मकवानपुरको पर्यटकीय क्षेत्र दामनका होटेल सुनसान बनेका छन् । कुनै समय आन्तरिक र बाह्य पर्यटकको बाक्लो उपस्थिति हुने दामन क्षेत्रका होटल अहिले सुनसान बनेको यहाँका होटेल व्यवसायीको गुनासो छ । तराई र काठमाडौँ जोड्ने मुलुकको सबैभन्दा जेठो राजमार्ग त्रिभुवन राजपथ हुँदै पुगिने पर्यटकीय क्षेत्र दामन अहिले सुनसान बनेको छ । पछिल्लो समय पर्यटकीय क्षेत्रको विस्तार र नयाँ गन्तव्य थपिनुका साथैँ तराईसँग काठमाडौँ जोड्ने सडक सञ्जालको नयाँ विकल्प र विस्तारसँगै यहाँको पर्यटनमा कमी आएको स्थानीयवासीको भनाइ छ ।
दामन क्षेत्रमा दुई दशकदेखि होटेल व्यवसाय गर्दै आएका राजेन्द्र भुजेलले हेटौँडा/काठमाडौँ तीन घण्टामा पुग्ने बाटो खुलेपछि यो सडकखण्डबाट आवतजावत गर्ने सवारीसाधन न्यून भएको बताP । होटेल व्यवसायी भुजेल भन्छन , “यो बाटो हुँदै हेटौँडाबाट काठमाडौँ जाँदा ६/७ घण्टा लाग्छ, हेटौँडा/कुलेखानी र कान्तिलोकपथ हुँदै काठमाडौँ जाँदा छोटो समयमै पुग्न सकिने भएकाले यो सडकखण्ड प्रयोग गर्नेको सङ्ख्या कमी हुँदै गएको छ । आफ्नै घरमा होटेल व्यवसाय सञ्चालन गरेका कारण मात्रै यो पेसामा टिकिरहेका छौँ, व्यापार नहुँदा होटेल व्यवसाय धराशायी अवस्थामा पुगेको छ ।”
विगत २२ वर्षदेखि दामनमा होटेल सञ्चालन गरिरहेकी होटेल शेर्पाकी सञ्चालक मञ्जु शेर्पाले पर्यटकको आगमन आधाभन्दा बढी घटेको जानकारी दिइन । जाडो मौसममा हिउँ परेको बेला वीरगन्ज, चितवन, हेटौँडाबाट आन्तरिक पर्यटक आउने गरे पनि यसपालि हिउँ नपरेका कारण पर्यटकको आगमन न्यून भएको रहेको उनले बताइन ।
विगत १४ वर्षदेखि होटेल व्यवसाय गर्दै आएका अधिकारी होटेल एन्ड लजका सञ्चालक सुरज अधिकारीले विगतको तुलनामा यस वर्ष धेरै कम व्यापार भएको बताए । चार दशकदेखि होटेल व्यवसाय गर्दै आएकी सुधेसा भुजेलले कुलेखानीको बाटो नखुल्दा व्यापार राम्रो भए पनि अहिले यो राजमार्ग हुँदै जानेको सङ्ख्या न्यून रहेकाले होटेल व्यवसाय निकै सङ्कटमा परेको बताइन । उनका अनुसार केही वर्ष पहिलेसम्म यहाँका होटेलमा नियमित खाना पाक्ने गरेको भए पनि हाल भने अर्डर अनुसार मात्रै खाना पकाउने गरिएको छ ।
मकवानपुरको थाहा नगरपालिकासँग २० वर्ष अवधिका लागि भाडामा लिएर दामन रिसोर्ट सञ्चालन गर्दै आएका गोविन्दप्रसाद घिमिरेले केही समय बन्द भएको रिसोर्ट पुनर्निर्माण गरेर सञ्चालन गरिरहेको तर पाहुना भने खासै नहुने बताए।
दामन भ्युटावरबाट विश्वको सर्वोच्च शिखर सगरमाथासहित २५ भन्दा बढी उच्च हिमशिखरको प्रत्यक्ष मनमोहक दृश्य देख्न सकिन्छ । आकर्षक पदमार्ग, शीतोष्ण हावापानी, विभिन्न धार्मिक स्थल, प्रशस्त जैविक विविधता, सम्पदा रहेकाले यहाँको भ्रमण गर्न घिमिरेले आग्रह गरे । पर्यटकीय स्थलका रूपमा रहेको दामन काठमाडौँ उपत्यकाबाट नजिकको दुरीमा रहेर पनि सुनसान अवस्थामा छ ।