अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा रहेका गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई बोलाएको बखत उपस्थित हुने गरी छुटेका छन् । अख्तियारले भट्टराईलाई गए राति कागज गराएर छोडेको हो ।
उनलाई आज अख्तियारमा उपस्थित हुन निर्देशन दिइएको छ । भिजिट भिसाको आवरणमा मानव तस्करसँग सेटिङ गरेर नेपालीलाई विभिन्न मुलुक पठाएको आरोपमा अनुसन्धानका लागि उनलाई अख्तियारले बुधबार दिउँसो नियन्त्रणमा लिएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत रहेका भट्टराई मंगलबार बेलुका आकस्मिक रुपमा गृह मन्त्रालयमा तानिएका थिए । बुधबार अख्तियारले भट्टराईलाई विमानस्थलस्थित कार्यालयबाटै नियन्त्रणमा लिएको थियो ।
अख्तियारले भट्टराईलाई पक्राउ गर्नुअघि विमानस्थल अध्यागमन कार्यालयबाट कम्प्युटरलगायत विद्युतीय डिभाइस र कागजातसमेत नियन्त्रणमा लिएको छ । यो प्रकरणमा अख्तियारले सीआईटी कलेजमा कार्यरत कविता पौडेल, भक्तपुरका खगेन्द्र सुवेदी र काठमाडौं हात्तीसारस्थित ट्राभल एन्जेसी ग्रिनलाइन होलिडेजका सञ्चालक बालकृष्ण खड्काबाट समेत मोबाइल, ल्यापटप तथा अन्य कागजात पनि नियन्त्रणमा लिएको छ । यसको अनुसन्धान जारी रहेको र पक्राउ परेकालाई बोलाएको बखत उपस्थित हुने गरी छाडिएको अख्तियार स्रोतले बतायो ।
उनलाई सरुवा गरेर गृहले पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालाई प्रमुख अध्यागमन अधिकृतका रुपमा पठाउने निर्णय गरेको थियो । स्रोतका अनुसार अख्तियारले केही साताअघिबाटै यस विषयमा अनुसन्धान गरिरहेकोमा विमानस्थल अध्यागमनमा छापा हान्ने सुइँको पाएपछि गृहले हतारमा भट्टराईलाई सरुवा गरेको हो ।
