बुटवलको सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएपछि रास्वपा सभापति रवि लामिछाने हिजाे साझ रुपन्देही आइपुगेका छन् ।
रास्वपा सहकोषाध्यक्ष दीपक बोहोराका अनुसार हिजाे अपरान्ह बुद्ध एअरको विमानबाट भैरहवा आएका लामिछाने आज अदालतमा उपस्थित हुने तय भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अन्य नेता एवं लामिछाने पक्षका कानुन व्यवसायी भने केही दिन अगाडि नै रुपन्देही आइपुगीसकेका छन् ।
गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा गत आइतबार मुद्दा दर्ता भएको थियो। यसअघि कास्की र काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका लामिछाने आज अदालतमा आफैं उपस्थित हुने तयारीमा रहेको नेता बोहोराले बताए ।
अदालतमा पेस गरिएको अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपियाँ सामूहिक बिगो माग दाबी गरिएको छ । त्यस्तै लामिछानेमाथि व्यक्तिगत दुई करोड पनि बिगो दाबी गरिएको छ । सरकारी वकिलको कार्यालयका अनुसार सहकारी ठगी प्रकरणमा १४ जनाविरुद्ध नयाँ र आठ जनाविरुद्ध पूरक अभियोजन गरिएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालयले सहकारी ठगीका विभिन्न तथ्य र प्रमाणसहित लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरेको जिल्ला न्यायाधीवक्ता प्रेमराज पौडेलले बताए ।
यसअघि गत वैशाख ३ मा सुप्रिमको बचत अपचलनमा २८ जनाविरुद्ध ८६ करोड १८ लाख २३ हजार ७५४ रुपियाँ बिगो कायम गरी सहकारी ठगीमा मात्र मुद्दा दायर गरिएको थियो। त्यतिबेला लामिछाने स्वयं गृहमन्त्री थिए । गृहमन्त्री भएकै कारण उनि विरुद्ध प्रहरीले अनुसन्धान अगाडि बढाएको थिएन।
जिल्ला अदालत रूपन्देहीका सूचना अधिकारी अनन्तराज मरासिनीले लामिछाने, जोशीसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा पूरक तथा जीबी राईसहित १७ जनालाई थप कसुर र बिगोसहितको मुद्दा दर्ता भएको जानकारी दिदै तर उनिहरु अदालतमा उपस्थित हुनेबारे केही जानकारी नभएको मरासिनीले बताए ।
सरकारी वकिल कार्यालयले सुप्रिम सहकारीका सञ्चालक रहेका दिनेश रोकालाई मात्र सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा लगाएको जिल्ला न्यायाधिवक्ता पौडेलले बताउदै “यो नयाँ मुद्दा हो” भने ।
सुप्रिम सहकारीका १० हजार ३९१ जना बचतकर्ताको एक अर्ब ३१ करोड अपचलन भएको अनुसन्धानमा देखिएको छ। लामिछानेको तर्फबाट कानुन व्यवसायीको संयोजन गर्न अधिवक्ता यज्ञमणि न्यौपाने भैरहवा आइगीसकेका छन् ।