ग्रहहरू काे लाबा लस्कर

अन्तराष्ट्रिय मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

सौर्यमण्डलमा रहेका आठ वटा ग्रहमध्ये छ वटा ग्रह पृथ्वीबाट एकसाथ देखिएका छन् । यति धेरै ग्रह पङ्क्तिबद्ध भएको पृथ्वीबाट सितिमिति देखिँदैन । सूर्यलाई परिक्रमा गर्ने क्रममा ती ग्रहहरू भेटिएका हुन् । सौर्यमण्डमा रहेका आठ वटै ग्रहले सूर्यलाई आफ्नै गतिमा परिक्रमा गर्ने गर्छन् । सूर्यबाट ती ग्रहहरूको दुरी फरक हुने भएका कारण परिक्रमा गर्ने समय पनि फरक फरक हुन्छन् तर यस पटक भने संयोगवश आठमध्ये छ वटा ग्रह आपसमा भेटिएका हुन् ।

बिपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक डा. सनतकुमार शर्माका अनुसार पङ्क्तिबद्ध भएर रहेका ग्रहहरूमा शुक्र, मङ्गल, वृहस्पति, शनि, अरुण र वरुण हुन् । उक्त पङ्क्तिमा बुध ग्रह पनि रहेको भए पनि सूर्यको अत्यधिक प्रकाशका कारण स्पष्ट देख्न भने सकिँदैन । शर्माका अनुसार शनि, शुक्र, वृहस्पति र मङ्गललाई नाङ्गो आँखाले स्पष्ट देख्न सकिने छ भने अरुण र वरुण मधुरो देखिएका छन् तर दुरबिनको सहायताले भने छ वटै ग्रहलाई स्पष्ट देख्न सकिन्छ ।

छ वटा ग्रह सौर्यमण्डलमा पङ्क्तिबद्ध भएर बसेको दृश्य परेड खेल्न तयारी अवस्थामा रहेका सुरक्षाकर्मी जस्तै देखिएको शर्माले बताए  । यो घटना विरलै हुने गरेको शर्मा बताउछन् । उत्तरी गोलार्धबाट प्रत्यक्ष रूपमा अवलोकन गर्न सकिने यस रोचक घटनालाई नेपालबाट पनि अवलोकन गर्न सकिने शर्माले जानकारी दिए  ।  उनले भने , “माघ दोस्रो हप्तादेखि चौथो हप्ताको समयमा हाम्रो आकाशमा शनि, शुक्र, वृहस्पति र मङ्गल ग्रहलाई लामबद्ध भएर एउटै पङ्क्तिमा आकाशमा नृत्य गरिरहेको प्रतित हुन्छ ।”

शर्माका अनुसार यस अवधिमा चन्द्रमा मध्यरातमा उदाउनुका साथै यो अर्धचन्द्राकार हुने भएका कारण सूर्य अस्ताउनेबित्तिकै सफा आकाशमा सहज रूपमा दक्षिण–पश्चिम दिशादेखि उत्तर–पूर्व दिशामा देख्न सकिन्छ । यी ग्रह पङ्क्तिबद्ध रहे पनि यिनीहरूको चित्र एकैसाथ लिन भने कठिन रहने छ । काठमाडौँबाट अवलोकन गर्दा प्रकाश प्रदूषण न्यून भएको स्थानबाट सूर्यास्तपश्चात् यी ग्रहलाई खाली आँखाले अवलोकन गर्न सकिने छ ।

निःशुल्क अवलोकन   

ग्रहहरूको लामलाई बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले निःशुल्क अवलोकन गराउने भएको छ । समितिका कार्यकारी निर्देशक शर्माका अनुसार सोमबार सांझ ६ बजेदेखि ८ बजेसम्म विज्ञान सङ्ग्रहालय कीर्तिपुरमा टेलिस्कोपको सहायताले यी ग्रहलाई सर्वसाधारण सबैलाई निःशुल्क अवलोकनको व्यबस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *