माओवादी केन्द्रको ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ सोमबार झापादेखि सुरु भयो । तर, अभियानकै उद्घाटन समारोहमा शीर्ष नेतृत्वबीचको असमझदारी पुनः सतहमा देखिएको छ ।खासगरी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीचको ‘मिसअन्डस्ट्यान्डिङ’ सतहमा आउँदा कार्यक्रम नै प्रभावित बनेको हो ।
अभियान उद्घाटन सभामा वरिष्ठ उपाध्यक्ष श्रेष्ठ बोल्दै थिए । त्यही क्रममा उनले असन्तुष्टि व्यक्त गर्दै माइक नै छाडे । घटनाले अध्यक्ष दाहाललाई असहज बनाएको देखिन्थ्यो । तर, दाहालले आफ्नो सम्बोधनको क्रममा भने उक्त विषयलाई सामान्यीकरण गर्ने प्रयास गरेका थिए ।
झापाको कचनकवलस्थित बनियानी बजारमा आयोजित कार्यक्रममा पार्टी पदाधिकारीहरूले पालैपालो मन्तव्य राखे । अध्यक्ष दाहालले सबै पदाधिकारीलाई बोल्न आग्रह गर्दै पार्टीभित्र उठेका प्रश्नहरूको समाधान दिन खोजिएको बताए । तर, मन्तव्यका क्रममा कार्यक्रम सञ्चालक राजु आचार्य पोडियम अगाडि उभिएपछि वरिष्ठ उपाध्यक्ष श्रेष्ठ असन्तुष्ट बनेका थिए । श्रेष्ठले, ‘तपाईं मलाई मन्तव्य छोट्याउनुस् भन्नलाई अगाडि देखा पर्नुभएको ?,’ भन्दै माइक छाडेका थिए ।