केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएदेखि नै पक्ष र विपक्षमा विभाजित देखिएको नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप बढ्दै गएको देखिएको छ। ओली नेतृत्वको सरकारका गृहमन्त्रीसमेत रहेका पार्टी केन्द्रीय सदस्य रमेश लेखकका विषयमा पनि कांग्रेसभित्र मतभेद देखिएको हो।
कांग्रेसका नेताहरूले सरकारप्रति एकपछि अर्को प्रश्न गरिरहेका बेला प्रधानमन्त्री ओलीको कार्यशैलीले गठबन्धनभित्र अविश्वास बढ्दै गएको छ। सोही बेला गृहमन्त्री लेखकमाथि भिजिट भिसामा सेटिङ प्रकरणमा नाम जोडिएको छ। त्यसले गठबन्धनभित्र पनि थप आशंका जगाएको छ भने कांग्रेसकै नेताहरू पनि लेखकको राजीनामाको पक्षमा देखिएपछि पार्टीभित्रको आन्तरिक विवाद छताछुल्ल हुन पुगेको छ।
सभापति शेरबहादुर देउवासहित ओली नेतृत्वको वर्तमान सरकारको निरन्तरताको पक्षमा रहेका नेताहरू गृहमन्त्रीबाट लेखकले राजीनामा गर्नु नपर्ने पक्षमा उभिएका छन्। तर वर्तमान सरकारप्रति असन्तुष्टि जनाउँदै आएको संस्थापन इतर समूह भने लेखकमाथि प्रश्न उठिसकेको जनाउँदै राजीनामा दिनुपर्ने पक्षमा देखिएका छन्।
शनिवार विराटनगर पुगेका नेता डा. शेखर कोइरालाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने तर्क गरे । ‘नैतिकताको हिसाबले म क्लिन छु । मैले राजीनामा गरेँ, छानबिन समिति बनाउनुस् भने भइहाल्यो नि,’ कोइरालाले सञ्चारकर्मीसँग भने, ‘राजनीतिमा नैतिकता भन्ने पनि हुन्छ र त्यसले मोरल स्टाटस देखिन्छ ।’
त्यसको भोलिपल्ट विराटनगर पुगेका कांग्रेस पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले कर्मचारीले गरेको गलत क्रियाकलापलाई आधार बनाएर मन्त्रीको राजीनामा माग्ने कार्यले गलत नजिर बस्ने दाबी गरे । ‘विगतमा मन्त्रीहरूमाथि नै कुरो उठेकाले राजीनामा दिएका उदाहरण रहेको जनाउँदै सिटौलाले सञ्चारकर्मीसँग भने, ‘अहिले मन्त्रीमाथि कुरा उठेको होइन । अध्यागमन विभागको कर्मचारीमाथि आरोप लागेको छ। अख्तियारले छानबिन गरिरहेकाले मन्त्रीमाथि आरोप लगाउन केही समय पर्खनुपर्छ, मन्त्रीले राजीनामा दिनुपर्दैन ।’
शनिवार नै गृहमन्त्री लेखकले आफू त्यस्ता कार्यमा संलग्न नरहेको र कुनै कर्मचारीमाथि अनुसन्धान सुरु हुँदैमा मन्त्रीले राजीनामा गर्दै हिँड्ने कुराले समाधान नदिने तर्क गरेका थिए। आफूमाथि कुनै पनि अभियोग पुष्टि भए गृहमन्त्रीबाट मात्र नभएर राजनीतिबाट नै राजीनामा गरेर हिँड्ने जनाएका छन् ।
शेखर र सिटाैला दुई जना मात्र होइन, कांग्रेसका अन्य नेताहरू नै उक्त विषयमा पक्ष–विपक्षमा विभाजित छन्। सांसद राजेन्द्र बजगाईँसहित का नेताहरू लेखक मात्र होइन, आफूसँग कुरा नमिलेका अन्य मन्त्रीहरूलाई पनि यही मौकामा हटाउनुपर्ने पक्षमा देखिएका छन् ।
संस्थापन र इतर समूहका केही नेता भने लेखकसहितका नेताहरूको बचाउमा जुटेका छन्। पार्टीका नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको पक्ष–विपक्षमा उभिएका बेला सोमबार बिहान सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्।
बैठक पार्टीको क्रियाशील सदस्यता नवीकरण र वितरणका साथै नेपाल विद्यार्थी संघ, तरुण दलसहितका भ्रातृ संगठनको महाधिवेशनका विषयमा छलफल गर्न बोलाइएको जनाइएको छ । अनौपचारिक बैठकमा गृहमन्त्री लेखकका विषयमा उठेको प्रश्न र पार्टीभित्रबाट आएका दुुईथरी मतका विषयमा पनि छलफल हुने जनाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट भिजिट भिसामा सेटिङ भएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधवार छापा हानेको थियो।
अध्यागमनका सहसचिव तीर्थराज भट्टराईसहित महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएसँगै गृहमन्त्री लेखकमाथि पनि प्रश्न उठ्दै आएको छ।
२०८० साउन २५ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले कांग्रेसका सांसद सुनिल शर्माविरुद्ध राजस्व छली, गैर कानुनी सम्पत्ति आर्जनलगायत उजुरीका आधारमा पक्राउ गरेको थियो। शर्मालाई पक्राउ गरेको भन्दै तत्काल रिहा गर्न माग गर्ने कांग्रेस नेताहरूले नै पार्टीका अर्का नेता बालकृष्ण खाण पक्राउ पर्दा भने केन्द्रीय सदस्यबाट पनि निलम्बन गर्नुपर्ने प्रस्ताव बैठकमा गरेका थिए।
खाणलाई २०८० वैशाख २७ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले निवासबाटै पक्राउ गरेको थियो । शर्मा र खाण दुवै अहिले हिरासत मुक्त भइसकेका छन्। तर उनीहरूमाथि लागेको आरोप टुङ्गो भने लागेको छैन।
