सीमावर्ती क्षेत्रस्थित सर्लाहीको बलरा नगरपालिका–१०, सुदामा टोलमा शुक्रबार दुुई पक्षबिच झडप हुँदा १३ जना घाइते भएका छन् । स्थानीय सुवोध पासवान र भोला पासवान पक्षबिच पुरानो रिसिबीका कारण झडप तथा कुटपीट हुँदा १३ जना घाइते भएका हुन् । झडपमा सुवोध पासवान पक्षबाट ७० वर्षका सुवोधसहित १५ वर्षीय शिवसागर पासवान, ४७ वर्षीय दिनेश पासवान, ३० वर्षीय हरेन्द्र पासवान, ७५ वर्षीय लखचन पासवान र १८ वर्षीय अंगद पासवानसहित छ जना घाइते भएका प्रहरीले जनाएको छ ।
यसैगरी, घाइते छ जनाको प्रादेशिक अस्पताल मलङ्गवामा उपाचार चलिरहेको छ । त्यस्तै भोला पासवान पक्षबाट ७० वर्षीय सन्तलाल हजारी, सन्तलालका छोरा ३५ वर्षीय रुपेश हजारी, ५१ वर्षीय मुकेश हजारी, सन्तलालका भिनाजु भारतीय नागरिक ३५ वर्षीय वीरेन्द्र पासवान, २८ वर्षीया निक पासवान, २५ वर्षीया कामनी देवी र ३० वर्षीया पूजा देवी घाइते भएका छन् ।
भोला पासवान पक्षका सात जना घाइते भने उपचारका लागि प्रदेश राजधानी जनकपुरतर्फ गएका्े प्रहरीले बताएको छ । घाइते सबैको टाउको र खुुट्टामा चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार झडपको सम्बन्धमा अनुसन्धान भइरहेको छ ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय गडहीयाबाट पुुगेको प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिएको थियो । झडप भएको गाउँमा प्रहरी तैनाथछ ।