निरन्तरको वर्षाका कारण अछामको कमलबजार विमानस्थलको पहिलो उडान नै अवरुद्ध भएको छ । शुक्रबार यो विमानस्थलमा नियमित उडानको पहिलो जहाज अवतरण गर्ने तयारी गरिएको भए पनि वर्षाका कारण अवरुद्ध भएको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नियमित उडानको उद्घाटन गर्ने गरी सम्पूर्ण तयारी पूरा गरेर तारा एयरको जहाज अवतरणका लागि निश्चित गरिए पनि रातिदेखिको निरन्तरको झरीका कारण नियमित उडानको पहिलो उडान नै रोक्नु परेको कमलबजार नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले बताए ।
गत पुस १३ गते परीक्षण उडान सफल भएपश्चात् अछामको पूर्वी क्षेत्रमा रहेको कमलबजार विमानस्थललाई नियमित गराउने विषयमा यस क्षेत्रका सांसद, स्थानीय तहका प्रमुखहरू र अन्य नेताहरूले समेत पहल गरिरहेका थिए । लामो प्रयासपछि तारा एयरसँग उडानका विषयमा सहमति भएको थियो । जसअनुसार अछामको कमलबजारबाट नेपालगन्जको राझाँ विमानस्थलको भाडा ६ हजार पाँच सय र कमलबजारदेखि काठमाडौंको भाडा ११ हजारमा सहमति भएको नगर प्रमुख ढकालले बताए ।
उनका अनुसार कमलबजारदेखि नेपालगन्जसम्म तारा एयर तथा नेपालगन्जदेखि काठमाडौंसम्म यती एयरले सेवा दिने सहमति छ । जसअनुसार अछामदेखि काठमाडौं जाने यात्रुले ११ हजारमा एउटै टिकट काटे पुग्नेछ । उडान नियमित भएपछि हरेक हप्ताको आइतबार दिउँसो दुई बजे कमलबजार विमानस्थलबाट जहाज उडान हुनेछ । ०४९ सालमामा निर्माण गरिएको यस विमानस्थलमा दुईपटक परीक्षण सफल भइसक्दा पनि नियमित उडान गर्न सकिएको छैन ।
पुस १३ गते अन्तिमपटक परीक्षण गरिएको यो विमानस्थलको त्यसअघि ०६५ सालमा पनि परीक्षण उडान भएको थियो । ०५८ सालमा माओवादीले आक्रमण गरेर ध्वस्त पारेको यो विमानस्थल आर्थिक वर्ष ०८०/८१ को विनियोजित बजेटबाट ग्राभेल गरेपछि नियमित उडानको तयारी गरिएको हो । ०४८ सालमा विमानस्थल निर्माणका लागि चार करोड ६३ लाखको इस्टिमेट बने पनि त्यस वेला दुई करोड ५० लाख खर्च भएको थियो । त्यसयता विभिन्न चरणमा विमानस्थल निर्माण गरिएको थियो । अब यसलाई कालोपत्रे गरी अन्य संरचना निर्माण गर्नुपर्ने यस क्षेत्रका नागरिकको माग छ ।
कमलबजार विमानस्थलबाट नियमित उडान भए अछामसहित दैलेख, कालीकोट र बाजुराका स्थानीयलाई पनि सहज हुनेछ ।