कालीमाटीको तरकारी खानै नमिल्ने अवस्थाः सागदेखि सिमीसम्म विषादी तीन गुणा

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

काठमाडौंको कालिमाटी तरकारी बजारबाट बेचिने हरियो सागदेखि तरकारीसम्म विषादीका कारण उपभोग गर्न अयोग्य रहेको पाइएको छ ।

विषादी अवशेष द्रुत विश्लेषण कार्यक्रम अन्तर्गत दिनहुँ नमूना संकलन गरेर प्रयोगशालामा परीक्षण गर्दा विषादीको मात्रा अत्यधिक रहेको पाइएको हो ।गत माघ ३ गते कालिमाटी बजारमा दिनेश कुँवरको पसलबाट संकलित भाजी रायो साग प्रयोगशालामा परीक्षण गर्दा उपभोग योग्य नरहेको पाइएको थियो ।प्रयोगशाला इकाईले कुँवरको पसलबाट संकलित नमूना ‘रायो साग’को विषादी परीक्षण गर्दा अर्गानोफस्फेट नामक विषादीको रुकावट प्रतिशत ८६.४८ पाइएको थियो । अर्गानोफस्फेट ३५ प्रतिशतसम्म हुँदा मात्र उपभोग योग्य हुन्छ ।

केन्द्रीय प्रयोगशालाका बाली संरक्षण अधिकृत महेश तिमल्सिनाका अनुसार कुँवरको पसलबाट संकलन गरिएको रायो साग खान योग्य नरहेको पाइएपछि उनको पसलको ६ सय किलोग्राम रायोको साग जफत गरेर नष्ट गरिएको थियो ।

गत माघ २ गते कालिमाटीस्थित सुनिता श्रेष्ठको पसलबाट संकलित पालुंगो सागको अर्गानोफस्फेटको रुकावट प्रतिशत ८९ .०४४ भई उपभोग अयोग्य पाइएको थियो ।सोही दिन रिना श्रेष्ठको पसलबाट संकलित भाजी रायो सागको रुकावट प्रतिशत ६२.८७१ प्रतिशत, योगराज ढकालको पसलबाट संकलित पाकुचा सागको रुकावट प्रतिशत ६१.८५०, लक्ष्मी श्रेष्ठको पसलबाट संकलित रायो सागको रुकावट प्रतिशत ६६.५६५ प्रतिशत र निर्मला फुँयालको पसलबाट संकलित भाजी रायो सागको रुकावट प्रतिशत ७९.४६२ रहेको पाइएको थियो ।

ती व्यापारीहरूले भक्तपुर र मकवानपुरका कृषकबाट उत्पादित साग किनेर कालीमाटीमा बिक्री गर्नका लागि थोकमा किनेका थिए । प्रयोगशालामा ती व्यापारीले किनेका सागको नमूना परीक्षण गर्दा उपभोग अयोग्य पाइएको थियो ।

त्यसैगरी, पुस २६ गते कालिमाटीस्थित रामकैलाश चौधरीको पसलबाट संकलन गरिएको टाटे सिमीको नमूनाको परीक्षण गर्दा कार्वामेटको रुकावट प्रतिशत ५५.५११ र अर्गानोफस्फेटको रुकावट प्रतिशत ३०.५४४२ प्रतिशत पाइएको थियो । उक्त टाटे सिमी सर्लाहीका किसानले उत्पादन गरेर बिक्री गरेका थिए ।

त्यसैगरी, पुस २४ गते कालिमाटीका चारजना बिक्रेताको पसलबाट संकलित नमूना परीक्षण गर्दा पनि उपभोग अयोग्य पाइएको थियो ।

शिवलाल ढकालले भक्तपुरका किसानबाट किनेका पाकुचा सागमा अर्गानोफस्फेटको रुकावट प्रतिशत ५४.८६४ पाइएको थियो । दुर्गा लुबानीले काठमाडौंमै उत्पादित मार्फा साग किनेर बिक्री गर्न राखेका बेला नमूना संकलन गरी परीक्षण गर्दा अर्गानोफस्फेटको रुकावट प्रतिशत ८३.७७३ पाइएको थियो ।

कालिमाटीकै थोक बिक्रेता युवराज पराजुलीले काठमाडौंबाटै उत्पादित भाजी रायो साग किनेर बेच्नका लागि राख्दा अर्गानोफस्फेटको रुकावट प्रतिशत ९९.२३३ पाइएको थियो । त्यसैगरी, सुनिल होजाले भक्तपुरमा उत्पादित जिरी साग किनेर बिक्रीका लागि राखेको अवस्थामा नमूना संकलन गरी परीक्षण गर्दा अर्गानोफस्फेटको रुकावट प्रतिशत ८८ .८४० पाइएको थियो ।

यसरी दिनहुँ कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा व्यापारीले देशका विभिन्न भागका स्थानीय किसानबाट किनेका साग र तरकारीसम्ममा विषादीको मात्रा अत्यधिक भई  उपभोग अयोग्य रहेको पाइएको छ ।

गत पुस महिनामा मात्रै कालिमाटी बजारबाट उपभोग अयोग्य रहेका तरकारीदेखि सागसम्म कुल ४ सय ४४ केजी नष्ट गरिएको केन्द्रीय प्रयोगशालाका बाली संरक्षण अधिकृत महेश तिमल्सिनाले बताए । नष्ट गरिएका ४ सय ४४ किलोग्राम तरकारीमध्ये ६३ किलो रायोको साग थियो ।

उपभोक्ताहरू नजानिकन उपभोग अयोग्य विषादीसहितको साग सब्जी खान बाध्य छन् ।  काठमाडौंको कालिमाटीमा मात्र होइन, देशभरका विभिन्न थोक व्यापार केन्द्रमा केन्द्रीय प्रयोगशालाको विषादी अवशेष द्रुत इकाईमा गर्ने गरिएको परीक्षणमा विषादीको रुकावट प्रतिशत अत्यधिक रहेको भएपनि व्यापारीले उपभोक्तालाई बिक्री वितरण गर्दै आएको पाइएको छ ।

झापाको बिर्तामोड, सर्लाहीको लालबन्दी, कास्कीको पोखरा, रुपन्देहीको बुटवल, बाँकेको नेपालगञ्ज, कैलालीको अत्तरिया, धनुषाको ढल्केबर, सुनसरीको धरान, सिन्धुलीको सिन्धुलीमाढी, नवलपरासीको कावासोती र सुर्खेतको वीरेन्द्रनगरको थोक व्यापार केन्द्रमा दिनहुँ नमूना संकलन गरेर विषादी परीक्षण हुने गरेको छ ।

केन्द्रीय प्रयोगशालाका बाली संरक्षण अधिकृत अमृत तिमल्सिनाका अनुसार ती सबै ठाउँमा दिनहुँ परीक्षण गर्दा उपभोग गर्न अयोग्य रहेको पाउने गरिएको छ । स्थानीय किसानबाट व्यापारीहरूले किनेर उपभोक्तालाई बिक्री गर्न राखेका तरकारीदेखि फलफूलसम्म उपभोग अयोग्य रहेको विषादीको रुकावट प्रतिशत पाउने गरिएको उनले बताए ।

‘विषादीको रुकावट ३५ प्रतिशतसम्म हुँदा उपभोग योग्य नै हुन्छ । त्यसलाई हामी ग्रीन जोनमा नै राख्छौं । त्यस्तो तरकारी, साग वा फलफूल बिक्री गर्न हामीले अनुमति दिन्छौं,’ तिमल्सिनाले लोकान्तरसँग भने, ‘तर, ३५ देखि ४५ प्रतिशतसम्म आयो भने त्यसलाई येलो जोनमा राखेर क्वारेन्टाइन गर्छौं ।’

२ देखि ३ दिनसम्म क्वारेन्टाइनमा राख्दा यदि विषादीको रुकावट प्रतिशत ३५ प्रतिशतभन्दा तल झर्छ भने त्यसलाई पुनः उपभोग योग्य मानेर बिक्री गर्न दिने गरिएको छ । ३५ प्रतिशतभन्दा तल आएन भने त्यसलाई उपभोग अयोग्य मान्ने गरिएको उनले बताए ।

त्यसैगरी, विषादीको रुकावट प्रतिशत यदि ४५ प्रतिशतभन्दा माथि आयो भने त्यसलाई रेड जोनमा राखेर उपभोग अयोग्य घोषित गरिन्छ । त्यस्ता तरकारी, साग वा फलफूल जफत गरी नष्ट गर्ने गरिएको उनले बताए ।

सबै थोक बजारमा बिहान ५ बजे नै नमूना संकलन गर्ने गरिएको उनको कथन छ । ‘नमूना संकलन गरेर परीक्षणको रिजल्ट नआउँदासम्म ती सामग्री उपभोक्तालाई बिक्री नगर्न भनेर निर्देशन दिइएको हुन्छ,’ उनले थपे, ‘त्यसका लागि समितिलाई पनि अनुगमन गर्न भनिएको हुन्छ ।’

परीक्षणको रिजल्ट आएर ग्रीन जोनमा रहेको पाइए मात्र बिक्री गर्न दिने गरिएको उनले बताए । हरियो तरकारीदेखि साग होस् वा फलफूल सबैमा लाहा कीरा लाग्ने गरेकाले स्थानीय किसानले अत्यधिक मात्रामा विषादी प्रयोग गरिरहेका छन् ।

आफ्नो लागत असुलउपर गर्ने तथा मुनाफा कमाउने उद्देश्यले बालीनालीमा कीटनाशक विषादी प्रयोग गर्ने गरिएको कृषकहरू बताउँछन् । तर, विषादी छरिसकेपछि पर्खनुपर्ने समयसम्म नपर्खी बाली काटेर बजारमा बेच्न पठाउँदा उपभोक्ताहरू विषादीयुक्त  साग, तरकारीदेखि फलफूलसम्म सेवन गर्न बाध्य छन् ।

‘किसानले बालीनालीमा लागेको कीरा नियन्त्रण गर्न अर्गानोफस्फेट अन्तर्गत मालाथियन नामक विषादी प्रयोग गर्छन् । उक्त विषादी छर्केपछि १४ दिनसम्म पर्खनुपर्ने हुन्छ,’ तिमल्सिनाले  थपे, ‘तर, किसानहरू १४ दिनसम्म नपर्खेर विषादी छर्केको केहीदिनमै टिपेर बजारमा लग्दा विषादी बढी भएको तरकारी पाउने गरिएको हो ।’

साग त एक दिन बिराएर टिप्ने गरेकाले अहिले सागमा त्यस्ता विषादी बढी पाउने गरिएको उनले खुलाए । त्यसैगरी, कार्बामेटअन्तर्गत किसानले थायोडिकार्ब प्रयोग गर्छन् । बालीनालीमा लागेको कीरा मार्नका लागि उक्त विषादी छर्केपछि १५ दिनसम्म पर्खनुपर्ने समय हुन्छ, तर त्यति समयसम्म नकुरी बजारमा बिक्री गर्दा विषादीयुक्त तरकारी पाउने गरिएको उनले बताए ।

यसरी विषादीयुक्त तरकारी बेच्ने किसान होस् वा थोक व्यापारी, कसैलाई पनि कारबाही हुँदैन । विषादीयुक्त तरकारी सेवन गर्दा तत्काल कुनै रोग नदेखा परे पनि दीर्घकालमा क्यान्सरजस्ता घातक रोग लाग्ने सम्भावना हुन्छ । तर, पनि त्यस्ता विषादीयुक्त तरकारी, साग वा फल बेच्नेलाई कुनै कारबाही हुने गरेको छैन ।

कारबाही गर्ने कानून नै नभएकाले त्यस्ता तरकारी जफत गरी नष्ट मात्र गर्ने गरिएको तिमल्सिना बताउँछन् । ‘हामीले विषादी अवशेष द्रुत विश्लेषण कार्यक्रम सञ्चालन निर्देशिकाअनुसार नै नमूना संकलन गरेर प्रयोगशालामा परीक्षण गर्छौं,’ उनले थपे, ‘उक्त निर्देशिकामा नै जफत गरेर नष्ट मात्र गर्ने उल्लेख भएकाले नष्ट गर्ने गरिएको हो । कारबाही गर्न निर्देशिकामा नै कुनै प्रावधान छैन ।’

व्यापारीको समान जफत भएर नष्ट हुनु पनि एक किसिमको कारबाही नै भएको उनको कथन छ । अहिले दुई किसिमको रसायनको मात्र परीक्षण भएपनि अब केही दिनमै थप २ किसिमको रसायन परीक्षण हुने उनले बताए ।

‘अहिलेसम्म हामीले अर्गानोफस्फेट र कार्बामेटको मात्र परीक्षण गर्दै आएका छौं । तर, अब हामीले सिन्थिटेड पाइरीथ्रोइड र डीटीसी फंगीसाइड पनि परीक्षण गर्ने तयारी गरेका छौं,’ तिमिल्सिनाले लोकान्तरसँग भने ।ढुसीनाशक विषादी पनि परीक्षण गर्ने योजना बनाएर तयारी थालिएको उनले खुलाए ।

साभारःलाेकान्तर

Leave a Reply

Your email address will not be published. Required fields are marked *