महोत्तरीमा रातु नदी सभ्यताको फेरि दोहन सुरु भएको छ । महोत्तरी र धनुषाको साँधमा पर्ने रातु नदीबाट मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन गर्न ठूल्ठूला ‘इक्विपमेन्ट’ नै प्रयोग गरिएको छ । जुन कानुनविपरीत रहेको छ । चालु आर्थिक वर्षका लागि बर्दिबास नगरपालिकाले खोला उत्खननका लागि ठेक्का लगाइएको छ । कडा अनुगमनको अभावमा ठेकेदारहरूले मापदण्डलाई उल्लंघन गर्दै आइरहेका छन् । यस वर्षका लागि माघ २५ गतेदेखि खोला खन्न सुरु गरिएको थियो । रातु नदीको सभ्यता १२ हजार वर्ष पुरानो हो ।
मापदण्डअनुसार खोलाबाट तीन फिट गहिरो गरेर मात्रै नदीजन्य पदार्थ उत्खनन गर्नुपर्ने छ । तर, आइतबार रातु खोलाको गरिएको अनुगमनका अनुसार ६ फिटसम्म खनेर नदीको दोहन भइरहेको देखिएको छ । ठेकेदारहरूले पुलनजिकैबाट पनि नदीजन्य पदार्थ उत्खनन गरिरहेका छन् । जबकि पुलबाट पाँच सय मिटर टाढाबाट मात्रै उत्खनन गर्न पाइने नियम छ ।
तर, रातु खोलाको पथलैया खण्डस्थित झोलुंगे पुलको २ सय मिटर नजिकैबाट नदीजन्य पदार्थ उत्खनन भइरहेको पाइएको छ । बर्दिबास नगरपालिकाका उपमेयर तथा अनुगमन समितिकी संयोजक तारादेवी महतोले नदी उत्खनन मापदण्डमै गराउने बताएकी छिन् । ‘अनुगमन गर्दा उत्खनन गर्दा ठेकेदारले कतै, कतै मिस्टेक गरेको देखिएको छ,’ उनले भनिन् ।
रातु नदी सभ्यताको संरक्षणको माग गर्दै गत वर्ष स्थानीयहरूले सर्वोच्च अदालतसम्म न्याय माग्दै मुद्दा हालिसकेको अवस्था छ । मुद्दा अहिले विचाराधीन अवस्था रहेको छ । स्थानीय सरकारले आफ्नो रवैया नसुधारे फेरि कानुनी उपचार खोज्न बाध्य हुने एमालेका नेता शंकर महतोले बताए । ‘चुरेबाट बग्ने रातु नदीको अन्धाधुन्ध दोहनले खेतीयोग्य जमिन मरुभूमि भइरहेको छ,’ उनले भने, ‘खानेपानी र सिँचाइको स्रोतहरू सुकेका छन् । यसले जीवनयापन गर्न कठिन बनेको छ ।’
वातावरण तथा नदी अधिकारका लागि काम गर्दै आएका वरिष्ठ अधिवक्ता पदमबहादुर श्रेष्ठले ठूला यन्त्र प्रयोग गरेर नदीजन्य पदार्थ उत्खनन गर्न रोक लगाइएको छ । तर, रातु खोलामा यी मापदण्डलाई उल्लंघन गरिएको छ । रातु खोलालाई चार प्याकेजमा विभाजित गरेर बर्दिबास नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ का लागि भ्याटबाहेक कुल ८ करोड ४० लाख ९३ हजार १ सय ४१ रुपैयाँमा ठेक्का लगायो । बर्दिबास नगरपालिकाका राजस्व शाखाका सजीव बरालका अनुसार कुल चारवटै प्याकेजबाट कुल २ लाख ९४ हजार ६ सय ८१ घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्ने गरी ठेक्का बन्दोबस्त गरिएको छ । उत्खननको म्याद जेठ मसान्तसम्म रहेको छ ।
पहिलो चरणमा अनुगमन गर्न आएका छौं । कुनै कुनै ठाउँमा अलि बढी खनेको गहिराइ बर्दिबास नगरपालिकाका उपमेयर तारादेवी महतोले पहिलो चरणमा ठेकेदारलाई सचेत गराएको बताइन् । उनले भनिन्, ‘आज सचेत गरेका छौं । मापदण्डअनुसार काम नभएर उत्खनन रोक्छौं । भएका कमी, कमजोरीलाई हामी सुधार गर्न तयार छौं ।’
यता बर्दिबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले मापदण्डअनुसार खोला उत्खनन गर्न ठेकेदारलाई निर्देशन दिएको बताएका छन् । ‘खोला उत्खननको अनुगमन गर्दा कहीँ कतै मापदण्डभन्दा बढी उत्खनन गरिएको छ । ठेकेदारहरूले आफूले गरेको गल्तीको महसुस पनि गरेका छन्,’ उनले भने, ‘पहिलोपटकमा ठेकेदारहरूलाई सर्त गराएका छौं । अब मापदण्डभन्दा बाहिर गएर उत्खनन गरिएको पाइएमा कारबाही प्रक्रियामा जानेछौं ।’
अहिलेसम्म मापदण्ड मिचिएको देखिएन ? भन्ने प्रश्नमा उनले थपे, ‘एक दुई ठाउँमा देखिएको छ । हामीले सजग गराइसकेका छौं । पुल नजिकैबाट खन्न पाइँदैन । हामी यसतर्फ सचेत गराएका छौं ।’ जिल्ला अनुगमन समितिका सदस्यसमेत रहेका महोत्तरीका प्रमुख जिल्ला अधिकार लालबाबु कवाडीले मापदण्डविपरीत भएका कामलाई तत्काल रोक्ने बताएका छन् ।