आफ्ना माग सम्बोधनका लागि सरकार गम्भीर नभएको भन्दै चिकित्सकहरु आन्दोलित बनेका छन् । आफूहरुले राखेको माग सम्बोधनका लागि सरकार गम्भीर नदेखिएकाले बाध्य भएर आन्दोलनमा उत्रनु परेको नेपाल चिकित्सक संघले जनाएको छ ।
फागुन ४ गते ४८ घण्टाको अल्टिमेटम दिँदै अघि सारेका मागमा सीमित बुँदामात्र सरकारले सम्बोधन गरेको उल्लेख गर्दै संघले माग सम्बोधन नभए मुलुकभरका आन्दोलन गर्ने संघले जनाएको छ । यसबाट पनि सरकार माग सम्बोधनका लागि गम्भीर नभए स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गर्नेसम्मका कार्यक्रम गर्न बाध्य हुने संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
संघका महासचिव डा.सन्जिव तिवारीले विज्ञप्ति जारी गर्दै फागुन ७ र ८ गते देशभरका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आआफ्नो स्वास्थ्य संस्था अगाडी कालोपट्टि बाँधेर एक घण्टा धर्ना दिने कार्यक्रम तय भएको बताएका छन् ।