राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौँ-तराई-मधेस द्रुतमार्गको अवलोकन गरेका छन् । नेपाली सेनाको हेलिकप्टरमार्फत द्रुतमार्गको अवलोकन भ्रमण गर्न उनि मकवानपुरको बकैयामा पुगेका थिए ।
उनले बकैया–११ लेनडाँडामा निर्माण भइरहेको द्रुतमार्गको सुरुङ अवलोकन गरी निर्माणबारे जानकारी लिएका थिए । नेपाली सेनाको प्रतिनिधिले अहिलेसम्म भएका प्रगति र निर्माणको अवस्थाबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।
यसैबीच, राष्ट्रपतिको सचिवालयका अनुसार, मुलुकका राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा प्राथमिकतामा रहेको उक्त आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ । निरीक्षणपछि राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको समयावधिभित्रै पूरा गर्न उच्च मनोबलका साथ काम गर्न सेनालाई निर्देशन दिए ।
काठमाडौं, ललितपुर, मकवानपुर हुँदै बाराको निजगढमा पुगेर महेन्द्र राजमार्गमा जोडिने द्रुतमार्ग निर्माणपछि मुलुकको विकास र समृद्धिमा ठूलो योगदान पुग्ने अपेक्षा राखिएको छ ।मकवानपुरमा अवलोकन गरेपछि हेलिकप्टरबाटै बारामा भइरहेको कार्यबारे जानकारी लिन उनि निजगढ गएकाे र अबलाेकन पछि काठमाडौँ फर्केकाे बताइएको छ ।