पेट्रोलियम अन्वेषण : ‘ड्रिलिङ गर्ने काम सकियो

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

दैलेखको भैरवी गाउँपालिका–१, जलजले क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ‘ड्रिलिङ’ (गहिरो खोतल्ने) गर्ने काम सकिएको छ । गत वैशाख २८ गतेबाट सुरु गरिएको ड्रिलिङको काम  सकिएको खानी तथा भूगर्भ विभागले जनाएको छ ।

खानी तथा भूगर्भ विभागका भूगर्भविद् प्रकाश लुइँटेलले चार हजार दुई मिटर गहिराइसम्म ड्रिलिङ भएसँगै यो काम सकिएको जानकारी दिए  । उनले वैशाख महिनादेखि सुरु गरिएको ड्रिलिङको कार्य सम्पन्न भएको बताउद्नै  “असोज मसान्तसम्म सम्पन्न गर्ने परियोजनाको लक्ष्य भएपछि कडा चट्टानका कारण पुस महिनासम्म लम्बिन पुग्यो ।” दुई हजार सात सय मिटर ड्रिलिङ भएपछि विज्ञले प्रत्येक दुई/दुई मिटर गहिराइबाट निस्किएका ढुङ्गा र माटो परीक्षण गरिरहेको  जानकारी दिए  ।

उनका अनुसार त्यसबाट प्राप्त भएको विवरणलाई सङ्कलन गरी सोर्स रक, रिजर्भ वायर रक र सिल रक गरी तीन वटा थप अध्ययन हुने छ । पेट्रोलियम पदार्थ (प्राकृतिक ग्यास) हुनका लागि तय गरिएका आवश्यक मापदण्ड अन्तर्गतका सङ्केत सफलतापूर्वक प्राप्त भइरहेका छन् ।

चिनियाँ टोलीले हरेक दुई मिटरबाट सङ्कलन गरेको नमुनाको विशिष्ट अध्ययन चीनमै हुनुपर्ने भएकाले अन्तिम नतिजा आउन केही समय लाग्ने  जनाइएको छ । अन्तिम नतिजा प्राप्त भएपछि त्यसको भण्डारण क्षमता पत्ता लागेको खण्डमा आर्थिक विश्लेषण गरेर उत्पादनका लागि प्रक्रिया अगाडि बढाइने छ ।  ड्रिलिङका लागि दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।

दैलेखको शिरस्थान, नाभिस्थान र पादुकास्थानमा तीन वर्षभित्र पेट्रोलियम पदार्थको अनुसन्धान सक्ने गरी चिनियाँ सरकारसँग सन् २०१९, फेब्रुअरी २८ मा सम्झौता भएको थियो । सुरुवातमा तीन वर्षभित्र तीन चरणमा काम सक्ने गरी सम्झौता भए पनि कोरोना महामारीका कारण सम्झौता अनुसार काम हुन सकेको थिएन ।

पहिलो चरणमा चिनियाँ प्राविधिकले दैलेखको स्थलगत अध्ययन गरेर पेट्रोलियम पदार्थ हुन सक्ने सम्भावित ठाउँ पत्ता लगाएका थिए । त्यसैका आधारमा ड्रिलिङका लागि रिङ हाउस निर्माण गरी ड्रिलिङको काम सुरु भएको थियो । ड्रिलिङ गरेपछि कति पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लगाउन सकिन्छ  खानी भेटिएपछि त्यसको आर्थिक विश्लेषण हुने र त्यसपछि मात्र उत्पादनका आवश्यक काम अगाडि बढ्ने स्पष्ट छ ।

चीन सरकारको दुई अर्ब ५० करोड रुपियाँ अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण भइरहेको हो । अन्वेषण सफल भए देशको आर्थिक अवस्था सुधार हुनुका साथै ठुलो सङ्ख्यामा रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन अन्तर्गत पहिलो चरणको काम चिनियाँ प्राविधिक टोलीले सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे गरी चार वटा सर्भेका काम तोकिएकै समयमा सम्पन्न गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *