बीपी राजमार्गको सुरु नै भएन पुनर्निर्माण

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

बाढी र पहिरोले ध्वस्त भएको बीपी राजमार्गको (बनेपा–सिन्धुली–बर्दिबास) खण्डको  पुनर्निर्माण अझै सुरु भएको छैन। असोज ११ र १२ गते रोशी खोला र सुनकोशी नदीमा आएको बाढी र पहिरोले ध्वस्त बनाएको पाँच महिना पुग्दा समेत राजमार्गको खुर्कोट–धुलिखेल खण्ड पुनर्निर्माण सुरु हुन नसकेको हो। राजमार्गको पुनर्निर्माणका लागि बजेटको सुनिश्चितता नहुँदा ढिलाइ भएको बताइएको छ।

सो सडक पुनर्निर्माणका लागि करिब १० अर्ब रुपैयाँ लागत लाग्ने प्राविधिक अध्ययनले देखाएको छ। बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुंगासम्म १२ किलोमिटर सडकखण्डमध्ये ८ किलोमिटर सडकमा पूर्णरूपमा क्षति पुगेको थियो। यस्तै सिन्धुलीको नेपालथोकदेखि आँपघारीसम्म सडक क्षति भएको छ।

बाढी र पहिरोले ध्वस्त राजमार्ग अस्थायी ट्र्याक र डाइभर्सन निर्माण गरेर कष्टकर यातायात सञ्चालन गरिएको छ। समयमा राजमार्ग पुनर्निर्माण सुरु नहुँदा र स्थायी ट्र्याक निर्माण नगर्ने हो भने आगामी बर्खाको समयमा राजमार्ग पूर्णरूपमा ठप्प हुने स्थानीयको चिन्ता छ।

सिन्धुलीका सांसद राजन दाहालले राजमार्गको खुर्कोट–नेपालथोक र नेपालथोक–भकुण्डेबेंसी खण्ड तत्काल पुनर्निर्माण थाल्न सरकारसँग माग गरेका छन्। ‘राजमार्ग ध्वस्त भएको पाँच महिना पुग्दासमेत सरकारले पुनर्निर्माणको काम थाल्न सकेको छैन। अहिले नै राजमार्गको पुनर्निर्माणको काम थालेर स्थायी ट्र्याक निर्माण नगर्ने हो भने आगामी वर्षामा राजमार्ग पूर्णरूपमा ठप्प हुने अवस्था आउँछ,’ उनले भने।

पूर्वी नेपाल तथा मध्य तराईबाट संघीय राजधानी काठमाडौं आवतजावत गर्ने सबैभन्दा छोटो दूरीको बीपी राजमार्गमा दैनिक १० हजार बढी साना ठूला सवारी सञ्चालन हुने गरेका छन्। आगामी बर्खामा राजमार्ग सञ्चालन गर्न तत्काल पुनर्निर्माण गर्नुपर्ने र त्यसो नभए स्थायी डाइभर्सन बनाउनुपर्ने सांसद दाहालको भनाइ छ। सत्तासीन कांग्रेसका प्रमुख सचेतक तथा सिन्धुली प्रतिनिधिसभा १ का सांसद श्यामकुमार घिमिरेले बीपी राजमार्ग तत्काल पुनर्निर्माण थाल्नुपर्ने बताए।

उनले बजेटको सुनिश्चित गर्दै राजमार्ग पुनर्निर्माण तत्काल थाल्न केही दिनअघि सिन्धुलीमाढीमा आयोजित एक कार्यक्रममा सहभागी गृहमन्त्री रमेश लेखकको समेत ध्यानाकर्षण गराएका थिए।

गत मंगलबार अर्थ मन्त्रालयले बीपी राजमार्ग पुनर्निर्माणका लागि ८ अर्ब ५० करोड रुपैयाँको स्रोत सहमति दिएको जनाइएको थियो। तर, राजमार्गको पुनर्निर्माणको प्रक्रिया अघि बढाउन ढिलाइ भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ। राजमार्गको पुनर्निर्माणमा सरकारले जापान सरकारसँग सहयोगका लागि आग्रह गरेको छ। राजमार्गको भत्किएको खण्ड पुनर्निर्माणका विषयमा जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले गत कात्तिक दोस्रो साता अध्ययन गरेको थियो। राजमार्ग पुनर्निर्माणमा जाइका सकारात्मक देखिए पनि कुनै निर्णय दिएको छैन। जापान सरकारको निर्णयपछि मात्र राजमार्गको स्थायी पुनर्निर्माणका लागि ठेक्का आह्वान हुने सडक विभाग स्रोतले बताएको छ।

हाल राजमार्गको रोशी खोलाको बगरै बगर अस्थायी ट्रयाक निर्माण गरेर यातायात सञ्चालन गरिएको छ। १ सय ६० किलोमिटर दूरी रहेको राजमार्गमा यात्रा गर्न यस अघि करिब चार घण्टा लाग्ने गरेकोमा अस्थायी ट्रयाकमा अहिले ८ घण्टाबढी समय लाग्ने गरेको छ। अस्थायी ट्रयाकमा घण्टौं जाम र धुलोको सास्ती व्यहोर्नु पर्ने यातायात व्यवसायी दीपेन्द्र कार्की बताउँछन्।

राजमार्गमा सुक्खा पहिरोको जोखिमका कारण साँझ ६ बजेदेखि १० घण्टा (रातको समय) यातायात सञ्चालमा रोक लगाउने गरिएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्ले बताउँछन्। ‘दिनमा दुःख सुख गरेर यातायातका साधन संचालनमा ल्याइएक पनि रातको समयमा हुने जोखिमलाई मध्यनजर गर्दै सवारी संचालनमा रोक लगाइएको छ,’ उनले भने।

०७२ सालको भूकम्पमा ५ बढी स्थानमा भासिएको सडक यस वर्ष बाढी र पहिरोले थप क्षति पुर्‍याएको थियो। तर, राजमार्गको पुनर्निर्माण कहिले हुने हो भन्ने अन्यौल कायमै छ।  जापान सरकारको अनुदान सहयोगमा ०५२/५३ सालबाट निर्माण थालिएको थियो। १ सय ६० किलोमिटर सडक ०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। जाइकाले उक्त राजमार्ग निर्माण गर्दा प्रतिकिमी ३५ करोड लागत भएको जनाए पनि यसपटक पुनर्निर्माणमा प्रतिकिलोमिटर १ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *