सामुदायिक भवन निर्माण, इलाम बजारको इलाम दरबारको संरक्षणको काममा २५ लाख, माईको तेह्रकुने पोखरी संरक्षणको काम २५ लाख रुपैयाँसँगै जिल्लाका अन्य पर्यटकीय क्षेत्रको विकासका लागि लगानी भएको छ ।

प्रदेश सरकारका साना, ठूला गरी इलाममा दर्जन बढी योजना सञ्चालनमा रहेका छन् । कतिपय योजना सञ्चालनमा रहे पनि अनुगमन र समन्वयको अभावमा राम्ररी काम हुन सकेको छैन । कोशी प्रदेश सरकारले कृषि, पर्यटन र जलविद्युत् क्षेत्रलाई कोशी प्रदेश विकासको मेरुदण्ड मानेर यसरी लगानी बढाएको हो ।

बंगालबाट आउने पर्यटकलाई आकर्षित गर्नुपर्ने
आन्तरिक पर्यटकसँगै इलामको पर्यटन विकासलाई अझ मजबुत पार्न नजिकमा रहेको पश्चिम बंगाल (भारत)बाट आउने पर्यटकलाई आकर्षित गर्नुपर्ने देखिन्छ । उनीहरू देवी देवता र धार्मिक स्थलप्रति अत्यधिक आस्था राख्ने, विश्वास गर्ने भएकाले त्यहाँबाट आउने पर्यटकहरूलाई यहाँका पाथीभरा, दन्तकालीलगायतका स्थलको महत्व बुझाउन सके थप पर्यटक तान्न सकिन्छ ।

पूर्वी नेपालको पर्यटकीय विकासलाई लक्ष्य गरी नेपाल पर्यटन बोर्डले विभिन्न कार्यक्रम गरिरहेको भए पनि अझ प्रभावकारी बनाउनुपर्ने देखिन्छ । यहाँको भौगोलिक बनोट, इलाममा उत्पादित चिया, अलैंचीलगायतका नगदे बाली, यहाँको जीवनशैली, जैविक विविधता र जातीय संस्कृति बंगालका पर्यटकहरूसम्म पु¥याउन सकेको खण्डमा पर्यटन व्यवसाय निकै फस्टाउने अवस्था देखिन्छ ।

पर्यटकको रोजाइमा होमस्टे
सुकिलो सडकमा हुइँकिँदै तारे होटलमा बसेर रमाउँदा बेग्लै मजा होला तर गाउँघरमा फन्को लगाउँदै गाउँले घरमा खाँदै बस्दै रमाउँदाको आनन्द र अनुभूति त्यसभन्दा मञ्जाले लिन सकिन्छ । फुर्सदिलो समय वा चाडबाडको मौसममा घुम्न निस्किनेहरूको रोजाइमा अचेल कि त लामो दूरीको ट्रेकिङ कि त होमस्टे पर्ने गर्छ । फरक गाउँको फरकफरक परिवेश, खानपान, जीवनशैली बुझ्ने मौका होमस्टेमा पाइन्छ ।

होमस्टेमा लोकल कुखुरा, खसी, बोकाको मासुदेखि सेलरोटी, स्थानीय कोदोको ढिँडो, आलु, मुला, गाँजर, मकै भटमास, केराउलगायतका स्थानीय उत्पादनबाट तयार परिएका खानाका विभिन्न परिकारूको स्वाद मज्जाले लिन पाइन्छ । होमस्टेका नाममा सुविधा सम्पन्न होटल निर्माण भइरहेका छन् तर ग्रामीण पर्यटनको अवधारणा अनुरूप होमस्टे पर्यटनप्रति आकर्षण बढेको छ । गाउँकै हावापानी, बाटोघाटो, खानपान र गाउँले परिवेशमा रमाउन मौलिक गाउँबस्तीमा पुग्नैपर्छ ।

गाउँको मौलिक परम्परा, रहनसहन र जीवनशैली बुझ्दै ग्रामीण पर्यटकीय स्थलहरूको भ्रमण गर्न विदेशी मात्र होइन, नेपालीहरूमा पनि आकर्षण बढेको हो । महँगा होटेलको तुलनामा सस्तोमा स्तरीय सेवा होमस्टेमा पाइन्छ । होमस्टेमा बस्ने पर्यटकहरूले एकै परिवारको सदस्यझैं बस्न पाउँछन् ।

होमस्टेमा विदेशी पर्यटकको आकर्षण
इलामको सन्दकपुर गाउँपालिका–३ माई पातलमा विभिन्न देशबाट नेपाल घुम्न आएका पर्यटक होमस्टेमा बस्ने गरेका छन् । इलाम घुम्न आएका विदेशी पर्यटक महिनौंसम्म पनि होमस्टेमा बस्ने गर्छन् । ग्रामीण पर्यटनको अवधारणाअनुरूप गाउँकै हावापानी, बाटोघाटो, खानपान र गाउँले परिवेशमा रमाउन आएका विदेशी पर्यटक धेरै समय बस्ने गरेका हुन् ।

इलामको माइपोखरी, पाटेनागी, फिक्कललगायतका होमस्टेमा पालैपालो २० भन्दा बढी देशका पर्यटक महिनौंसम्म बस्ने गरेको इलाम माई पातलका होमस्टे सञ्चालक टीका खतिवडा बताउँछन् । धेरै विदेशी नागरिक हिमालको पदयात्रामा जाने भए पनि अहिले इलामलाई गन्तव्य बनाउन थालेका छन् । पर्यटकलाई खान र बस्न सहज हुने भएकाले पनि घुम्न आउने गरेको होमस्टे सञ्चालकहरू बताउँछन् ।

उनीहरू धेरै होमस्टेमा गाईको थलोमा भकारो सोहोर्ने, घाँस काट्ने, घरको काममा सघाउने, खाना पकाउने, दूध डेरीमा पु¥याउने समेत गर्छन् । धेरैजसो पर्यटक साता दिनदेखि एक महिनासम्मको समय मिलाएर यहाँका होमस्टेमा बस्ने गरेका छन् ।

साभारःराजधानी दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *