तेस्रो मुलुकबाट आयातित भटमास, सूर्यमुखी र पाम तेलको निर्यात बढ्दा चालु आर्थिक वर्षको समग्र निर्यात व्यापार ३२ प्रतिशतले वृद्धि भएको छ । ६ महिनामा ९८ अर्ब ७८ करोडको वस्तु निर्यात भएकामा तेलको हिस्सा २५.३२ प्रतिशत छ ।
भन्सार विभागका अनुसार २०८०/८१ को पहिलो ६ महिनामा ७४ अर्ब ९६ करोडको निर्यात भएको थियो । त्यति बेला ३ अर्ब ४५ करोडको तेल निर्यात भएको थियो । यो वर्ष भने ६ महिनामा २५ अर्ब २ करोडको खाने तेल (भटमास, सूर्यमुखी र पाम) निर्यात भएको छ ।
तेल भारत निर्यात गर्दा भन्सार छुट सुविधा छ । नेपाल–भारत वाणिज्य सन्धिअनुसार नेपालमा ३० प्रतिशत मूल्य अभिवृद्धिसहित उत्पादन गरिएको वस्तुले भारतीय बजारमा भन्साररहित प्रवेश पाउँछ । अन्य मुलुकबाट भित्रिने तेलको भन्सार दर भने भारतले गत भदौमा बढाएको छ । त्यही कारण तेल उद्योगीले निर्यातलाई प्राथमिकता दिएका छन् ।
भारतमा निर्यात गर्दा उद्योगीले अग्रिम भुक्तानी पनि पाउने गरेको नेपाल वनस्पति घिउतेल उद्योग संघका निवर्तमान अध्यक्ष सन्दीप अग्रवालले बताए । ‘भारत र नेपालबीच भन्सार दर फरक छ । निर्यात गर्दा उद्योगीले केही सहुलियत पाएका छन्,’ उनले भने, ‘भारतमा निर्यात गर्दा अग्रिम भुक्तानी हुन्छ । तर नेपालमा बिक्री गर्दा ९० देखि १ सय २० दिनसम्म उधारो हुन्छ । त्यही कारणले पनि निर्यातमै जोड हुन्छ ।’