‘बलिदान’को छायांकनको लागि कालीमाताको भव्य मूर्ति तयार

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

चलचित्र ‘बलिदान’को छायांकनका लागि तयार गरिएको कालीदेवीको मूर्ति सार्वजनिक भएको छ । निर्माणपक्षबाट उक्त मूर्तिका केही तस्वीर सार्वजनिक भएका हुन् । चलचित्रका निर्देशक सन्तोष सेनले नेपालभर खोजी गर्दा पनि उपयुक्त मूर्ति नभेटेपछि, निर्माण टोली भारतको कलकत्तामा गएर त्यहाँका कुशल कालिगडहरूसँग मिलेर यो मूर्ति तयार गरिएको जानकारी गराए  ।

‘चलचित्रका लागि हामीलाई एउटा अद्वितीय र विशाल कालीमाताको मूर्ति चाहिएको थियो । देशभर खोजी गर्दा पनि हामीले आफ्नो चाहना अनुसारको मूर्ति पाएनौं । अन्ततः, हामी भारतको कोलकत्ता पुग्यौं । त्यहाँका कुशल कालिगडसँग मिलेर ४२ फिट अग्लो कालीमाताको मूर्ति निर्माण गर्‍यौं,’ सेनले भने  ।

मूर्ति निर्माणको यो यात्रा चुनौतीपूर्ण रहे तापनि मोरङको हसिना सिमसारस्थित बूढासुब्बा मैदानलाई भने यसले नयाँ पहिचान दिएको छ । चलचित्रको छायांकन नसकिँदै ‘काली चौर’का रूपमा परिचित यो स्थान चर्चितस्थल बनेको छ । यस क्षेत्रमा निर्माण गरिएको मञ्च र २०० भन्दा बढी स्टलहरूले स्थानीयलाई रोजगारीका अवसर प्रदान गर्नुका साथै एउटा मिनी बजार सञ्चालनमा ल्याएको निर्देशक सेनले जानकारी दिए  ।

चलचित्रका निर्देशक सन्तोष सेनका अनुसार, ‘बलिदान’को छायांकन लगभग पूरा भइसकेको छ । छायांकन सकिएपछि टिजरसहित चलचित्रको रिलिज मिति औपचारिक रूपमा घोषणा गरिने छ । चलचित्रको एक्सन दृश्यहरूलाई थप रोमाञ्चक बनाउन दक्षिण भारतीय चर्चित एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा ३० जनाको टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गरिरहेको छ ।

‘बलिदान’ को कथा नेपालको सार्वभौम भूमिमा भइरहेको अन्याय र समाजका तथाकथित नाइकेहरूको विरुद्धको संघर्षमा आधारित छ । ‘आसुसेन फिल्मस् प्रालि’ को प्रस्तुति रहेको यस चलचित्रमा पवन ब्राडफोर्ड विष्ट निर्माता र प्रेम पुरी सहनिर्माताको भूमिकामा छन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *