वायु गुणस्तर ‘खतरनाक’

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

अचानक बढेको चिसोसँगै तुवाँलो बढ्दा काठमाडौँ उपत्यकाको एक क्षेत्रको वातावरण ‘खतरनाक’ रूपले प्रदूषित बनेको छ । मङ्गलबार शङ्खपार्क क्षेत्रमा अत्यन्त दूषित वातावरण रहेको रेकर्ड वायु गुणस्तर सूचकको स्टेसनले देखाएको छ । सूचकले ४५७ एक्युआई अर्थात् मानिसका लागि सास लिनै नहुने ‘खतरनाक’ गुणस्तरको वायु रहेको कलेजी रङको सूचक स्टेसनले रेकर्ड गरेको छ ।

सो क्षेत्रमा स्थानीय रूपमै धुलो उडिरहेकाले त्यस्तो देखिएको दाबी वातावरण विभागका वातावरण निरीक्षक गोविन्द लामिछानेले गरे  । केही दिनअघि ह्वात्तै बढेको तापक्रम घटेर चिसो हुँदा बढेको तुँवालोले वातावरण अति प्रदूषित गराएको वातावरण विभागले जनाएको छ ।

लामो समय वर्षा नभएकाले माथिल्लो वायुमण्डलमा धुलो र धुवाँको तह थुप्रिएको थियो । बढेको तातोले माथि उक्लँदै गरेको धुलो र धुवाँ अचानक घटेको चिसोका कारण तल्लो वायुमण्डलमा झर्दा तुवाँलोको रूप लिएकाले उपत्यकालगायत क्षेत्रमा वायु प्रदूषण उच्च बनेको लामिछाने औँल्याउछन् । उनले भने , “यो तुवाँलो तापक्रम बढेमा केही घट्थ्यो तर चिसो बढेकाले बढ्ने क्रम जारी रहन्छ ।” त्यसमाथि उपत्यकाका विभिन्न स्थानमा सडक निर्माण तथा अन्य भौतिक पूर्वाधार निर्माणको काम जारी छ । यसले निकालेको धुलो पनि तुवाँलोमा मिसिँदा वातावरण थप दूषित बन्न पुगेको उनले बताए  ।

वायुको गुणस्तर दर्साउने पिएम १० को मात्रा ह्वात्तै बढेर २३८.४ माइक्रोग्राम प्रतिघनमिटर पुगेको छ । यो भनेको वायुमा धुलोको कणको उच्चता हो । यो विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार सास लिन नहुने वायु हो । सामान्यतया ५० एक्युआईसम्मको वायु सास फेर्न मिल्ने मानिन्छ ।

त्यस्तै काठमाडौँबाट उपत्यका बाहिर जाने प्रमुख मार्गका रूपमा रहेको कलङ्की नागढुङ्गा सडक क्षेत्रमा पनि अत्यधिक प्रदूषण बढेको छ । गुर्जुधारा क्षेत्रमा निर्माणाधीन सुरुङमार्ग र सडकमार्गका कारण वायुमा अत्यधिक धुलो मिसिने गरेको छ, जुन मानव स्वास्थ्यका लागि हानिकारक छ । ती क्षेत्रका सडक छेउका घर तथा पसल धुलोले सेताम्य हुने गरेका छन् ।

सार्वजनिक तथा निजी सवारी साधनमा आवतजावत गर्ने आमनागरिकले महिनौँदेखि प्रदूषणमा यात्रा गरिरहेका छन् । बिहान बेलुका कहिलेकाहीँ सडकमा पानी हालिने गरिए पनि अधिकांश समय त्यस क्षेत्रको वातावरण धुलोमय हुने गरेको गुनासो स्थानीयले गरेका छन् ।

त्यस्तै मङ्गलबार मध्याह्न भैँसेपाटीमा १७७, खुमलटारमा १५२, रत्नपार्कमा १२४, भक्तपुरमा १४७ एक्युआई गुणस्तरको वायु रहेको छ, जुन मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । काठमाडौँबाहेक पोखरा, दाङ, धनकुटा र भरतपुरलगायतका स्थानको वायु प्रदूषित रहेको पाइएको छ । एक सयदेखि १५० एक्युआईको वायु बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीका लागि राम्रो मानिँदैन । त्योभन्दा माथि दुई सय एक्युआईको वायु आमनागरिकका लागि अस्वस्थकर मानिन्छ । दुई सय एकदेखि माथिको वायुको गुणस्तर मानव स्वास्थ्यका लागि घातक हुने भएकाले ‘खतरनाक’ मानिन्छ ।

वातावरण विभाग वायु प्रदूषणप्रति संवेदनशील रहेको विभागका निर्देशक शैलेशकुमार झाले भने  । उनले वायु प्रदूषण कम गर्ने विषयमा सरोकारवाला निकायसँग परामर्शसँगै विभागले आफ्नै पहलमा न्यूनीकरणको काम गरिरहेको बताउदै  सचेतनासँगै धुवाँ नियन्त्रणका लागि विभागले टोली परिचालन गरेरै सवारी परीक्षणका कार्यक्रम अगाडि सारेको जानकारी दिए  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *